काँक्रेविहारमा अपाङ्गमैत्री पैदलमार्ग

सुर्खेत: कर्णाली प्रदेश सरकारले अपाङ्गमैत्री पूर्वाधार निर्माणमा ध्यान दिएको छ । पूर्वाधार निर्माण गर्दा अपाङ्गमैत्री नभएको भन्दै सरकारको आलोचना हुने गरेको थियो । हरेक पूर्वाधार निर्माण गर्दा सरकारले ध्यान नदिएको गुनासो हुने गरेको थियो भने अपाङ्गता भएका नागरिकले सास्ती खेप्दै आएका थिए । अहिले भने प्रदेश सरकारले अपाङ्गमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन थालेको छ ।

कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल काँक्रेविहारमा अपाङ्गता भएका व्यक्तिले समेत सहज अवलोकन गर्नेगरी पूर्वाधार निर्माण गर्न लागिएको हो । अपाङ्गता भएका व्यक्तिका लागि सहज रूपमा आवतजावत गर्नका लागि चौतारासहितको पैदलमार्ग निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । आइतवार बिहान प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त पैदल मार्गको अनुगमन समेत गरेका छन् । उनले तोकिएकै समयमा काम सम्पन्न गर्न र गुणस्तरमा ध्यान दिन निर्देशन दिएका छन् । मुख्यमन्त्री कँडेलले भने, ‘काँक्रेविहारसम्म पुग्ने सहज बाटो नहुँदा अपाङ्गता भएका व्यक्ति वञ्चित हुनु परेको थियो, अब अपाङ्गमैत्री पैदलमार्ग बनेपछि उहाँहरूले पनि अवलोकन गर्न पाउनुहुनेछ ।’

अहिले सिढी उक्लन नसक्दा अपाङ्गता भएका व्यक्तिहरू टाढैबाट हेरेर फर्कने गरेका छन् । पैदल मार्ग निर्माणसँगै अपाङ्गता भएका व्यक्तिलाई समेत सहज हुनेछ । अहिले पैदलमार्ग निर्माणको काम धमाधम भइरहेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । चालु आर्थिक वर्षमा ठेक्का सम्झौता गरेर चौतारासहितको पैदलमार्ग निर्माणको काम थालिएको कार्यालयका इन्जिनियर रविन महतले जानकारी दिए । उनका अनुसार २०८१ चैत १२ गते डिभिजन वन कार्यालय सुर्खेतले श्री कृष्ण निर्माण सेवा सुर्खेतसँग ठेक्का सम्झौता गरेको हो । २०८२ असारमसान्तसम्म निर्माणको काम सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । अहिलेसम्म ४० प्रतिशत काम सकिएको छ । दुई वटा चौतारा र पाँच सय मिटर पैदलमार्ग निर्माणका लागि ४० लाखमा ठेक्का सम्झौता गरिएको इन्जिनियर महतले बताए । अहिले अन्तिम चरणको काम भइरहेको भन्दै उनले तोकिएकै समयमा काम सम्पन्न हुने जानकारी दिए ।

 

पर्खाल निर्माण कार्य धमाधम

काँक्रेविहारमा पर्खाल निर्माणको काम पनि धमाधम भइरहेको छ । अहिलेसम्म पर्खाल निर्माणको ३० प्रतिशत काम सकिएको छ । यस्तै वित्तीय प्रगति २० प्रतिशत हासिल भएको छ ।

प्रदेश सरकारले काँक्रेविहार कम्पाउन्डिङ (पर्खाल) आयोजनालाई प्राथमिकतामा राखेको छ । प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य स्थलका रूपमा रहेको काँक्रेविहारको पर्खाल निर्माणलाई पनि प्राथमिकताकासाथ अघि बढाइएको जनाइएको छ । चालु आर्थिक वर्षमा उक्त आयोजनाको निरन्तरताको लागि पाँच करोड बजेट विनियोजन गरिएको छ । अहिले पर्खाल निर्माणको काम धमाधम भइरहेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । २०८२ असारसम्म पर्खाल निर्माणको सम्झौता अवधि रहेको छ । अहिले पुन म्याद थपका लागि निर्माण कम्पनीले निवेदन पेस गरेको कार्यालयका इन्जिनियर महतले बताए । आर्थिक वर्ष २०८०/०८१ देखि २०८१/०८२ सम्म एक वर्षका लागि म्याद थपिएको गरिएको हो । उक्त मितिमा काम सम्पन्न नहुने भएपछि निर्माण कम्पनीले पुनः म्याद थपका लागि निवेदन पेस गरेको हो ।

२०७८ असोज १९ गते उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गर्दै पर्खाल निर्माणको काम अघि नबढाउन भनेको थियो । डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको साँध सीमामा पर्खाल नलगाई पाँच÷सात मिटर जग्गा बाहिर छोडेर पर्खाल निर्माण गरेको आरोप लगाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट निवेदन दायर गरेका थिए । त्यसयता पर्खाल निर्माणको काम अघि बढ्न सकेको थिएन । वन क्षेत्रलाई समेटेर काम अघि बढाउन उच्च अदालत सुर्खेतले आदेश दिएसँगै गतवर्षबाट काम अघि बढाइएको हो । २०७९ मंसिर २८ गते संरक्षित क्षेत्रको सबै वनक्षेत्र समेटेर पर्खाल निर्माण गर्न उच्च अदालत सुर्खेतले फैसला गरेको थियो । २०७९ कार्तिक १२ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । तर बीचमै अदालतले काम रोकेपछि निर्माणको काम अघि बढेको थिएन । हालसम्म निर्माण कम्पनीले दुई करोड मात्र भुक्तानी लिएको छ ।

२०७८ वैशाख १२ गते ऐतिहासिक काँक्रेविहार संरक्षित वन क्षेत्रको सुरक्षार्थ कम्पाउण्ड वाल (पर्खाल) निर्माण कार्य अघि बढाइएको थियो । डिभिजन वन कार्यालय सुर्खेतले महाविर, खिन्ती, हिराचन्द केएसके जोइन एडभेन्जर सुर्खेतसँग कामको ठेक्का सम्झौता गरेको थियो । ११ करोड ८५ लाख ४२ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको हो । काँक्रेविहार संरक्षित वन क्षेत्रको सात किलोमिटर क्षेत्रमा ‘कम्पाउण्ड वाल’ निर्माण गरिनेछ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार पर्खाल निर्माणका लागि २१ करोड लागत अनुमान छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरिएको छ । काँक्रेविहार क्षेत्रमा पयर्टकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइन देखिने गरी पर्खाल निर्माण गर्न लागिएको जनाइएको छ । काँक्रेविहार संरक्षण क्षेत्रको पश्चिम भागमा प्रमुख गेट बन्नेछ भने पूर्वमा आपतकालीन द्वार (इमर्जेन्सी एक्जिट) बन्ने भएको छ । एक हजार पाँच सय ६६ वटा पिल्लर निर्माण हुनेछन् । पर्खाल निर्माणसँगै पैदलमार्ग पनि निर्माण गर्न लागिएको छ ।

प्रकाशित मितिः   ५ जेष्ठ २०८२, सोमबार १०:५५