गाउँमा छैनन् पुरुषः महिलाको काँधमा जिम्मेवारी

सुर्खेत: आइतवार वीरेन्द्रनगर–१४ की २३ वर्षीया निर्मला उत्तैमगरलाई सुत्केरी व्यथाले च्याप्यो । उनलाई स्टे«चरमा बोकेरै करिब १२ किलोमिटरको दुरीमा रहेको स्वास्थ्य चौकीमा पु¥याउनुपर्ने भयो । बोक्नलाई मानिसहरूको खोजी भयो । तर गाउँमा पुरुषहरू नै थिएनन्, अनि महिलाहरू आफै अघि सरे । गर्भवती निर्मलासहितको स्टे«चर काँधमा बोकेर महिलाहरूले गढी स्वास्थ्य चौकीमा पुर्‍याए ।

विगतमा बिरामी होस् या अन्य केही बोक्नुपरेमा त्यो पुरुषहरूको जिम्मेवारी हुन्थ्यो । महिलाहरू अघि सर्दैनथे । तर हिजोआज गाउँमा पुरुषहरू भेट्नै मुश्किल पर्छ, त्यसैले पनि यस्ता काममा महिलाहरू नै अघि सर्ने गरेका छन् । अहिले गाउँ–बस्तीका सबैजसो कामको जिम्मेवारी महिलाहरूको काँधमा छ ।

युवा गाउँमा छैनन् । भएका पुरुष पनि बुढापाका मात्रै छन् । पुरुष युवाहरू पढाइ र रोजगारीका लागि कि शहरतिर छन् कि विदेशतिर हिँडेपछि गाउँमा आइपर्ने सबै जिम्मेवारी महिलाको काँधमा आएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१४ चन्दने गाउँमा पनि हिजोआज पुरुषहरू भेट्न मुश्किल पर्छ । धेरैजसो रोजगारीका लागि भारत लगाएका देशमा गएका छन् । भएका पनि ज्याला मजदुरीको काममा जान्छन् । कर्णाली प्रदेशको राजधानीमै रहेको वडा पुरुषविहीनजस्तै बन्न पुगेको छ । गाउँमा पुरुषको नाममा बालक र वृद्ध मात्र देखिन्छन् । केही वर्षअघि निकै भीडभाड र चहलपहल हुने गाउँ युवा बाहिरिएसँगै सुनसान हुन थालेको स्थानीय गंगा बुढाले बताइन् । उनका अनुसार गाउँमा पुरुष नभएपछि कामकाजका लागि महिला खटिने गरेका छन् ।

स्थानीय रेखा बोहोराका अनुसार चन्दने गाउँमा बुढाबुढी, महिला र बालबालिका मात्र छन् । सबै काम महिलाको काँधमा छ । युवाको अनुहार हेर्न पाउनु मुश्किल बनेको छ । उनी भन्छिन्, ‘कुनै कामकाज प¥यो भने कसलाई बोलाउने, गाउँमा केटाहरू छैनन् सबै विदेश हिँडेका छन् ।’ घरैपिच्छेका पुरुषहरू विदेश छन् । पुरुष नभएपछि गाउँमा खेत जोत्न र श्रमदानमा समेत समस्या भएको उनले बताइन् । उनले सार्वजनिक काममा महिला अघि सर्ने गरेको बताइन् । उनका अनुसार बाटोघाटो, वन, भवनलगायतको काममा महिला नै जाने गर्छन् । ‘गाउँमा महिला मात्रै छौँ । पुरुष सबै विदेशतिर छन् । गाउँमा आएको जिम्मेवारी जसोतसो पूरा गरेका छौँ,’ रेखाले भनिन् ।

पछिल्लो समय चन्दने गाउँ पातलिँदै गएको छ । सेवा सुविधा लगाएका कारण सबै नागरिक वीरेन्द्रनगर केन्द्रित हुनु, केही रोजगारीका लागि विदेशिनु लगायतका कारण गाउँ रित्तिदै जान थालेको वडा नं. १४ का वडाअध्यक्ष देवबहादुर रोकायले बताए । भौगोलिक रूपमा पनि यो वडा विकट छ । एक गाउँबाट अर्को गाउँमा पुग्न घण्टौ समय लाग्छ ।

कर्णाली प्रदेशमा रोजगारीका पर्याप्त अवसर छैनन् । आर्थिक रूपमा विपन्न कर्णाली औद्योगिक विकासमा पनि सबैभन्दा पछाडि छ । जसका कारण यहाँका अधिकांश नागरिक रोजगारीका लागि कालापहाड (भारत) सँग निर्भर रहेको पाइएको छ । रोजगारीमूलक औद्योगिक प्रतिष्ठानको अभाव, मौसमी कृषि पेसामा आधारित आर्थिक अवस्था, अति विकट भू–धरातल र विपन्नताका कारण कर्णालीको ठूलो श्रमशक्ति रोजगारीका लागि भारतीय बजार (कालापहाड) जाने गरेको पाइएको हो । नेपालीका लागि भारतको रोजगारी अमर्यादित, अव्यवस्थित र अस्थायी प्रकृतिको रहेको बताइन्छ । तर कर्णालीका नागरिक भने रोजगारीका लागि भारतमै निर्भर रहँदै आएका छन् । कर्णालीबाट रोजगारीका लागि तेस्रो मुलुकसम्म पहुँच कम छ । अन्य प्रदेशको तुलनामा विपन्न कर्णाली प्रदेशबाट श्रम स्वीकृत लिनेको संख्या ज्यादै न्यून रहेको छ । यस प्रदेशबाट भारत बाहेकको वैदेशिक रोजगारीमा उल्लेखनीय पहुँच छैन ।

कर्णाली प्रदेशबाट अक्सर विदेशमै बस्नेहरूको जनसंख्या ठूलो देखिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीका ९४ हजार तीन सय २० जना अक्सर विदेशमा बसोबास गर्ने गरेको पाइएको हो । जसमा ७७ हजार दुई सय ७८ जना पुरुष छन् भने १७ हजार ४२ जना महिला छन् । परदेशतिरै बसोबास गर्ने जनसंख्या पनि पछिल्लो दशकमा वृद्धि भएको छ । २०६८ मा ६७ हजार पाँच सय ८२ जना परिवारभन्दा बाहिर बसोबास गरेको तथ्यांक थियो भने दश वर्षमा उक्त संख्या २६ हजार सात सय ३८ ले बढेको छ ।

कर्णाली प्रदेशकै राजधानी समेत रहेको वीरेन्द्रनगरकै वडा पुरुषविहीन बन्न थालेका छन् । पछिल्लो समय विकास गाउँमा पुग्दा मानिस सहर केन्द्रित बनेका हुन् ।

प्रकाशित मितिः   १५ जेष्ठ २०८२, बिहीबार ०९:१९