फेरि ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम ल्याउँदै

सुर्खेत: कर्णाली प्रदेश सरकारले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रमलाई पुनः सुरु गर्ने भएको छ । मुख्यमन्त्री र जनताबीच छलफलको वातावरण बनाउन ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गर्न लागिएको हो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेर कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ । प्रदेश सरकारको कार्यसम्पादनको सम्बन्धमा मुख्यमन्त्रीको प्रत्यक्ष सहभागितामा अन्तरक्रिया तथा छलफल गर्ने उद्देश्य नयाँ कार्यक्रमको रूपमा अघि सारिएको छ । जनताको माग र समस्याको बारेमा सम्बोधन गरी प्रदेश सरकारलाई जनउत्तरदायी बनाउन ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेटमा ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम समेटिएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा ३० करोड बजेट विनियोजन गरिएको छ । कार्यक्रम कार्यान्वयनको अवधारणा पत्र निर्माणको चरणमा रहेको मन्त्रालयका योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका शाखा अधिकृत युवराज न्यौपानले बताए । उनका अनुसार कार्यक्रम कार्यान्वयनको मोडालिटी तयार भइरहेको छ । कार्यविधि निर्माण गरेर कार्यक्रम कार्यान्वयन हुनेछ । कर्णालीका दशवटै जिल्लामा मुख्यमन्त्रीको प्रत्यक्ष सहभागितामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिनेछ । जनता स्वयंको प्रत्यक्ष जिज्ञासा, गुनासा, सुझाव र प्रश्न लिएर प्रदेशको विकास,सुशासनमा गति दिने मुख्य उद्देश्य राखेर ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गर्न लागिएको शाखा अधिकृत पौडेलले बताए । उनले भने, ‘नयाँ कार्यक्रमको रूपमा ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रमलाई ल्याइएको छ, अहिले कार्यक्रम कार्यान्वयनका लागि अवधारणा पत्र निर्माणको काम भइरहेको छ, अब कार्यक्रम कार्यान्वयनमा जान्छ ।’

 

के हुन्छ ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रम ?

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा यसअघिदेखि नै सञ्चालित ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ । पछिल्लो समय उक्त कार्यक्रम प्रभावकारी बन्न थालेपछि थप व्यस्थित बनाउन लागिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उक्त कार्यक्रमलाई प्रभावकारी बनाइने जनाइएको छ ।

कार्यक्रमले सेवा प्रवाह र विकास निर्माण सम्बन्धमा जनताको जिज्ञासा, गुनासो र सुझाव प्रत्यक्ष सम्बोधन गर्ने गरेको छ । सरकारले उक्त कार्यक्रमलाई थप व्यवस्थीत र प्रभावकारी बनाउने भएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रम सञ्चालनमा ल्याए पनि प्रभावकारी हुन नसकेकाले त्यसैलाई परिष्कृत गरेर नयाँ कार्यक्रम सञ्चालनमा ल्याइएको हो । अहिले उक्त कार्यक्रमलाई पनि व्यवस्थित बनाउन लागिएको छ ।

कार्यक्रमको प्रभाव दूरदराजसम्म पुगेको, सीमान्तकृत, दलित, आदिवासी जनजाति र अल्पसंख्यक समुदायको समस्यालाई सम्बोधन गर्न सफल भएको, गुनासो आउने दरमा वृद्धि भएकाले थप व्यवस्थित बनाउन लागिएको मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारुले बताए । उनका अनुसार सरकारी सेवासुविधा नपाएको, काम गरेको रकम भुक्तानी नभएको, बजार क्षेत्रका ढल तथा सरसफाइ, मिटरब्याजबाट पीडितको समस्या, विद्यालय, स्वास्थ्य संस्थाको स्तरोन्नतिका सम्बन्धमा बढीजसो गुनासो आउने गरेका छन् । गत आर्थिक वर्षमा तीन सय ८३ वटा गुनासा दर्ता भएका थिए । जसमा एक सय ५६ वटा गुनासा समाधान भएका छन् । दुई सय २६ वटा गुनासा समाधानको प्रक्रियामा रहेको जनाइएको छ । चालु आर्थिक वर्षको हालसम्म दश वटा गुनासा दर्ता भएका छन् । स्थानीय पालिका, प्रदेश सरकारलगायत सार्वजनिक चासो र सरोकारका विषयमा गुनासा आउने गरेको गुनासो व्यवस्थापक मिना ज्ञवालीले बताइन् ।

 

प्रभावकारी भएको थिएन कार्यक्रम

पहिलो कार्यकालमा समेत ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रमको सुरुवात गरिएको भएपनि प्रभावकारी भएको थिएन् । तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा कार्यक्रमको थालनी भएको थियो । तर कार्यक्रम भने प्रभावकारी बन्न सकेन । अहिले सोही कार्यक्रमलाई नयाँ स्वरूपमा सञ्चालन गर्न लागिएको छ । त्यतिबेला मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशमा कार्यरत ४२ वटा एफएम रेडियोबाट एकैसाथ कार्यक्रमको सुरुवातसमेत गरेका थिए ।

प्रकाशित मितिः   १६ भाद्र २०८१, आईतवार १२:४०