विमानस्थलको तरंग
‘दीर्घकालीन रूपमा यो विमानस्थलले धान्दैन, अहिले विमानस्थल विस्तार गर्नलाई समस्या छैन ।’
सुर्खेत आएका बखत यही असोज १० गते विमानस्थल विस्तारका सम्बन्धमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काबाट सार्वजनिक रूपमा आएको अभिव्यक्ति हो यो । खड्काको अभिव्यक्ति अनुसार यो विमानस्थलले दीर्घकालीन रूपमा धान्दैन भन्ने कुरा असत्य होइन, तर विमानस्थल विस्तारमा समस्या छैन भन्ने कुरा सत्यता भन्दा टाढा हो ।
यसै विषयमा अलि उचाइबाट चर्चा गरौँ । उचाइ भन्नाले व्यवहारीक कोणबाट नभइ तथ्यगत ढंगको विश्लेषण भन्न खोजिएको हो । सुर्खेत विमानस्थल विस्तारका लागि संघीय सरकारसँग कर्णाली प्रदेश सरकारले २०७७ असोज १५ गते द्विपक्षीय सम्झौता गरेपछि वीरेन्द्रनगर १२ नं. वडाका तत्कालीन वडा अध्यक्ष, वडाका गन्यमान्य व्यक्तित्वहरू अमरज्योती उच्च माध्यमिक विद्यालयमा उपस्थित भइ नागरिक उड्डयन कार्यलय सुर्खेतका तत्कालीन प्राविधिक कर्मचारीसँग अनौपचारिक रूपमा छलफल चलेको थियोे । छलफलका क्रममा यो विमानस्थल विस्तार गरे पनि १० वर्षभन्दा बढी धान्न नसक्ने भनी प्राविधिकले बोलेका कुरा त्यहाँ उपस्थित कसैले बिर्सेका छैनन् । विमानस्थल विस्तारका लागि दक्षिणतर्फ चार सय मिटर, पूर्वतर्फ २५ मीटर, उत्तरतर्फ ६ सय मीटर र पश्चिमतर्फ दुई सय मिटर जग्गा रोक्का राख्न नागरिक उड्डयन कार्यालय सुर्खेतले २०७७ पुस ९ गते पत्राचार गरेपछि स्थानीयवासीको सक्रियतामा नागरिक सरोकार समिति गठन भएको थियोे ।
नागरिक सरोकार समितिले तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदा केही वर्षका लागि उत्तरतर्फ तीन सय मीटर मात्र विस्तार गर्ने हो, विकल्पमा पछि अर्को ठूलो विमानस्थल बनाउनै पर्छ भन्ने किसिमको शाहीको अभिव्यक्ति हाम्रो स्मरणमा ताजा छ । यहाँ नागरिक उड्डयनका प्राविधिक कर्मचारी, मुख्यमन्त्री र कार्यवाहक प्रधानमन्त्रीको छुट्टाछुट्टै अभिव्यक्तिमा एउटा तालमेल के देखियो भने मौजुदा विमानस्थल विस्तार भएपनि दीर्घकालीन समाधान हुँदैन विकल्पमा अर्को विमानस्थल चाहिन्छ भन्ने प्रष्ट रूपमा आयो । विकल्पमा भोलि अर्को विमानस्थल नखोजी नहुने हो भने बरु आजै खोजौँ । विद्यालयलाई तहसनहस पारेर हलो काटी मुङ्ग्रो नबनाउँ, हाम्रो यो भनाइ नाजायज नै हो त ?
सुर्खेतको पुरानो र प्रतिष्ठित अमरज्योति माध्यमिक विद्यालयमा उज्यालो भविष्य खोज्ने करिब तीन हजार विद्यार्थीको पठनपाठन चलिरहेकोे छ । विमानस्थल विस्तारको कारणले विद्यालयको पनि उठिवास हुने भए त्यसको व्यवस्थापन कसरी हुन्छ भनी त्यतिबेला सरोकार समितिले उठाएको प्रश्नमा प्रशासनिक तहबाट कोही कसैले जवाफ दिएन । सर्वदलीय सर्वपक्षीय बैठक बसेर विद्यालयका बारेमा ठोस निर्णय गर्ने त भनियो तर त्यो बैठक छेपाराको आन भयो । विद्यालयले देश बनाउने धेरै कर्णधार उत्पादन ग¥यो होला । माध्यमिक तहसम्म यहाँ पढेका कति दाजुभाइहरू प्रसिद्ध डाक्टर होलान्, कोही इन्जिनियर होलान् कतिपय राजनीतिको सक्षम नेतृत्व लिने अभ्यासमा पनि होलान् । नेवारेको गौरव बोकिरहेको यस्तो विद्यालयलाई नजरअन्दाज गरि कार्यवाहक प्रधानमन्त्रीले अहिले विमानस्थल विस्तार गर्नलाई समस्या छैन भनी दिएको अभिव्यक्ति सत्यताको नजिक छ र ? राज्यसत्ताले यहाँ विमानस्थलको मात्रै चासो लिने र विद्यालयको चिन्ता कसैले नलिने हो भने जनताको मन कसरी पलाउँछ ?
एटिआर ७२ सिटको जहाज बसेपछि भाडादर सस्तो हुन्छ तब मात्र पूण्य प्राप्त हुन्छ त्यसैले विमानस्थल विस्तार हुनैपर्छ भन्ने पक्ष र विकल्पमा अर्को विमानस्थल चाहिने नै भए बनिसकेको संरचना ध्वस्त गर्नुहुँदैन भन्ने नागरिक सरोकार समितिको पक्षबाट आ–आफ्नो तर्क भिडाउँदै गर्दाका समयमा ८० सीट क्षमताको श्रीएयरलाइनको जहाजले परिक्षण उडान ग¥यो । उडान र अवतरणमा कुनै समस्या छैन, प्रशासनिक प्रक्रिया पूरा गरेर नियमित उडान गर्ने र भाडादर पनि सस्तो हुने भनी जहाजका आधिकारिक व्यक्तिहरूले सुर्खेती पत्रकारको प्रश्नमा त्यो जवाफ दिएका थिए । कुनै समस्या छैन भन्नुको तात्पर्य धावन मार्ग प्रयाप्त छ भनिएको पनि हो । त्यसपछि एटिआर ७२ सीट जहाजको लागि धावनमार्ग पुग्दैन भनी अत्तो थाप्नेहरूको पर्दाफास भएको थियो । महिना बितेर गयो श्रीएयरलाइन फर्केर आएन बरु बुद्धएयरको ४७ सीट क्षमताको जहाजले यथावत दैनिक रूपमा एक उडान भरिरह्यो । श्रीएयरलाइन फर्की नआएपछि बुद्धएयरले नै एकाधिकार जमाउन खोजेको हो भन्ने ढंगबाट व्यापक जनगुनासो छरिएको थियो ।
स्थानीयवासी समेतको उपस्थितिमा २०७८ फागुन २२ गते मुख्यमन्त्रीको कार्यालयबाट वीरेन्द्रनगरमा परिणाममुखी छलफल चल्यो । छलफलमा नागरिक उड्डयन कार्यलयका तत्कालीन कार्यालय प्रमुखले विमानस्थल विस्तारका लागि साढे नौ अर्ब रकम खर्च हुने र तयार हुन आठ वर्ष समयावधी लाग्ने भनी प्रतिवेदन पढेर सुनाए । विमानस्थल विस्तारका लागि ठूलो धनराशि खर्च हुने समय पनि धेरै लाग्ने हुँदा,अब स्थानीयवासीलाई संधै अन्योलमा राख्नु हुँदैन । प्रभावित जनताको माग र अमरज्योति विद्यालयको पठनपाठन गर्ने कुरालाई समेत मनन गर्दै सुर्खेत विमानस्थल विस्तारको कार्य बन्द गरि अन्यत्र विकल्प खोजिने छ, भन्ने ढंगबाट तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीको अभिव्यक्ति सार्वजनिक भएको थियो । त्यसैको आधारमा नागरिक उड्डयन कार्यालयबाट २०७७ पुस ९ गतेको पत्रले रोक्का रहेका जग्गा फुकुवा भएका थिए । फुकुवा भएपछि गाउँ समाज र विद्यालयमा धमाधम भवनहरू निर्माण भैरहेका छन ।
वीरेन्द्रनगरमा विमानस्थल विस्तारको अध्याय समाप्त भएपछि २०७९ जेठ ९ गते संघीय सरकारको मन्त्रीपरिषदले सुर्खेत रामघाट विमानस्थल निर्माणका लागि सैद्धान्तिक स्वीकृति पारित ग¥यो भने ऐजन जेठ १५ गतेको बजेट वक्तव्यमा पनि रामघाट विमानस्थल सम्बोधनमा परेको थियो । रामघाट अथवा मदानेचौर विमानस्थल निर्माणका लागि राज्यकोषबाट ठूलो रकम पनि प्रारम्भिक अध्ययनमा खर्च भैसकेको थियो । भेरी किनारमा कुइरो लाग्छ, खाडल पुर्न कठिन छ भनेर जोसुकैले जति बाङ्गाटिङ्गा तर्क गरे पनि निर्माण हुन नसक्ने भन्ने किसिमको ठोस निर्णय भएकै रहेनछ । यस बाट मदानेचौरको सम्भावना जिवित नै रहेछ भन्ने पनि बुझिन आयो । मदानेचौरमा विमानस्थलको चर्चा चलिरहेको बखत आमनिर्वाचन २०७९ मंसिर ४ गतेको छेको पारेर बुद्धएयर एटिआर ७२ सीटको जहाजले पनि सहज र सफलतापूर्वक अवतरण गरी काठमाडौं सुर्खेत दैनिक दुई पटक नियमित उडान भरिरहेको छ । पहिला धावनमार्ग पुग्दैन भनी अत्तो थापेर उडान नभर्नु र मदानेचौरतिरको सम्भावना उज्यालो भएपछि हतारमा परिक्षण उडान गर्नुमा कसैले शंका गर्न मिल्नेकी नमिल्ने ?
पछिल्ला दिनमा फेरि नियतबस विमानस्थल विस्तारको चर्चा अलि सघन रूपमा उठेपछि सुर्खेतमा फेरि तरंग आएको छ । विमानस्थल विस्तार गर्न खोजिएको काठमाण्डुलाई मात्र लक्ष गरेर होकि कर्णाली प्रदेशको केन्द्रस्थल बनाउने उद्देश्य पनि हो ? यदि केन्द्रस्थल बनाउन खोजिएको हो भने कर्णाली प्रदेशको कतिपय पहाडी जिल्लामा साना विमानस्थल छँदै छन् । त्यतातिर पनि ठूला जहाज चाहिने हो भने ठूला जहाजका लागि विमानस्थल पनि ठूला बनाउनु प¥यो जो भूगोलको कारणले सम्भावना नै छैन । त्यसकारण भूगोल अनुसार विमानस्थल बनाउनुपर्छ तर विमानस्थल अनुसार भूगोल सित्ती बन्न सक्दैन । सुर्खेतको सन्दर्भ पनि ठीक त्यस्तै हो । कर्णालीका पहाडी जिल्लामा चल्ने जहाज सुर्खेतमा नबस्ने कुरै रहेन, तिनलाई किन पो चाहियो अरु लामो धावनमार्ग ! पहाडी जिल्लामा उड्ने साना जहाजले नेपालगंजबाट यात्रु बोकिरहेका छन् भने सुर्खेतबाट त्यसरी नै उड्ने साना जहाजले सामान बाहेक मान्छे बोक्न रुचि देखाउँदैनन् त्यो के धावनमार्ग नपुगेर हो ? जहाजको व्यवसायीक कारण होला, जोखिम र सुरक्षाको सवाल पनि होला । सुर्खेतबाट उडाउनै पर्छ भनेर जबरजस्ती गर्न पनि त मिल्दैन होला । अब सुर्खेतबाट पहाडी जिल्लामा उड्दा जहाज यात्रुले भरिएन भने, थोरै यात्रु बोकि उड्दा नेपालगञ्जको भन्दा भाडादर धेरै महंगो पर्न गयो भने, यताको खेलोखापो सुकेर नेपालगञ्जतिरै यात्रु ओइरिए भने के औचित्य रहला ? घाटा खाएर कसैले व्यापार गर्दैन, न जहाज न यात्री । नेपालगञ्जबाट हवाई यात्रागर्ने सबैलाई थाहा भएको कुरा त्यहाँ पहिले देखि नै जहाज चढ्ने यात्रुको ठूलो चाप छ । नेपालगञ्जको तुलनामा सुर्खेतबाट काठमाडौं बाहेक अन्य जिल्लाको चाप प्राय छँदैछैन ।
काठमाडौंसम्मको पहुँच र सम्बन्ध बढाउन विदेश उड्ने ठूला जेट र बोइङ जहाज अवतरणका लागि धावनमार्ग बढाउनु पर्छ भन्ने हो भने सुर्खेत त के त्यस्तो नेपालगञ्ज विमानस्थलमा पनि सम्भावना छैन । आन्तरिक उडान गर्ने ८० सीट र ७२ सीटका ठूला जहाजलाई प्रयाप्त छ यही धावनमार्ग । अब यसमा थोरै प्राविधिकले दिएका कुरालाई पनि सविस्तार गरौं । जस्तोकि उत्तरतर्फ ५÷६ सय मीटर विस्तार भएको खण्डमा पनि यहाँ दोहोरो उडान अवतरण सम्भावना पटक्कै छैन किनकि उत्तर सामुन्नेमा ठूलो पहाड छ । एकतर्फी उडान अवतरणका लागि पनि रात्रीकालिन सेवा समेत सञ्चालन गर्नुपर्ने भए दक्षिणतर्फ बिजुली बत्ति जडानका लागि दुई सय मिटर विस्तार गरिनु पर्ने हुन्छ तर नेपालगञ्ज सुर्खेत सडक मुख्य बाधक छ । यसबाट के सिद्ध हुन्छ भने उत्तर तर्फ जतिसुकै लामो धावनमार्ग विस्तार गरे पनि यो विमानस्थल काम चलाउ बाहेक सुविधा सम्पन्न हुनै सक्दैन । उत्तरतिरबाट अपर्झट आकस्मिक उडान अवतरण पनि सम्भावना छैन र रात्रीकालिन सुविधा पनि बिल्कुल असम्भव छ । अब काम चलाउ विमानस्थलका लागि किन विद्यालय मास्नु किन त्यत्रो बस्ती उठाउनु ! काम यसै पनि चलेकै छ ।
सबैको निष्कर्ष एउटै छ विमानस्थल विस्तार दीर्घकालीन समाधान होइन । ठूलो विमानस्थल चाहिने भए मदानेचौरमा ध्यान लगाउँ । यहाँ मुख्यमन्त्रीको परिणाममुखी छलफलको निर्णय नै खण्डित हुने गरि औचित्य बिना धावनमार्ग बढाउन खोज्नु राजनीतिक दाउपेच हो भनी बुझेका छन् स्थानीयले । यदि यो राजनीतिक अभिष्ट होइन भने राजनीतिक पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने काम बन्द गरुन् । कामबाट नाम होस् नकामबाट बदनाम नहोस् ।
प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार ०५:०३
उमालाल आचार्य ।