धावनमार्गमै पानी निस्किएपछि उडान अवरुद्ध

सुर्खेत: सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछि मंगलवारदेखि उडान अवरुद्ध भएको छ । विमानस्थल प्रमुख हिराजन काफ्लेलेका अनुसार धावनमार्गको उत्तरतर्फ एकाएक खाल्डो परेको छ । उक्त खाल्डो पुर्ने काम भइरहेकोबेला सोही दिन पुनः नजिकै जमिनमुनिबाट पानी निस्किन थालेको उनले जानकारी दिए ।

‘पानी निस्किएसँगै विमानस्थल बन्द गरिएको छ । शनिवारसम्म सबै काम सक्नेगरी काम भइरहेको छ,’ काफ्लेले भने, ‘त्यसपछि मात्रै हवाई सेवा पुनः सञ्चालन हुन्छ ।’ अहिले पानी देखिएको स्थानलाई पुर्ने काम भएपनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘के कारण आयो, त्यो त भौगर्भिक अध्ययनले देखाउला,’ उनले भने, ‘भासिएको छ, माथितिर डाँडाकाँडा र वरपर खोला पनि छन् । तल सतहमा पानी रहेछ, खोतल्दा त्यो देखियो ।’

विमानस्थल बन्द हुँदा हाल हवाई यात्राका लागि नेपालगञ्ज पुग्नुपर्ने सिर्जना भएको छ । अहिले भासिएको क्षेत्रमा धावनमार्ग विस्तार गर्ने तयारी पनि छ ।

प्रकाशित मितिः   ९ जेष्ठ २०८२, शुक्रबार १७:०७