जोखिममा ज्यान
कर्णालीमा दिनहुँ जसो लडेर घाइते तथा मृत्यु भएका खबर आइरहेका हुन्छन् । प्रदेशको अधिकांश भू–भाग पहाडी क्षेत्र छ । यहाँका नागरिकको प्रमुख पेसा कृषि हो । कृषिसँगै जोडिन्छ पशुपालन पनि । घाँसपात, स्याउला, सोतरको लागि ज्यानै जोखिममा राखेर रूख–भीर गर्नुपर्ने यहाँका नागरिकको दैनिकी जस्तै बनेको छ । तर, यो दैनिकी सहज भने छैन । एकाबिहानै भिरपाखा पुगेर पशुका लागि घाँसपात जोहो गर्नुपर्छ । घाँसपात, स्याउला, सोतरको लागि ज्यानै जोखिममा राखेर रूख–भीर गर्नुपर्ने कर्णालीका महिलाहरूको गुनासो छ । पहाडी भू–भागमा बारीमा घाँस रोप्ने चलन छैन । पर्याप्त जग्गा नहुनु, रोपेको घाँस आवश्यकता अनुसार परिपुर्ति नहुनु जस्ता कारणले गर्दा पशुपालनका लागि जंगलकै भरपर्नुपर्ने अवस्था छ ।
घाँसदाउरा गर्ने क्रममा, बाटोमा हिँड्दाहिँड्दै चिप्लिएर, ढुङ्गा खसेर, खर काट्ने क्रममा तथा रूख र भीरबाट लडेर कर्णाली प्रदेशमा बर्सेनि दर्जनौँ व्यक्तिले अकालमै ज्यान गुमाउने गरेका छन् । प्रहरीमा पनि यो तथ्यांक डरलाग्दो देखिएको छ । चालु आर्थिक वर्षको हालसम्म भीर र रूखबाट लडेर ४३ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सबैभन्दा बढी दैलेखमा भीर र रूखबाट लडेर दश जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा भीर र रूखबाट लडेर प्रदेशभर ६९ जनाले ज्यान गुमाएका थिए । बर्सेनि भीर र रुखबाट लडेर ज्यान गुमाउने नागरिकको संख्या बढ्दो छ । आर्थिक वर्ष २०७१/०७२ मा भिरबाट लडेर कर्णालीमा ३७ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७२/०७३ मा ४८ जनाले ज्यान गुमाए भने आर्थिक वर्ष २०७३/०७४ मा ४६ जना, आर्थिक वर्ष २०७४/०७५ मा ३२ जनाको मृत्यु भएको तथ्यांक छ । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ३४ जना, आर्थिक वर्ष २०७६÷०७७ मा ३९ जना, आर्थिक वर्ष २०७७/०७८ मा ४५ जना, आर्थिक वर्ष २०७८/०७९ मा ४४ जना र आर्थिक वर्ष २०७९/०८० मा ४८ जनाको लडेरै ज्यान गएको थियो । यो संख्या अकालमा ज्यान गुमाउनेहरूको हो । यस्ता घटनाको प्रहरीमा कम मात्रै रिपोर्ट आउने गरेको छ ।
लडेर मृत्यु भएपछि शवपरीक्षण गर्नुपर्ने, भवितव्य ज्यानसम्बन्धी मुद्दा दर्ता हुने, सनाखत मुचुल्का बनाउनुपर्ने झन्झटका कारण धेरैले प्रहरीलाई जानकारी नै नदिएर अन्तिम संस्कार गर्ने गरेको समेत प्रदेश प्रहरीले जनाएको छ । कर्णालीका सवै स्थानीय तहमा वर्षमा एक–दुई जनादेखि एक दर्जनभन्दा बढीको संख्यामा लडेरै मानिसहरूले ज्यान गुमाउँदै आएको देखिन्छ । रोगभन्दा पनि रूख, बाटोघाटो र भीरपाखाले मानिसको ज्यान लैजाने गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।
प्रकाशित मितिः १२ जेष्ठ २०८२, सोमबार ०५:०३
सम्पादकीय ।