पेट्रोलियम अन्वेषण: दुई हजार मिटर ‘ड्रिलिङ’, एक वर्ष म्याद थप

सुर्खेत: दैलेखमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ को काम धमाधम भइरहेको छ । वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको हो । मेसिनले जमिन मुनिसम्म खनेर पेट्रोलियम पदार्थ भए/नभएको पुष्टि गर्न लागिएको छ । अहिले अन्तिम चरणको ‘ड्रिलिङ’ को काम भइरहेको हो ।
हालसम्म पेट्रोलियम अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम दुई हजार २० मिटर गहिराइसम्म पुगेको छ । अझै ‘ड्रिलिङ’ को काम सक्न साढे दुई महिना लाग्ने जनाइएको छ । ‘ड्रिलिङ’को काम सक्न अझै साढे दुई महिना लाग्ने आयोजनाका सिनियर डिभिजनल जियोलोजिष्ट सुरेश श्रेष्ठले बताए । उनका अनुसार अहिले ‘ड्रिलिङ’ को काम धमाधम भइरहेको छ । आयोजनामा चार हजार पाँच सय मिटरसम्म गहिराइ ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि उक्त स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन् सम्भावनाबारे अध्ययन गरिने श्रेष्ठले जानकारी दिए ।
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ । सोही लक्ष्य अनुरूप काम भइरहेको छ । चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएको हो । दैलेखको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा अन्वेषण साइट छनोट भएको छ ।
अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुँगो लाग्ने छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ । अबको साढे दुई महिनामा ड्रिलिङ सक्नेगरी काम भइरहेको जनाइएको छ ।
चिनियाँ प्राविधिकको टोलीले २०७६ मा स्थलगत अध्ययन गरेको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिसकेको छ । अहिले ड्रिलिङमार्फत् पेट्रोलियम पदार्थको अन्वेषणको काम भइरहेको छ ।
२०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जियोलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । यस समझदारी कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त कार्ययोजना बनाएका थिए । पहिलो चरण (दश महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो । दोस्रो चरणमा ड्रिल गर्ने र तेस्रो चरणमा सर्भे प्रतिवेदन बुझाउने सहमति भएको थियो । कोभिड महामारीका कारण सम्झौता अनुसार काम अगाडि बढ्न सकेन । पछिल्लो समय कामले गति लिएको हो । अहिले वर्षायामका केही दिन काम रोकिए पनि धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।
एक वर्ष म्याद
अन्तिम चरणको अन्वेषणको कामका लागि एक वर्ष म्याद थप गरिएको छ । नेपाल सरकार खानी तथा भूगर्व विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबिच अन्तिम चरणको काम सम्पन्न गर्नका लागि एक वर्ष म्याद थप गरिएको हो । २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गतको अन्तिम चरणको कामको सम्झौता २०८० फागुनमा सकिएको थियो । २०८१ फागुनसम्म आयोजनाको म्याद थपिएको जियोलोजिष्ट सुरेश श्रेष्ठले बताए । उनले भने, ‘काम रोकिएको छैन, अबको साढे दुई महिनामा ‘ड्रिलिङ’ को काम सक्ने लक्ष्य छ, धेरै काम बाँकी नै छ, एक वर्ष म्याद थप गरिएको हो ।’
प्रकाशित मितिः २२ भाद्र २०८१, शनिबार ०५:०५
साझा बिसौनी ।