विपद् व्यवस्थापन कोषका लागि सात करोड

सुर्खेत: कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पाँच वटा निर्णय गरेको छ । मंगववार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।

बैठकले प्रदेश विपद् व्यवस्थापन कोषको लागि सात करोड ९२ लाख ४० हजार बजेट उपलब्ध गराउने निर्णय गरेको छ । बुधवार बिहान पत्रकार सम्मेलन गर्दै शाहले सरकारले मनसुन तथा आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि तयार गरिएका कार्यविधिअनुसार कर्णाली प्रदेश सरकारको ३० प्रतिशत लागत साझेदारीको रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । यसका लागि आवश्यक पर्ने सात करोड ९२ लाख ४० हजार रूपैयाँ आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयहरूको विपद् व्यवस्थापन कोषमा विनियोजन गरिनेछ ।

कर्णालीका ६ वटा जिल्लाले रकम माग गरेका थिए । यिनै जिल्लालाई यो रकम पठाइनेछ । कालीकोट, जुम्ला, रूकुमपश्चिम, सल्यान, जाजरकोट र मुगु जिल्ला प्रशासन कार्यालयको विपद् व्यवस्थापन कोषमा रकम जानेछ ।

यस्तै बैठकले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाको अभिलेख र व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रशासन तथा विधेयक समितिमा पठाउँने निर्णय गरेको छ । त्यसैगरी आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ लाई प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बैठकले उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रमको प्रदेशस्तरीय कार्यक्रम व्यवस्थापन कार्यालय सुर्खेत र कर्णाली करिडोरअन्तर्गत जुम्ला र भेरी करिडोर अन्तर्गत जाजरकोट जिल्लामा करिडोर कार्यालयको स्थापना र कार्यालयहरूको आर्थिक वर्ष २०८१÷०८२ को लागि तयार गरिएको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत प्रदान गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यस्तै बैठकले कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जन सहितको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृती प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता शाहले बताए ।

प्रकाशित मितिः   १५ जेष्ठ २०८२, बिहीबार १७:३२