सरकारमा सहभागी हुँदै कांग्रेसः तीनमन्त्रीको नाम टुँगो

सुर्खेत: कर्णाली प्रदेश सरकारले पूर्णता पाउने भएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुँगो लगाएसँगै मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । बुधवार सरकार विस्तार गर्ने तयारी छ ।
नेपाली कांग्रेसले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुँगो लगाएर मंगलवार नै मुख्यमन्त्री राजकुमार शर्मालाई सिफारिस गरिसकेको छ । बुधवार उनीहरूलाई मुख्यमन्त्रीले मन्त्री नियुक्त गने र शपथ ग्रहण गराउने तयारी गरिएको छ ।
कांग्रेसले मन्त्रीका लागि सुर्खेतबाट निर्वाचित खड्कबहादुर पोखरेललाई सिफारिस गरेको छ । उनी यसअघि प्रदेश सभाको सभामुखका उम्मेदवार बनेका थिए । तर नेकपा (एमाले)का उम्मेदवार नन्दा गुरुङसँग पराजित भएका थिए । पोखरेल नेपाली कांग्रेस सुर्खेतको सभापति पनि हुन् ।
त्यसैगरी जाजरकोटबाट निर्वाचित बेदराज सिंह र दैलेखबाट निर्वाचित कृष्णकुमार बिसीलाई पनि मन्त्रीका लागि सिफारिस गरिएको छ । पोखरेल सामाजिक विकास मन्त्री, सिंहलाई आर्थिक मामिला तथा योजनामन्त्री र बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाउने तयारी छ ।
नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि कांग्रेस सरकारमा सहभागी हुन लागेको हो । कर्णालीमा अहिले माओवादी केन्द्र नेतृत्वको सरकार छ । नयाँ सत्ता गठबन्धनमा पनि कांग्रेस र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ । यसअघि माओवादी र एमालेबीच पनि आधा कार्यकाल नेतृत्व भागबन्डाको सहमति भएको थियो ।
एमाले सरकारबाट बाहिरिँदै समर्थन समेत फिर्ता लिइसकेको छ । मुख्यमन्त्री राजकुमार शर्माले अब तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ । यसअघि पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिँदा उनले दोस्रो पटक विश्वासको मत लिएका थिए । कांग्रेसलाई सरकारमा सहभागी गराएर विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शर्मा छन् ।
प्रकाशित मितिः ६ बैशाख २०८०, बुधबार ०५:०१
साझा बिसौनी ।