प्रयोगविहीन गुनासो पेटिका

सुर्खेत: प्रविधिको विकाससँगै जुनासो पेटिका प्रयोगविहीन बनेका छन् । पछिल्लो समय सरकारी कार्यालयमा गुनासो पेटिका राखिएपनि प्रयोग हुने गरेका छैनन् । बढ्दो सूचना र प्रविधिको प्रयोगले ति गुनासो पेटिकाहरू प्रयोगमा नआएका हुन् ।
सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ति तथा अनियमितताबारे सेवाग्राहीको गुनासोको सुनुवाई गर्न कार्यालयहरूमा राखिएका गुनासो पेटिकाहरू अहिले प्रयोगविहीन बनेका हुन् । नागरिकलाई प्रदान गरिने सेवाबारे उनीहरूका गुनासा संकलन गरी वस्तु तथा सेवा प्रवाहमा प्रभावकारीता ल्याउने उद्देश्यले हरेक सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले उजुरी पेटिका राखेका हुन्छन् । तर ति उजुरी पेटिकाहरू प्रयोगविहीन बनेका छन् । पछिल्लो समय नागरिकहरूको भरपर्दो माध्यम इन्टरनेट बनेको छ ।
सुर्खेतका सबैजसो कार्यालयहरूले उजुरी पेटिका राखेका भएपनि ति उजुरी पेटिकाहरू अहिले प्रयोगविहीन बनेका छन् । जिल्लाका मुख्य कार्यालय तथा अन्य ग्रामीण भेगहमा रहेका कार्यालयहरूमा राखएिका उजुरी पेटिका प्रयोग विहीन बनेका हुन् । आधुनिक सञ्चार प्रविधिको विकाससँगै सेवाग्राहीहरूले उजुरी पेटिका प्रयोग नगरेपछि विभिन्न कार्यालयहरूले राखेका उजुरी पेटिकाहरू माकुराको जालोले भरिएका छन् ।
अलिकति भएपनि विगतमा केही सुझावहरू आउने गरेकोमा पछिल्लो समय भने लिखित गुनासा (उजुरी पेटिकामा) नआउने गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी विष्णुप्रसाद न्यौपानेले बताए । कार्यालयहरूमा राखिएका गुनासो पेटिकामा फाटफूट मात्र गुनासो संकलन हुने गरेको उनको भनाइ छ । प्रविधिको विकास भएसँगै सेवाग्राहीले अरु माध्यमबाटै आफ्ना गुनासा व्यक्त गर्दा गुनासो पेटिकाहरू खाली भएको न्यौपानले बताए । उनले भने, ‘एक–एक हप्तामा गुनासो पेटिका खोल्दा एउटा पनि गुनासो परेका हँुदैनन् । कहिलेकाहीँ महिनामा एक–दुईवटा मात्र गुनासो आउछन् ।’ जिल्ला प्रशासन कार्यालय सुर्खेतले इमेल, हेलो सरकारमार्फत आएका, टोल–फ्रि नम्वर र गुनासो व्यवस्थापन केन्द्रमा गरिएका गुनासोहरूको सम्बोधन गर्ने गरेको छ । केही गुनासो कार्यालयमै भेटेरै नागरिकले दिने गरेको उनले बताए ।
मालपोत कार्यालय सुर्खेतमा राखिएको गुनासो पेटिकामा अहिले गुनासो आउने क्रम लगभग बन्द नै भएको छ । सेवाग्राहीले सहज रूपमा सेवा पाइरहेकाले पछिल्लो समय उजुरी पेटिकामा गुनासो आउनेक्रम रोकिएको कार्यालयका सूचना अधिकारी गगनसिंह सोमाइले बताए । प्रक्रिया झन्झटिलो मान्दा गुनासो पेटिकाको प्रयोग कम भएको उनको बुझाइ छ । आजभोलि कार्यालयमा गुनासो सुन्ने सहज व्यवस्था गरिएकाले पनि गुनासो पेटिकामा गुनासो कम आउन गरेको उनले बताए । सोमाइले भने, ‘कार्यालयमा कामको चाप कमै छ । सेवाग्राहीले सहज रूपमा सेवा पाइरहनुभएको छ । लाइनमा बस्नुपर्ने, भिडफाडको अवस्था छैन ।’ धेरै जसो नागरिकले मौखिक रूपमै गुनासो राख्ने गरेको उनले बताए ।
वीरेन्द्रनगर नगरपालिकामा राखिएको उजुरी पेटिकामा नागरिकका गुनासोहरू कमै मात्रै आउने गरेका छन् । नगरपालिकाको भित्तामा झुण्ड्याइएको पेटिकामा महिनामा कहिलेकाही त एउटा पनि सुझाव पदैनन् । टेलिफोन, इमेल र कार्यालयमै भेटेर नागरिकले गुनासो राख्ने गरेको नगरपालिकाका सूचना अधिकारी उत्तमप्रसाद आचार्यले बताए । उनले भने, ‘नागरिकलाई उपलब्ध भएको सेवाबाटै गुनासो आउछ । ईन्टरनेटको विस्तार तथा सामाजिक सञ्जालहरूको बढी गुनासो आउने गरेको छ ।’
हरेक सरकारी कार्यालयहरूमा नागरिकहरूको गुनासो, उजुरी र सुझाव संकलनका लागि उजुरी पेटिकाको राख्ने गरिएको हुन्छ । कार्यालयको बाहिरी भित्तामा झुण्ड्याइएको उजुरी पेटिका प्रविधिको प्रयोगसँगै प्रयोग विहीन बनेका हुन ।
प्रकाशित मितिः २७ बैशाख २०८०, बुधबार ०५:०१
साझा बिसौनी ।