सुरुङमार्गको प्रारम्भिक अध्ययन सम्पन्न
सुर्खेत: जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्गको प्रि–फिजिविलिटी अध्ययनको काम सकिएको छ । करिब एक वर्ष लगाएर आयोजनाको ‘प्रि–फिजिविलिटी’ अध्ययनको काम सकिएको सडक विभागले जनाएको छ ।
२०८० जेठमा सुरुङमार्ग निर्माणका लागि प्रि–फिजिविलिटी अध्ययनको काम सुरु गरिएको हो । २०७८ मा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रूकुमपश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै फाइलसमेत खडा गरेको थियो । त्यतिबेला सामान्य अध्ययनका काम भएका थिए । विभागले २०८० जेठमा इटीको–टि.एम.एस–रेज जेभीसँग सुरुङमार्गको प्रि–फिजिविलिटी अध्ययन सम्झौता गरेको थियो । पाँच महिनामा अध्ययन सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । तर एक वर्षमा मात्र अध्ययनको काम सकिएको छ । भौगोलिक विकटता, जाजरकोट भूकम्प र अविरल वर्षाका कारण सुरुङमार्ग अध्ययनको काममा ढिलाइ भएको जनाइएको छ ।
प्रि–फिजिविलिटी अध्ययनको काम सकेर फाइल सडक विभागमा पेस गरिएको टिएमएस रेज जेभीका प्रमुख राजीव झाले बताए । उनका अनुसार अविरल वर्षा र जाजरकोट भूकम्पका कारण फिल्डमै पुगेर काम गर्न समस्या भएको थियो । उनले भने, ‘विविध कारणले तोकिएकै समयमा काम गर्न सकिएन, अहिले अध्ययन प्रतिवेदन सडक विभागमा पठाइसकिएको छ ।’ उनका अनुसार प्राविधिकको टोलिले सुरुङ मार्गका लागि टनेल निर्माण, माटोको परीक्षण, लागत अनुमानलगायतको अध्ययन गरेको हो । प्रि–फिजिविलिटीको अध्ययन प्रतिवेदन बुझाएसँगै विस्तृत अध्ययनको काम सुरु हुने भएको छ ।
विस्तृत सम्भाव्यता अध्ययन
सुरुङमार्गको प्रि–फिजिविलिटी अध्ययनले सुरुङमार्ग निर्माणका लागि स्थान उपयुक्त रहेको जनाएको छ । सडक विभागले अब विस्तृत सम्भाव्यता अध्ययनको काम अघि बढाउने भएको छ । प्राविधिक टोलीले फिल्डमै गएर सुरुङ निर्माण गर्ने क्षेत्रको अध्ययन गरेर प्रतिवेदन पेस गरिएको हो । सुरुङमार्ग निर्माणका लागि स्थान उपयुक्त रहेको प्रि–फिजिविलिटी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । सोही रिर्पोटका आधारमा विस्तृत सम्भाव्यता अध्ययन गरिने सडक विभागले जनाएको छ ।
इटीको–टि.एम.एस–रेज जेभीले विभागमा प्रतिवेदन पेस गरेको र सोहीबमोजिम विस्तृत अध्ययनको काम अघि बढाइने सडक विभागका इन्जिनियर दिपक एकामीले बताए । उनका अनुसार सामान्य अध्ययनको काम सकिएको छ भने विस्तृत अध्ययनमको काम अब सुरु हुनेछ । प्रि–फिजिविलिटी अध्ययन अनुसार अन्य काम अघि बढाइने विभागले जनाएको छ ।
करिब ३५ अर्ब लागत अनुमान
जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारी सम्मको लम्बाइ करिब दश किलोमिटर छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर सुरुङमार्ग निर्माणको काम थालिएको हो । प्रि–फिजिविलिटी अध्ययनको काम सकिएको छ । अध्ययन अनुसार करिब ३५ अर्ब लागत अनुमान छ । स्रोत जुटाएर अध्ययनको काम थालिने सडक विभागले जनाएको छ ।
प्रस्तावित सुरुङमार्गले जाजरकोटको कुसे गाउँपालिका वडा नं. ८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ८ इमिल्चाघारी जोड्ने छ । सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ । गौरवको आयोजनाका रूपमा सुरुङ मार्ग निर्माण योजना अघि सारिएको छ । दुरी र व्यापारका हिसाबले सुरुङमार्ग नै उपयुक्त विकल्पका रूपमा लिइएको छ । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि उक्त सुरुङमार्ग निर्माण गर्न लागिएको जनाइएको छ ।
सुरुङमार्ग निर्माण सरकारको प्राथमिकतामा पर्न थालेको छ । सडकको दुरी छोट्याइ इन्धन बचत गर्ने, भौगोलिक रूपमा कठिनाइ र पहिरोको जोखिम भएका ठाउँमा सुरक्षित हुने भएकाले जाजरकोट–जुम्ला सुरुङमार्ग निर्माण थालिएको हो । सुरुङमार्ग निर्माणसँगै कर्णालीको व्यापारमा वृद्धि हुने अपेक्षा राखिएको पूर्व सांसद तथा माओवादी नेता नरेश भण्डारी बताउँछन् । सुरुङमार्ग निर्माणमा प्रदेश तथा स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
प्रकाशित मितिः १२ असार २०८१, बुधबार ११:००

साझा बिसौनी ।