पूर्वाधार निर्माणमा हेलचक्य्राइँ

बहाना बनाउँदै म्याद थप्दै

सुर्खेत: वीरेन्द्रनगरमा निर्माणाधिन तीन वटा सरकारी भवन पुनः म्याद थपिएको छ । सम्झौता अवधि सकिए पनि भवन निर्माण कार्य नसकिएपछि म्याद थपिएको हो । प्रदेश आयुर्वेद औषधालय, कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणको म्याद थपिएको छ ।

प्रदेश आयुर्वेद औषधालयको भवन निर्माणको एक वर्ष म्याद थप भएको छ । २०८० फागुन ३ गतेदेखि २०८१ फागुन २९ गतेसम्मका लागि म्याद थप गरिएको हो । पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माणको काम अधुरै छ । निर्माण कार्य २०७८ असारबाट सुरु गरिएको थियो । आयुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपरस्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । संघीय सरकारको १८ करोड २२ लाख बजेटमा निर्माण सम्झौता गरिएको हो ।

भवनको हालसम्म ३० प्रतिशत मात्र भौतिक तथा २५ प्रतिशत वित्तीय प्रगति भएको सहरी विकास तथा भवन डिभिजन कार्यालयका इन्जिनियर पूर्ण शर्माले बताए । १५ शैड्ढयाबाट सेवा दिनेगरी भवन निर्माणको काम थालिएको थियो । सम्झौता भएको तीन वर्ष बितिसक्दा पनि न्यून मात्र काम भएको आयुर्वेद औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले बताए । उनका अनुसार ४२ महिनामा एक तला मात्र ढलान भएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण निर्माणकार्य समयमा हुन नसकेको उनको भनाइ छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रको भवन निर्माणमा ढिलासुस्ती हुँदा सेवा प्रवाहमा असर परिरहेको डा. रिजाल बताउँछन् । भौतिक संरचनाको अभावमा औषधालयले साँघुरा कोठाहरूबाट सेवा दिइरहेको छ । सेवा विस्तार भएपनि आवश्यक भौतिक पूर्वाधार नहुँदा समस्या हुनेगरेको छ ।

यस्तै कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माण कार्य पनि अधुरै छ । उक्त भवनको पनि म्याद थप गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । २०८० कार्तिक १ गतेदेखि २०८१ चैतसम्म म्याद थपिएको कार्यालयका इन्जिनियर पूर्ण शर्माले बताए । यसअघि सझौता अनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । जगदम्बा शिवालय सुपरस्ट्रार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । सम्झौता अनुसारको अवधिमा काम नसकिएपछि पुनः म्याद थप गरिएको छ ।

भवन निर्माणको काम सुस्त गतिमा भइरहेको कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताए । भवन निर्माणमा ढिलाइ हुँदा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र भाडाको घरबाट सञ्चालन भइरहेको उनले जनाए । मासिक ४० हजार तिरेर भाडाको घरबाट आपूर्ति केन्द्र सञ्चालन भइरहेको छ । भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधि नेपालगञ्जमा स्ट्रोर गर्ने गरिएको छ । भाडाको घर भएकाले आवश्यक उपकरण र औषधि भण्डारण गर्न समस्या हुने गरेको उनले बताए । निर्माण व्यवसायीको ढिलाइले गर्दा भवन निर्माण कार्यमा ढिलाइ भएको उनको भनाइ छ ।

यसैगरी वीरेन्द्रनगरमै निर्माणधिन प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणको पनि म्याद थप गरिएको छ । २०८० माघ १ गतेदेखि २०८१ पुष २९ गतेसम्मका लागि म्याद थप गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । २०७८ असार २८ गतेदेखि भवन निर्माणको काम थालिएको थियो । २०७९ पुष २८ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकोमा त्यसयता पटक–पटक म्याद भएपनि काम सम्पन्न हुन सकेको छैन । हालसम्म भवन निर्माणको ७० प्रतिशत भौतिक प्रगति भएको कार्यालयका इन्जिनियर पूर्ण शर्माले जानकारी दिए । यसैगरी भवनको वित्तीय प्रगति ६५ प्रतिशत हासिल भएको छ ।

 

दोष सबै कोभिडलाई

प्रदेशका विकास निर्माणका काममा ढिलासुस्ती हुने गरेका छन् । अधिकांश योजना समयमा सम्पन्न नभएपछि पटक–पटक म्याद थप्दा पनि अधुरै छन् । निर्माण व्यवसायीको लापरबाहीले काममा ढिलाइ हुनेगरेको छ । वीरेन्द्रनगरमा निर्माणाधिन तीन वटा सरकारी कार्यालयका भवन निर्माणको पटक–पटक म्याद थपिएतापनि काम सम्पन्न भएको छैन ।

निर्माण कम्पनीहरूले भने कोरोना महामारीका कारण काममा बाँधा पुगेको भन्दै पटक–पटक म्याद थपिरहेका छन् । यता सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले भने तीन वटै सरकारी भवन निर्माणको काम समयमै सक्न ताकेता गरेको छ । तोकिएकै मितिमा काम सम्पन्न गर्न भनिएको कार्यालयका इन्जिनियर पूर्ण शर्माले बताए ।

प्रकाशित मितिः   १३ श्रावण २०८१, आईतवार ०५:०५