कर्णालीका पाँच जिल्लामा उपनिर्वाचन हुने

सुर्खेत: कर्णाली प्रदेशका पाँच वटा जिल्लामा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको हो ।

गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले देशभरका नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको छन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रिक्त रहेका पदहरूको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ । सोहीअनुसार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको हो ।

गाउँपालिका तथा नगरपालिकाका महŒवपूर्ण पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको आयोगका प्रवक्ता रघुराम विष्टको भनाइ छ । सोही प्रयोजनका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गरेको विष्टले बताए । कर्णालीको दैलेखमा एउटा गाउँपालिका अध्यक्ष र एउटा वडाअध्यक्ष पदका लागि निर्वाचन गर्नुपर्ने भएको छ ।

महावु गाउँपालिकामा अध्यक्ष र दुल्लु नगरपालिकाको वडा नं. १३ मा वडाअध्यक्षको पद रिक्त छ । त्यसैगरी कालीकोटको तिलागुफा नगरपालिका वडा नं. ४ मा वडाअध्यक्ष, जाजरकोटको नलगाड नगरपालिको उपप्रमुख र कुशे गाउँपालिका–७ मा वडाअध्यक्ष, डोल्पाको त्रिपुरासुन्दगरी नगरपालिका–५ मा वडाअध्यक्ष तथा रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाअध्यक्षका लागि निर्वाचन गर्नुपर्ने छ ।

प्रकाशित मितिः   ३० श्रावण २०८१, बुधबार १०:१८