चौरजहारी नयाँ सहर निर्माणमा बजेट अभाव

सुर्खेत: रुकुम–पश्चिमको चौरजहारी नयाँ सहर आयोजना निर्माणका लागि बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा सरकारले न्यून मात्र बजेट विनियोजन गरेको छ । जसले गर्दा आयोजनाका काम अघि बढाउन समस्या हुने आयोजनाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा सरकारले आयोजना निर्माणको निरन्तरताका लागि १२ करोड बजेट विनियोवजन गरेको छ । बर्सेनि रूपमा न्यून मात्र बजेट विनियोजन हुने गरेको नयाँ सहर आयोजना कार्यालय चौरजहारीका इन्जिनियर विष्णु शाहीले बताए । उनका अनुसार गत आर्थिक वर्षमा समेत न्यून बजेट विनियोजन गरिएको थियो । उक्त वर्ष १९ करोड बजेट विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षमा बजेट घटाएर पठाएकाले काम गर्न समस्या हुने उनले बताए ।

बजेट पर्याप्त भए तोकिएकै समयमा काम गर्न सकिने आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर शाहीले न्यून बजेट हुँदा काम गर्न कठिन भइरहेको जनाए । बजेट अभाव हुँदा समयमै ठेक्का लगाउन नसकिएको, काम अपुरो हुनेगरेको, थप बजेट माग गर्नका लागि अर्थ मन्त्रालयमा धाइरहनुपर्ने लगायतका समस्या हुने गरेको उनको भनाइ छ ।

सरकारले हरेक वर्ष नयाँ सहर आयोजनाका लागि बजेट विनियोजन गर्ने गरेको छ । पछिल्लो समय सरकारले बजेट कटौती गर्ने गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा २५ करोड विनियोजन गरिएको थियो । गत आर्थिक वर्ष २०८०/०८१ मा १९ करोड बजेट पठाएको सरकारले यो वर्ष बजेट कटौती गरेको हो । चालु आर्थिक वर्षमा १२ करोड मात्र बजेट विनियोजन गरेको हो । जसले गर्दा काम गर्न समस्या हुने आयोजनाले जनाएको छ । आयोजना निर्माण सम्पन्न गर्न दुई अर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

आयोजना अन्तर्गत गुणस्तरीय सडक, विद्युत, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका भौतिक संरचना निर्माण भइरहेका छन् । पहाडबाट तराईमा हुने बसाइसराइ रोक्न आर्थिक वर्ष २०६७/०६८ सालबाट चौरजहारीलाई नयाँ सहरको रूपमा निर्माण गर्न सुरु गरिएको हो । २०७२ सालमा चौरजहारी नयाँ सहरको कार्यालय स्थापना गरेर काम सुरु भयो । आयोजनाले निर्माण गरेको एकीकृत सेवा केन्द्रबाट चौरजहारी नगरपालिकाको प्रशासनिक काम सञ्चालन भइरहेको छ । यसैगरी नगरपलिकाको वडा नं. १, २ र ४ को डेढ तले भवन निर्माण गरिएको छ । चार वटा सामुदायिक भवन निर्माणकै क्रममा रहेका छन् ।

जग्गा विकास योजना अनुसार नगरपालिकाको वडा नं. १ मा पाँच सय ८० रोपनी जग्गा सरकारको नाममा सारिएको छ । उक्त क्षेत्रमा पूर्वाधारयुक्त संरचना निर्माण गरेर पुनः स्थानीयलाई नै जग्गा हस्तान्तरण गरिनेछ । उक्त क्षेत्रमा ११ किलोमिटर सडक निर्माण हुनेछ । यसका साथै एकीकृत सामुदायिक भवन, कृषि उपज संकलन केन्द्र, कार्यालय भवन तथा कर्मचारी आवसगृह निर्माणको काम अन्तिम चरणमा पुगेको नयाँ सहर आयोजनाले जनाएको छ ।

आयोजनाले बजार क्षेत्रमा ११ किलोमिटर सडक कालोपत्रे र दुई किलोमिटर सडक ढल व्यवस्थापनसहित ग्राभेल गर्ने काम सम्पन्न गरेको छ । ‘बजार क्षेत्रमा पनि ढल निकासको काम भइरहेको छ । विभिन्न खण्ड बनाएर निर्माण कम्पनीमार्फत् सडक कालोपत्रे, ग्राभेल र ढल निकासको काम भइरहेको छ’ इन्जिनियर शाहीले भने, ‘आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको छ ।’ उनले अहिले सञ्चालन भइरहेका सबै निर्माणका काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

अहिलेसम्म ५३ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । ११ किलोमिटर सडक कालोपत्रे भएको छ । यसका साथै पाँच सय ६५ वटा सौर्य बत्ती जडान, १३ वटा सामुदायिक भवन निर्माणको काम सम्पन्न भएको इन्जिनियर शाहीले बताए । ढल, फुटपाथ र नाली बनाउने काम पनि जारी छ । न्यूनतम् सहरी सुविधा दिने गरी सहर बनाउने सरकारी योजनाअनुरूपको काम भइरहेको उनको भनाइ छ ।
२० वर्षे सहर निर्माणको योजना अन्तर्गत काम थालेको १३ वर्ष पुग्यो । बजेट पर्याप्त भए तोकिएकै समयमा काम गर्न सकिने आयोजनाले जनाएको छ ।

प्रकाशित मितिः   ९ भाद्र २०८१, आईतवार १६:०२