महिला सम्मेलन हुँदै

सुर्खेत: कर्णाली प्रदेश महिला सम्मेलन आयोजना हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर फागुन २१ गते महिला सम्मेलनको आयोजना गरेको हो ।
प्रदेशभित्र विभिन्न निकायका नेतृत्वमा रहेका महिलाहरूबीच अनुभव आदान–प्रदानसहितको बृहत् छलफलका लागि सम्मेलन आयोजना गरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार सम्मेलनको उद्घाटन नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । सम्मेलनमा कर्णालीका ७९ वटै स्थानीय तहका महिला प्रमुख र उपप्रमुख, महिला नेत्री, आमा समूह, वडा समितिका अगुवा महिलाहरू सहभागी हुनेछन् ।
उपप्रमुख÷उपाध्यक्षहरूले नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेकाले उनीहरूको अनुभव आदनप्रदान गरिनेछ । ‘कार्यक्रममा प्रदेश सरकार, प्रदेशसभा सांसद, अन्य राजनीतिक दलका महिला नेत्रीहरूलाई पनि निमन्त्रणा गरिसकेका छौँ,’ ढकालले भनिन्, ‘अन्तर पार्टी महिला सञ्जाल सुर्खेत, शिक्षक महासंघ, नगर शिक्षक महासंघ विभिन्न संघ संस्थाहरूसँग छलफल गरेर प्रतिनिधित्व पठाइदिन अनुरोध गरिसकेका छौँ ।’
जुनुसुकै क्षेत्रमा काम गरिरहेपनि महिलाहरूको सवालमा साझा मत हुनुपर्छ भन्ने विषयमा पनि छलफल गर्ने र घोषणापत्र नै जारी गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ । कार्यक्रममा प्रदेशभरबाट करिब एक हजार जना सहभागी हुनेछन् ।
प्रकाशित मितिः २० फाल्गुन २०८०, आईतवार १०:१५
साझा बिसौनी ।