इतिहास संरक्षण
दलित समुदायको ऐतिहासिक संस्कृति तथा पहिचान जोगाउन संग्रहालय निर्माण कार्य धमाधम भइरहेको छ । पहिचान संरक्षणसँगै ग्रामीण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरकारले दलित संग्रहालय निर्माण थालेको हो । पुर्वी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. ८ डुमकोटमा संग्रहालयको भवन निर्माणको काम धमाधम भइरहेको छ । दलित समुदायको कला, संस्कृति, परम्परागत रीतिरिवाज झल्काउने उद्देश्यले संग्रहालय निर्माणको काम थालिएको भेरीगंगा नगरपालिकाले जनाएको छ । हाल संग्रहालयको भवन निर्माणको ८० प्रतिशत काम सकिएको छ । अब २० प्रतिशत काम मात्र बाँकी छ ।
उक्त संग्रहालयबाट दलित समुदायको बारेमा अध्ययन, अनुसन्धान गर्न र उनीहरूको सीपबाट थप उद्यम सिर्जना गर्न सकिने लक्ष्य राखिएको छ । संग्रहालयलाई औद्योगिक क्षेत्रको रूपमा पनि विकास गर्न सकिने भेरीगंगा नगरपालिकाले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा संग्रहालय निर्माणको काम थालिएको हो । नगरपालिकाको ३५ प्रतिशत लगानी रहनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तीन करोड २० लाख लागतमा संग्रहालयको भवन निर्माण भइरहेको छ । २०७८ असोज १० गते बाट संग्रहालयको भवन निर्माणको काम थालिएको हो । २०७८ असोज १० गतेदेखि २०८० असार ३० गतेसम्म भवन निर्माण सम्पन्न गर्नेगरी नेपाल मेगा, लामा प्रगति, सुवास जेभी वीरेन्द्रनगरसँग ठेक्का सम्झौता गरिएको थियो । जेभीसँग नगरपालिकाले तीन करोड २० लाख ७३ हजारमा भवन निर्माणको सम्झौता गरेको हो । दुई वर्षमा भवन निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको भएपनि कोरोना महामारीलगायतका कारण ढिलाइ भएको जनाइएको छ । तर अहिले भवन निर्माणको काम ८० प्रतिशत सकिएको छ । म्याद थप गरेर भवन निर्माणको काम भइरहेको नगरपालिकाका इन्जिनियर खत्रीले बताए । यसअघि २०८१ असारसम्म म्याद थप गरिएको थियो । अहिले पुनः एक वर्षका लागि म्याद थपिएको जनाइएको छ । अहिलेसम्म निर्माण कम्पनीले करिब एक करोड ७० लाखको काम गरिसकेको छ । हालसम्म एक करोड ३० लाख मात्र भुक्तानी पाएको छ । संग्रहालयको, डेकुरेशन, सजावट लगाएतका धेरै काम बाँकी नै छन् ।
कुनैबेला पूर्वी सुर्खेतका केही भाग दलित समुदायको राज्य थियो । साविकको मैनतडा र मेहेकुना क्षेत्रमा दलित समुदायका राजाले राज्य गर्ने गरेको इतिहास रहेको जानकारहरू बताउँछन् । सातौँ शताब्दी अघिको दलित राज्यमा अहिले संग्रहालय बनाउन थालिएको हो । त्यतिबेलाका डुमकोटी राजाले राज्य गरेको डुमकोट डाँडा र डुमकोटी राजाको स्थानलाई अहिले दलितहरूको अध्ययन, अनुसन्धान र पर्यटकीय केन्द्र बनाइँदैछ । संग्रहालयसँगै डुमकोट राज्यका बारेमा खोज, अनुसन्धान र परम्परागत दलित समुदायको सीप, भेषभूषाको संरक्षण हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः १६ आश्विन २०८१, बुधबार ०५:०३
सम्पादकीय ।