योजना छनोटमा नागरिक सहभागिता
नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दा स्थानीय तहहरू नयाँ योजना, कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा जुटेका छन् । आर्थिक वर्ष २०८०÷०८१ का का लागि योजना र बजेट तर्जुमा गर्न लागिएको हो । आम नागरिकबाट सुझाव संकलन गरेर स्थानीय तहको योजना छनोट प्रक्रिया सुरु भएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिकाले चैत्र १५ गतेदेखि योजना छनोटका काम सुरु गरेको हो । पालिकाले सबै वडाहरूमा योजनाहरू छनोट र प्राथमिकीरणको काम धमाधम गरिरहेको छ । वडाहरूमा कस्ता योजना आवश्यक छन्, कस्तो र कति रकमको योजना बनाउने भनेर टोल–टोलमा नागरिक भेलामार्फत् छलफल गर्ने गरिएको छ । वडाका योजना छनोट गर्न टोल–टोलमा पुग्ने गरिएको हो । नागरिकले विकास निर्माणका बाटो, खानेपानी, विद्युतजस्ता योजनालाई प्राथमिकताका साथ उठाएका छन् । आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता सवाल टोल भेलाबाट आएका छन् । लक्षितवर्ग विशेष कार्यक्रम समावेश गर्नुपर्ने मागसमेत आइरहेको छ । जुम्लाको पातारासी गाउँपालिकाले पनि चैत दोस्रो सातादेखि बस्तीस्तरको योजना छनोट प्रक्रिया सुरु गरेको छ । पालिकाका सबै वडामा वडा अध्यक्ष र सदस्यहरूले टोल भेलामार्फत योजना छनोट गरिरहेका छन् । अहिले प्रत्येक समुदायमा पुगेर नागरिकका समस्या, आवश्यकताका आधारमा योजनाको प्राथमिकरण भइरहेको छ । वडाका प्रतिनिधि दैनिक रूपमा यसै काममा लागिरहेका छन् । दैलेखको नारायण नगरपालिकाले मंगलवारदेखि बस्तीस्तरको योजना छनोट सुरु गरेको छ । पालिकाले बजेटको सिलिङ वडा तहमा पठाइसकेको छ । नागरिकका आवश्यकताका आधारमा योजना छनोट हुने जनाइएको छ । त्यसका लागि बस्ती–बस्तीमा पुगेर आवश्यकताका आधारमा छनोट गर्न भनिएको छ । यी त केही उदाहरण हुन्, यतिबेला कर्णालीका सबैजसो पालिकाहरू योजना छनोटमा जुटेका छन् ।
स्थानीय स्तरबाट योजना छनोट गर्नु नागरिकप्रति सरकार उत्तरदायि हुनु हो । टोलस्तरबाटको छलफलबाट छानिएका योजनाहरू नागरिकको हितमा हुन्छन् । किनभने नागरिक आफैले आफ्ना लागी योजना सिफारिस गर्दछन् । नागरिकको अपनत्व हुनेगरी योजना छनोटको प्रक्रियाले सरकार र नागरिकलाई जोड्नसमेत मद्दत गर्दछ । पालिकाहरूले टोल विकास संस्थाहरूको भेला, वडा भेलाबाट आएका सिफारिस स्थानीय तहका विषयगत समितिबाट योजनाहरू पारित गरेर कार्यान्वयनका लागि लैजाने गर्दछन् । स्थानीय समुदायमा दक्ष, प्रभावकारी र उत्तरदायी तरीकाले सार्वजनिक सेवाहरू पु¥याउने, सामाजिक र आर्थिक विकास गतिविधिहरू सञ्चालन गर्ने र स्थानीय तहहरूलाई आवश्यक पर्ने नीति निर्माण र विकास निर्माण कार्यमा स्थानीय जनताहरूलाई सहभागी गराई विकासको प्रतिफल तिनै जनताहरूले सजिलै उपभोग गराउन यसरी योजना छनोट विधि प्रभावकारी हुन सक्दछ ।
प्रकाशित मितिः ७ बैशाख २०८०, बिहीबार ०५:०३
सम्पादकीय ।