बिरुवा रोपिन्छ, संरक्षण हुँदैन
सुर्खेत: विभिन्न दिवस होस् या अभियान र नयाँ कामको थालनी गर्दा वीरेन्द्रनगरमा वृक्षारोपण गर्ने होडबाजी नै चल्ने गरेको छ । सरकारी कार्यालय, बैंक, विभिन्न संघसंस्था, समूहहरूले सडकका छेउछाउ र खुल्ला चौरमा विभिन्न समयमा विभिन्न प्रजातीका बिरुवा रोप्छन् । यसरी रोपिएका लाखौँ बिरुवाको अवस्थाबारे भने त्यसपछि कसैलाई अत्तोपत्तो हुँदैन ।
व्यक्ति, समूह, संघ–संस्थाले सार्वजनिक, सरकारी तथा निजी जग्गामा रोपेका बिरुवा केही समयपछि हराउने गरेका छन् । संरक्षणको स्पष्ट आधारविना जथाभावी रोपिएका लाखौँ बिरुवा यत्तिकै हराउँछन् । बोटबिरुवा रोप्ने व्यक्ति र संस्थालाई समेत त्यसको जानकारी हुँदैन । पछिल्लो समय स्थानीय सरकारले समेत सहरी हरियाली प्रवद्र्धनका लागि हजारौँ संख्यामा बिरुवा रोप्दै आएको छ । रोपिएका बिरुवाको संरक्षण भने हुन सकेको छैन ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले विभिन्न समयमा वृक्षारोपण गर्ने गरेको छ । बाटोको मापदण्ड पुगेका सडकखण्डको किनारामा करिब नौ हजार बढी बोटबिरुवा रोपिएको नगरपालिकाले जनाएको छ । सहरी हरियाली प्रवद्र्धनका लागि नगरपालिकाले वीरेन्द्रनगर उपत्यकाभर करिब नौ हजार बोटबिरुवा रोपेको हो । रोपिएका बिरुवामध्ये धेरै जसो हुर्किन पाउँदैनन् । घेरबार, मल–पानीको अभावलगायका कारण रोपेका बिरुवामध्ये आधा मात्र हुर्किने गरेका छन् ।
हरियाली प्रवद्र्धन र सौन्दर्यका लागि वीरेन्द्रनगर नगरपालिकाले यो वर्ष १५ लाख बजेट विनियोजन गरेको छ । जसमा मंगलगडी चोकदेखि वीरेन्द्र चोकसम्म दश लाखका बोटबिरुवा रोपिने छन् । नगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख प्रकाश पौडेलका अनुसार वृक्षारोपण तथा सजावटका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । उनका अनुसार मंगलगडीचोकदेखि वीरेन्द्रचोकसम्मका मुख्य सडक छेउछाउमा सजावटका लागि बिरुवा रोप्न थालिएको हो ।
सुर्खेत उपत्यकाभर हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको नगरपालिकाले जनाएको छ । पौडेलले भने, ‘अघिल्ला वर्षहरूमा रोपेका बिरुवाहरू मरेका छन् । ती बिरुवाहरूको ठाउँमा पुनः वृक्षारोपण गरिने छ । विभिन्न पार्कहरूमा समेत बिरुवा रोप्ने योजना नगरपालिकाको छ ।’
यस्तै वन डिभिजन कार्यालय सुर्खेतले गत साउन २५ गते वृक्षारोपण दिवसको अवसरमा आदर्श सामुदायिक वनमा एक हजार ६ सय ६४ बिरुवा रोपेको छ । निजामति सेवा दिवसको अवसरमा कार्यालयले गत भदौ २२ गते वीरेन्द्रनगरको चाइना पुल क्षेत्रमा समेत बोटबिरुवा रोप्यो । कार्यालय प्रमुख मुनबहादुर रावतले यो वर्ष मात्र चार हजारभन्दा बढी बिरुवा रोपिएको बताए । बर्सेनि बिरुवा रोप्ने गरेको कार्यालयले भने संरक्षणमा चासो दिएको देखिँदैन ।
वातावरण संरक्षण तथा सरसफाइ प्रवद्र्धन अभियान्ता डा. नवराज केसीले पछिल्लो समय वृक्षारोपण गर्ने होडबाजी चलेको बताए । वृक्षारोपणमा भन्दा बिरुवाको संरक्षण गर्ने र हुर्काउनेमा प्रतिष्पर्धा हुनुपर्ने उनको भनाइ छ । ‘हामीले रोपेका बिरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ’ डा. केसीले भने, ‘वर्षायामको छेको पारेर वृक्षारोपण गरिन्छ । जसका कारण नयाँ रोपिएका कतिपय बिरुवा पानी नभएका कारण सुकेका छन् ।’ सम्बन्धित स्थानीय सरकारले यसको रेखदेख र नियमन गर्नुपर्ने उनको भनाइ छ । वीरेन्द्रनगरका धेरै स्थानमा बिरुवा मरेको, संरक्षणको अभावमा रहेकाले मरेका बिरुवाको ठाउँमा पुनः वृक्षारोपण गर्नुपर्ने केसीले सुझाव दिए ।
राजीतिकर्मी मुकुन्दश्याम गिरी बिरुवामा पानी हाल्ने र झाडी निकाल्ने काममा स्थानीयवासीले समेत चासो नदेखाएको बताउँछन् । वीरेन्द्रनगरका केही स्थानमा वृक्षारोपण गरिएका बिरुवाको अवस्था राम्रै भएपनि कर्णाली राजमार्गको सडक क्षेत्रमा रोपिएका बिरुवाको अवस्था दयनीय रहेको उनले जानकारी दिए । वीरेन्द्रनगरका मुख्य सडकमा समेत पात झरेका बिरुवाको डाँठ सुकेको अवस्थामा छन् । जसका कारण बर्सेनि रोपिने लाखौँ बिरुवामध्ये मुस्किलले आधा मात्रै जोगिन्छन् । बिरुवा रोप्नेहरू बढ्दै गए पनि संरक्षणमा भने कसैको ध्यान पुग्न नसकेको उनको भनाइ छ । हरेक वर्ष एउटै स्थानमा वृक्षारोपण गरिनु र त्यहाँ बुट्यान क्षेत्र नबढ्नुले यसरी गरिने वृक्षारोपण औचित्यहीन भएको गिरीले बताए ।
साझा बिसौनी ।