नयाँ मन्त्रीका योजना

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारले आइतवार पूर्णता पाएको हो । कांग्रेसबाट सहभागी चार जना मन्त्रीलाई आइतवार प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । माओवादी सरकारबाट बाहिरीएपछि खाली रहेका मन्त्रालयमा नेपाली कांग्रेसका चार जना सांसदलाई नियुक्त गरेपछि कर्णाली प्रदेश सरकारले पनि पूर्णता पाएको हो । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाहले सपथ लिएका छन् भने सामाजिक विकासमन्त्रीमा दैलेखका घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा हुम्लाकी विजया बुढाले सपथ लिएका छन् ।

नेकपा (माओवादी) ले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । यसअघि नेकपा एमालेबाट मुख्यमन्त्रीसहित एक राज्यमन्त्री र दुई मन्त्री गरी चार जना मन्त्री भइसकेका छन् । एमालेबाट मुख्यमन्त्रीमा यामलाल कँडेल, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद शाह र भौतिक राज्यमन्त्रीमा गमता विक नियुक्त भइसकेका छन् । कर्णालीमा सात मन्त्रालय र आठ सदस्यीय मन्त्रीमण्डल बनाइएको छ । यसअघिको भन्दा एक मन्त्रालय घटाइएको छ भने एक जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । केन्द्रमा कांग्रेस–एमालेको समीकरण बनेसँगै कर्णालीमा पनि सोही समीकरण अनुसार नयाँ सरकार बनेको हो । कर्णालीमा नेपाली कांग्रेस पाँच महिनाको अवधिमै सत्तामा पुनरागमन भएको छ । यसअघि २०८० फागुन २२ सम्म सत्तामै रहेको कांग्रेसले केन्द्रमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको थियो । आइतवार पुनःकांग्रेस सरकारमा सहभागी बनेको छ । केन्द्रमा कांग्रेस–एमालेको सत्ता समीकरण बनेपछि कांग्रेसको सरकारमा पुनरागमन भएको हो ।

नवनियुक्त चारै जना मन्त्रीहरूले पदभार ग्रहण गर्दै विभिन्न प्रतिबद्धता जनाएका छन् । जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले आगामी दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्ने बताएकी छिन् भने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जनताले रोजेका र खोजेका कार्यक्रम कार्यान्वयन गर्ने बताएका छन् । त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बजेट खर्च प्रणालीलाई सुदृढ बनाउने बताएका छन् । पुँजीगत खर्च बढाउन विशेष योजनासहित सरकारले काम गर्ने उनको भनाइ छ । आवश्यकताको पहिचान र योजनाहरूको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ मन्त्रीहरूले आफूबलाई अब्बल सावित गर्न सकेमा मात्रै उनीहरूको सफलता पनि सिद्ध हुनेछ ।

प्रकाशित मितिः   २२ श्रावण २०८१, मंगलवार ०५:०३