झन्झटिलो प्रक्रियाले अंश नलिएरै सम्बन्ध विच्छेद

सुर्खेत: गुर्भाकोट नगरपालिका ९ की सविता थापा (नाम परिवर्तित) सम्बन्ध विच्छेदका लागि २०७८ भदौमा जिल्ला अदातल सुर्खेतमा पुगिन् । अंशसहित सम्बन्ध विच्छेद गर्ने सोच बनाएर अदालतसम्म पुगेकी थापाले ‘अंश तथा खानाखर्च दिलाई सम्बन्ध विच्छेद गरीपाउँ’ भनी मुद्दा दर्ता गरिन् । सम्बन्ध विच्छेदपछि श्रीमान्को सम्पत्तिको आधा हिस्सामा हक हुने कानुनी व्यवस्थाअनुसार उनले पनि अंशमा दाबी गरेकी थिइन् । तर अदालती प्रक्रिया झेल्दै जाँदा उनलाई अंशभन्दा छिटो सम्बन्ध विच्छेद गर्नुथियो । उनी आफ्नो निर्णयबाट पछि हटिन् । अन्ततः थापाले अंश तथा खानाखर्च नलिने र सम्बन्ध विच्छेद मात्रै गर्ने निर्णयमा पुगिन् । प्रक्रिया झन्झटिलो र साथ दिने कोही नहुँदा अंश बिनै सम्बन्ध विच्छेद गरेको सविता बताउँछिन् । ‘प्रक्रिया झन्झटिलो हुने, विभिन्न किसिसका धम्की आउने, बरु छिटो सम्बन्ध विच्छेद गरेर स्वतन्त्र रूपमा बाँच्न निर्णयबाटै पछि हटेँ’ उनले भनिन्, ‘मुद्दा दर्ता भएको दुई महिनापछि फैसला भयो । लामो प्रक्रियामा जानुभन्दा बेलैमा सम्बन्ध विच्छेद गरेर छुटिन उपयुक्त लाग्यो ।’
आर्थिक अवस्था कमजोर, अदालती प्रक्रिया लामो र समाजमा अपहेलित हुने डरले समयमै सम्बन्ध विच्छेद गरेको सविताको भनाइ छ । उनी भन्छिन्, ‘सम्बन्ध विच्छेदसँगै अंश पाउन झन्डै एक दर्जन प्रक्रिया पूरा गर्नुपर्छ । आर्थिक अवस्था कमजोर थियो, अंशको लफडाले दुःख मात्र पाइन्छ, छिटो टुँगो पनि लाग्दैन । आफू असुरक्षित हुने डरले अंशविना नै सम्बन्ध विच्छेद गर्नु ठीक ठानेँ ।’
यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ की राजु विक (नाम परिवर्तित) पनि सम्बन्धविच्छेदसँगै अंश मुद्दाको अदालती प्रक्रिया निकै लामो हुने गरेको बताउँछिन् । उनले अंश र खाना खर्च पाउँ भनि अदालतमा मुद्दा दर्ता गरेको २६ महिना भयो । अदालती प्रक्रिया निकै लामो भएको उनले सुनाइन् । ‘विभिन्न चरण पार गर्नुपर्दा निकै समस्या हुन्छ । अब त मुद्दा फिर्ता लिउँजस्तो लाग्न थालिसक्यो’ उनले भनिन्, ‘सुर्खेत अदालतमा मुद्दा दर्ता भएको तीन वर्ष पुग्न थाल्यो, न्याय कहिले पाइन्छ ? प्रक्रिया पु¥याएर अंश लिन निकै गाह्रो छ ।’
सम्बन्ध विच्छेदपछि श्रीमान्को सम्पत्तिको आधा हिस्सामा हक हुने कानुनी व्यवस्था भएपनि लामो प्रक्रिया भएकाले सविता र राजुजस्तै अन्य अधिकांश महिलाहरू पनि अंश दाबी गदैनन् । जिल्ला अदालत सुर्खेतमा परेका अधिकांश अंशसहितका सम्बन्ध विच्छेदका मुद्दामा फैसला हुदाँसम्म धेरैले अंश लिदैनन् । प्रक्रिया लामो हुँदा महिलाहरूले अंशविनै सम्बन्ध विच्छेद गर्ने गरेका छन् ।
सम्बन्ध विच्छेदसँगै अंश पाउन झन्डै एक वर्षसम्मको समय लाग्छ । त्यसका लागि एक दर्जन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । आफ्नो पतिको भाग कति हो, त्योसहित अंशियार संख्या खुलाउनुपर्ने, अन्य परिवारका सदस्यलाई पनि प्रतिवादी बनाउनुपर्ने, परिवारका सबै सदस्यलाई अदालतमा झिकाउनुपर्ने, बयान गराउनुपर्ने, के कति सम्पत्ति छ ? भनेर सम्पत्तिको फाँटवारी मगाउनुपर्ने, सम्पत्ति विवरण सुनाउन दुवै पक्षलाई तारिख दिनुपर्ने, त्यसमा पनि कतिपयले चित्त बुझेन भनेर मुद्दा हाल्न पाउने कानुनी व्यवस्था छ । यी सबै प्रक्रियामा जान समस्य लाग्ने हुनाले पनि महिलाहरू अंश नलिएर सम्बन्धविच्छेद गर्ने गर्दछन् । अंशसहित सम्बन्ध विच्छेद गर्ने महिलाहरूको संख्या न्यून हुने गरेको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार ठाकुरप्रसाद पौडेलले बताए । उनले भने, ‘कसैले अंशसहितको सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरिसके पछि गएर अंश लिँदैनन् । कसैले सुरुमा नै अंश दाबी गर्दैनन् ।’
अंश लिनेहरूको संख्या धेरै नभएपनि सम्बन्धविच्छेद गर्नेहरूको संख्या भने बढेको छ । श्रेस्तेदार पौडेलका अनुसार अन्तरजातीय विवाह, वैदेशिक रोजगार, पारिवारिक झै–झगडा यौनदुरव्यवहार लगायत धेरै समस्या देखाउँदै सम्बन्ध विच्छेद गर्नेको संख्या सुर्खेतमा बढेको छ । जिल्ला अदालत सुर्खेतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷०८० मा सम्बन्ध विच्छेदका चार सय २४ मुद्दा दर्ता भएका छन् । यो वर्ष सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको पौडेलले बताए ।
आर्थिक वर्षको नौ महिनामा चार सय २४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भइसकेका छन् । आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहेकाले गत वर्षको तुलनामा संख्या बढ्ने देखिन्छ । अदालतको तथ्याङ्कअनुसार सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउनेमा महिलाको संख्या बढेको छ । चालु आर्थिक वर्षमा दर्ता भएका चार सय २४ वटा मुद्दामध्ये तीन सय २२ मुद्दा महिलाले दर्ता गराएको श्रेस्तेदार पौडेलले बताए । जसमध्ये एक सय ८० फछ्र्याैट भएका छन् भने एक सय ४२ मुद्दा फछ्र्याैट हुन बाँकी छन् । यसैगरी खानाखर्च सहित सम्बन्ध विच्छेदका चार वटा मुद्दा दर्ता भएकोमा एउटा फछ्र्यौट भएको छ तीन बाँकी रहेका छन् । अदालतमा अंश, खानाखर्च सहितका ६० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १७ फछ्र्याैट भए भने ४३ बाँकी रहेका छन् ।
प्रकाशित मितिः ३० चैत्र २०७९, बिहीबार ०५:०५
रजनी याेगी ।