‘घण्टी बोकेर मात्रै जितिँदैन, जनताको एजेन्डा बोक्नुपर्छ’

सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको गठबन्धनबाट केही आशा गर्न नसकिने बताएका छन् । पार्टीको कर्णाली प्रदेश भेलालाई शनिवार वीरेन्द्रनगरमा सम्बोधन गर्दै सभापति लामिछानेले हदै भए तीन वर्ष बाँडीचुँडी खानेबाहेक अहिलेको गठबन्धनले केही नगर्ने बताएका हुन् ।

‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुने छैन । हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खानुहोला, २०८४ मा त घण्टी बज्छ–बज्छ,’ उनले भने । सभापति लामिछानेले कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्ने पनि बताए । ‘दलको उम्मेदवारले जित्ने होइन, कर्णालीले जित्नुपर्छ । कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्छ,’ उनले भने ।

तर घण्टी बोकेर मात्रै नजितिने पनि कार्यकर्ताहरूलाई सभापति लामिछानेले बताए । ‘पार्टीमा पहिला लागेको भनेर अवसर पाइन्नँ । प्रतिस्पर्धामा जो अब्बल हुन्छ, उसैले अवसर पाउँछ । घण्टी बोकेर मात्र जितिँदैन, जनताका एजेण्डा बाक्नुपर्छ,’ उनले भने । ठूला दलहरूले रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेको भए त्यो असम्भव रहेको पनि उनले बताए । ‘२०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौँ,’ उनले भने ।

सहकारीको विषयमा लामिछाने आफूले कुनै कमजोरी नगरेको पनि दाबी गरे । ‘हुँदै नभएको प्रमाण १२/१४ महिना खोज्दा भेटेनन् । भेटेका भए किन छाड्थे । अझै डाम्न सकिन्छ कि भन्ने प्रयासमा छन् । तर, सक्दैनन् । किनकी, मैले कुनै कमजोरी गरेको छैन,’ उनले भने ।

प्रकाशित मितिः   १६ भाद्र २०८१, आईतवार ०५:०२