डिजिटल योजना
कर्णाली प्रदेश सरकारले डिजिटल कर्णालीको गुरुयोजना निर्माण गर्न लागेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर गुरुयोजना निर्माण गर्न लागेको हो । डिजिटल कर्णाली प्रदेशको अवधारणा अनुरूप डिजिटल कर्णाली गुरुयोजना तयार गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । कर्णालीमा कसरी डिजिटल रूपान्तरण गर्न सकिन्छ भन्ने उद्देश्यले प्रदेश सरकारले ठोस कामको सुरुवात गर्ने भएको छ । यसका लागि सरकारको तर्फबाट कर्णालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्नेगरी गुरुयोजना तयार हुँदैछ । गुरुयोजना निर्माणको खाका तयार गर्ने काम सुरु गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । नीति तथा कार्यक्रममा राखिएको विषयलाई मन्त्रालयले कार्यान्वयन गर्न लागेको हो । यसअघि कर्णालीलाई डिजिटल बनाउने गरी मन्त्रालयले गरेका कार्यक्रमको निचोडका आधारमा समेत योजना तयार पार्न लागिएको हो ।
२०८० फागुनमा डिजिटल कर्णाली कन्क्लेभको आयोजना गरिएको थियो । कर्णालीलाई डिजिटल प्रदेश बनाउने उद्देश्यसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको आयोजनामा कन्क्लेभको आयोजना गरिएको हो । डिजिटल साक्षरता विकासका लागि कन्क्लेभको आयोजना गरिएको मन्त्रालयले जनाएको छ । दुई दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्यापको खाकासमेत तयार पारेको थियो । विषयगत प्राथमिकता निर्धारण गर्न र आवश्यक नीतिगत निर्णय गर्नका लागि सरकारले उक्त कार्यक्रमको आयोजना गरेको थियो । कर्णाली प्रदेशको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, डिजिटल पहुँचलगायतका विषयहरू समेटेर गुरुयोजना निर्माण गरिनेछ । डिजिटल अर्थव्यवस्था र लगानीको वातावरणका क्षेत्रसमेत गुरुयोजनाले समेटने छ । मन्त्रालयले डिजिटल कर्णालीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही कार्यक्रमहरूले निर्धारण गरेका क्षेत्रहरूलाई समेत समेटेर गुरुयोजना निर्माण गरिने भएको हो । त्यसैका लागि अहिले पनि विभिन्न विषय क्षेत्रका विज्ञसँग छलफल थालिएको छ ।
‘आइसिटी फाउण्डेशन’ नामक संस्थासँगको सहकार्यमा ‘डिजिटल कर्णाली’ बारे २०८० फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ‘कन्क्लेभ कर्णाली’ आयोजना गरी ‘डिजिटल कर्णाली’ बनाउन १४ बुँदे प्रतिवद्धता गरिएको छ । राष्ट्रियस्तरको ‘डिजिटल कर्णाली कन्क्लेभ’ कार्यक्रममार्फत् सरकारले काम अघि बढाउने जनाएको छ । सोही अनुसार गुरुयोजना निर्माण गर्न लागिएको हो । सरकारको योजनाअन्तर्गत ‘वेब पोर्टल’ तयार गरी सरकारका तथ्यांक डिजिटलरूपमा व्यवस्थापन गर्ने तयारी थालिएको छ । सूचना प्रविधिसम्बन्धी उपलब्ध सेवा सुविधाको अधिकतम् उपयोग गरी सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउन एकीकृत सूचना प्रणाली निर्माण गर्ने प्रतिवद्धतामा उल्लेख छ । यसले डिजिटल प्रदेश बनाउने योजनालाई सघाउ पु¥याउनेछ ।
प्रकाशित मितिः ८ आश्विन २०८१, मंगलवार १६:१२
सम्पादकीय ।