पूर्वाधारमा फड्को
अन्य प्रदेशसँगको तुलनामा कर्णाली प्रदेश अझै पनि विकासमा पछि छ । यद्यपि विगतसँगको तुलनामा गर्ने हो भने गणतन्त्र स्थापनापछिको अवधिमा कर्णालीले पूर्वाधार विकासमा फड्को मारेको छ । अहिले प्रदेशका सबै जिल्लामा न्यूनतम सडक पूर्वाधार पुगिसकेको छ । २०६२/०६३ को जनआन्दोलनका बेलासम्म साविक कर्णालीका सबै जिल्लामा गाडी पनि पुगेको थिएन । २०६३ चैतपछि मात्रै कर्णाली राजमार्ग हुँदै जुम्लासम्म गाडी पुग्यो । यही जनआन्दोलनको बलमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो । संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत मुलुकमा सात वटा प्रदेश कायम गरिएका छन् । प्रदेश सरकार र स्थानीय सरकारको सक्रियतासँगै पूर्वाधार विकासमा सुधार हुँदै गएको छ ।
संघीयता कार्यान्वयनमा आइसकेपछि पूर्वाधार विकास तीन तहकै सरकारको पहिलो प्राथमिकतामा परेको छ । १० वर्षअघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर आँसु–पसिना चुहाउँदै नुन–चामलको जोहो गर्ने कर्णालीका ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले यातायातको साधनमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर घरदैलोमै पाउन थालेका छन् । तिनै तहका सरकारको पहलकदमीका कारण गाउँ गाउँमा सडक पुग्दा कर्णालीवासीको जीवनस्तरमा सुधार आएको छ । सरकारले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार अहिलेसम्ममा कर्णाली प्रदेशमा नौ हजार ६८६.६२ किलोमिटर सडक बनेको छ । जुन नेपालको कुल सडकको १२.४ प्रतिशत हो । कर्णालीका सडकमा ३० हजार तीन सय ६७ सवारीसाधन गुड्न थालेका छन् । कर्णालीमा संघीयतापछि मात्र सडकमा राम्रो प्रगति भएको हो । प्रदेश सरकार गठन भएपछि दुई सय किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म गरेर दुई सय किलोमिटर सडक कालोपत्रे गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारले ३३ किलोमिटर सडक कालोपत्रे गरेको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा १५.९ किलोमिटर सडक कालोपत्रे भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी २०७९/०८० मा ३०.३ किलोमिटर, २०८०/०८१ मा सबैभन्दा बढी ९४.८ किलोमिटर सडक कालोपत्रे भएको मरहट्टाले बताए । चालु आर्थिक वर्षको हालसम्म २६.३६ किलोमिटर सडक कालोपत्रे भएको छ । यि सडक प्रदेश सरकारले मात्र निर्माण गरेको हो । संघीय तथा स्थानीय सरकारले समेत धेरै सडक निर्माण गरेका छन् । पछिल्लो सात वर्षको अवधिमा प्रदेश सरकारले ६ सय ५६ किलोमिटर सडक खण्डमा ग्राभेल गरेको छ । यसले के देखाउँछ भने पछिल्ला ५÷७ वर्षमा कर्णालीले पूर्वाधार विकासमा सुधार गरेको छ । विशेष गरेर सडक पूर्वाधारमा फड्को मारेको छ ।
प्रकाशित मितिः १८ जेष्ठ २०८२, आईतवार ०५:०३
सम्पादकीय ।