विपन्नलाई उपचार पाउनै मुस्किल

आर्थिक अभावले स्वास्थ्य उपचारमा समस्या

सुर्खेत: बराहताल गाउँपालिका वडा नं. ८ सुर्खेतका ३८ वर्षीय मानबहादुर विश्वकर्मा ट्रमा सेन्टर काठमाडांैमा उपचाररत छन् । उनको दायाँ हातमा ट्यूमर (क्यान्सर) भएको छ । दुई वर्षदेखि उपचार गराइरहेका मानबहादुरलाई आर्थिक अभावले उपचारमा भने हम्मेहम्मे भइरहेको छ ।

अहिले मानबहादुरको हातको अप्रेशन भएको छ । उनकी श्रीमती अस्मिता सुनार आर्थिक अभावले श्रीमान््को उपचार गर्न कठिन भइरहेको बताउँछिन् । उनका अनुसार उपचारको क्रममा अहिलेसम्म करिब १६ लाख खर्च भइसकेको छ । ‘खर्च धेरै भइसक्यो’ उनले भनिन्, ‘अहिले आफन्त र अन्यबाट सहयोग उठाएर उपचार भइरहेको छ ।’

आर्थिक सहयोगका लागि उनी गाउँपालिका पुगेकी थिइन् । पालिकाले एक लाख रूपैयाँ नगद दिएको छ भने सहयोगका लागि सिफारिस गरिदिएको उनले जनाइन् । ‘पालिकाबाट सिफारिस लिएर आएको छु, सहयोग उठाएर उपचार गराइरहेका छौँ’ अस्मिताले भनिन् । उनकाअनुसार मानबहादुरको उपचारकै लागि लिएको दश लाखभन्दा बढी ऋण तिर्नै बाँकी छ ।

यस्तै कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं. ८ मुम्राकी ३० वर्षीया बेलकुशा लुहार मृगौलाको समस्याबाट पीडित छिन् । उनको एउटा मृगौला ‘फेल’ भइसकेको छ । अर्को मृगौलाले पनि राम्रोसँग काम गर्दैन । तर आर्थिक अभावमा राम्रोसँग उपचार हुन सकेको छैन । श्रीमान् चन्द्र लुहार यतिबेला सहयोगका लागि गाउँपालिका र वडा कार्यालयमा धाइरहेका छन् । ‘दुई वर्षदेखि उपचार गराइरहेको छु । मृगौला फेल भइसक्यो भनेर थाहा भएको एक वर्ष भयो । अर्को मृगौलाले पनि राम्रोसँग काम गर्न छोडिसक्यो’ उनले भने, ‘एउटा मृगौला हाल्ने भनेका छन् । खर्च गर्ने पैसा नभएर घरमै छु । डायलिस गर्नुपर्छ भन्दै थिए, म पैसा नभएर घर आइहालेँ । गाउँपालिकाबाट सिफारिस बन्यो भने सुर्खेत झर्ने योजना छ ।’

उनको आम्दानीको अन्य स्रोत छैन । जीविकोपार्जनका लागि बर्सेनि भारत जान्थे । मजदुरी गरेर कमाएको पैसाले घरखर्च चल्थ्यो । तर श्रीमती बिरामी भएदेखि उनी भारत जान पनि पाएका छैनन् । उपचारमा लाग्ने खर्च जुटाउनै समस्या भइरहेको चन्द्रले बताए । डाक्टरले मृगौला फेर्ने भनेकोले पैसा धेरै लाग्ने बताएको उनले जनाए । उनका अनुसार बेलकुशाको उपचारमा ५÷६ लाख खर्च भइसक्यो । सुर्खेत, नेपालगञ्ज, इन्डिया, काठमाडौं गएर उपचार गराइसकेका उनले अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेको जानकारी दिए ।

दैलेखको भैरवी गाउँपालिका–४ का १० वर्षीय रोशन नेपालीको पनि आर्थिक अभावमा उपचार हुन सकिरहेको छैन । उनको टाउकोमा पानी जमेको छ । आर्थिक अभावको कारण उनको शल्यक्रिया हुन सकेको छैन । तर उनको पनि उपचारमा आर्थिक अभाव देखिएको छ ।

रोशनका बुबा टेकेश नेपालीका अनुसार उनी जन्मेदेखि नै बिरामी थिए । सुरुमा पिठ्यूमा दाना आएको थियो । त्यसपछि आन्द्रामा इन्फेक्सन भयो भनेर आन्द्राको अप्रेशन भयो । अहिले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रोशनको उपचार भइरहेको छ । टाउकोमा पानी जमेको र तत्काल अप्रेशन गर्नुपर्ने बताएपछि उनी अहिले कमाईका लागि अछाम गएका छन् । अप्रेशनका लागि तीन लाख आवश्यक पर्ने उनले बताए । ‘गाउँपालिकामा केही सहयोग हुन्छ कि भनेर गएको थिएँ, यसरी सहयोग गर्ने नियम छैन भन्नुभयो’ नेपालीले भने, ‘१० लाख जति ऋण छ । घर खर्च धान्न, ब्याज, किस्ता तिर्नसमेत पुग्दैन, उपचारमा लागेको ऋणसमेत तिर्न गाह्रो भएको छ ।’ उनले छोराको उपचारमा सहयोगका लागि अनुरोध गरे ।

दैलेखकै भगवतिमाई गाउँपालिका–४ मनघरका दानबहादुर बुढा घाँस काट्ने क्रममा रुखबाट लडेर अहिले भेरी अस्पतालमा उपचार गराइरहेका छन् । उनको टाउको, छाती र हातमा गम्भीर चोट लागेको छ । शल्यक्रिया गर्नुपर्ने हुँदा आर्थिक अभाव भएको उनको परिवारले जनाएको छ । बहिनी नाता पर्ने भवगती विसीले घरको आर्थिक अवस्था कमजोर हुँदा ऋण, आफन्त, साथीभाइबाट सहयोग उठाएर उपचार गरिरहेको बताइन् । अहिले उनको टाउको अप्रेसन भइसकेको छ । औषधि किन्न समेत पैसा अभाव भएको भन्दै उनले सहयोगका लागि अपिल गरिन् ।

आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका नागरिकको संख्या ठूलो छ । नेता तथा राज्यको उच्च तहमा पुगेका व्यक्तिहरूले राज्यको ढुकुटीबाट विदेश गएर उपचार गराएको पाइन्छ । तर आर्थिक अभावमा उपचार नपाएर विपन्न नागरिकले ज्यान गुमाउन बाध्य छन् । सरकारले विपन्न तथा गरिब, असहायलगायतका व्यक्तिहरू लक्षित कार्यक्रम बनाए पनि प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा ति कार्यक्रमबाट विपन्न तथा गरिब, असहायले लाभ लिन सकिरहेका छैनन् ।

पछिल्लो समय उपचारका लागि समाजिक सञ्जालमा सहयोगको लागि अनुरोध गर्नेहरूको धेरै देखिन्छन् । स्थानीय सरकारले पनि सहयोग गर्नुभन्दा सहयोगका लागि सिफारिस पत्र बनाएर टार्ने गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेका कारण जीवन बाच्नै नसक्ने अवस्थामा रहेका व्यक्तिहरूलाई उनीहरूको उपचारको जिम्मा राज्यले लिनुपर्ने बताउँछन् । उनले भने, ‘अहिले तीनै तहका सरकार भएकाले गरिबिकै कारण उपचार गराउन नसक्ने परिवार तथा व्यक्तिको आर्थिक अवस्था हेरेर उपचार गर्ने जिम्मा राज्यले लिनुपर्छ । तिनै तहका सरकारले विशेष खालको व्यवस्था गर्नुपर्छ ।’ विपन्न तथा गरिब परिवारका व्यक्तिहरूको उपचारका लागि स्थानीय सरकारले सहयोग उपलब्ध गराउने भनेर सिफारिस गरिदिने भन्दा पनि पहल गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   ११ जेष्ठ २०८०, बिहीबार ०५:०५