राजधानीको लागि पूर्वाधार निर्माण गर्ने वीरेन्द्रनगरको योजना

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले प्रादेशिक राजधानीलाई आधार हुने गरी भौतिक निर्माणलाई प्राथमिकता दिन थालेको छ । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रूपमा चर्चा भएसँगै नगरपालिकाले सोही अनुकूलका विकास योजनाहरू तय गरेको हो । नगरपालिकाले यो वर्षको परिषद्बबाट समेत प्रादेशिक राजधानीलाई आधार हुनेगरी भौतिक पूर्वाधार निर्माणका योजना तथा नीतिहरू पारित गरेको हो ।

हालसम्म मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम रहेको र अब पनि प्रदेशको राजधानी बनाउने प्रमुख दलहरूको घोषणापछि नगरपालिकाले सोही अनुसारका विकास योजनाहरू छनौट गरेको हो । नगरपालिकाले वीरेन्द्रनगरलाई प्रादेशिक राजधानी बनाउनका लागि भौतिक पूर्वाधारमा जोड दिएको छ । जसअन्तर्गत नगरक्षेत्रका सडक विस्तार, बजार व्यवस्थापन, सीटी बसपार्क र उपत्यकामा चक्रपथ निर्माण, बजार क्षेत्रमा सीसी क्यामेरा र सोलार बत्ती जडान, फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्डसाइट निर्माण र दमकल खरिद गर्ने योजनालाई प्राथमिकता दिइएको छ । वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत विमलराज आचार्यले नगर परिषद्बाटै आफूहरूले प्रादेशिक राजधानी अनुकूलका योजनाहरू अगाडि सारेको बताए ।

‘अब प्रादेशिक राजधानीका लागि वीरेन्द्रनगरको विकल्प छैन, त्यसैलाई आधार मानेर हामीले विकास योजना निर्माण गरेका छौं’ कार्यकारी अधिकृत आचार्यले भने, ‘भोलि पछुताउनु भन्दा, आजैदेखि हामीले काम थालेका हौं । वीरेन्द्रनगरलाई भौतिक रूपमा सम्पन्न र नीतिगत रूपमासमेत राजधानीको लागि आवश्यक आधार खडा गर्दैछौं, अब सोही अनुसार नै भौतिक निर्माणलाई तीव्रता दिनेछौं ।’ उनका अनुसार नगरपरिषद्ले पनि वीरेन्द्रनगरलाई प्रदेश ६ को राजधानीका लागि आधार तयार पार्ने गरी विकास योजनाहरू सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले प्रादेशिक राजधानीका लागि आधार तयार पार्न वीरेन्द्रनगरमा भवन निर्माण संहिताको कार्यान्वयन र जमिन खण्डीकरण रोक्न कडाइ गर्ने, नगरको सम्पूर्ण क्षेत्रमा सीसी क्यामेरा र सोलार जडान गर्ने, एउटा घर बनाउँदा दुई वटा बिरुवा अनिवार्य रोप्नुपर्ने, चक्रपथ निर्माणलाई प्राथमिकता दिने र तत्काल सिटी बसपार्क सञ्चालन गर्ने योजना पारित गरेको छ ।

यस्तै वीरेन्द्रनगरलाई हरित नगरका रूपमा विकास गरिनेछ । त्यसका लागि एउटा नयाँ घर बनाउँदा दुई वटा बिरुवा अनिवार्य रोप्नुपर्ने, सडक छेउमा वृक्षारोपण गर्ने र नगर क्षेत्रलाई कुखुराको भुत्लामुक्त सहरको रूपमा विकास गरिनेछ । प्लाष्टिकमुक्त नगर बनाउन र ढल व्यवस्थापनका लागिसमेत अभियान सञ्चालन गरिनेछ । केही समयमा नै वीरेन्द्रनगरलाई बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेको कार्यालयका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । शुक्रवार सम्पन्न नगरपरिषद्ले वीरेन्द्रनगरलाई नै प्रदेशको राजधानी बनाउनुपर्ने, आगामी आर्थिक वर्षलाई सडक मर्मत वर्षको रूपमा मनाउने र नगरका सबै सडकहरू मर्मत गर्ने, वीरेन्द्रनगरको विशेष गुरुयोजना बनाउने, भू–खण्डीकरणलाई रोक्ने, सरसफाइ अभियान सञ्चालन गर्ने र चक्रपथको चौडाइ ५० मिटर कायम गर्न मुआब्जाका लागि सरकारसँग आग्रह गर्ने लगायतका विकास योजनाहरू पारित गरेको हो । यस्तै परिषद्ले आगामी आर्थिक वर्षका लागि ३० करोड १३ लाख २७ हजार रूपैयाँ बराबरको बजेट पनि पारित गरेको छ ।

यस्तै नगरपरिषद्ले नगरमा ५० जना भन्दा बढीलाई रोजगारी दिने व्यवसायी तथा कम्पनीलाई सम्मान गर्ने, अपाङ्गद्वारा सञ्चालित उद्यमको व्यवसाय करमा २० र महिलाले सञ्चालन गरेको व्यवसायमा १० प्रतिशत व्यवसाय करमा छुट दिने निर्णय गरेको छ । हटिया क्षेत्रमा सार्वजनिक–निजी साझेदारीमा सपिङ कम्प्लेक्स निर्माणका लागि सम्भाव्यता अध्ययन गरिनेछ । परिषद्को उद्घाटन गर्दै गरिबी निवारण तथा सहकारीमन्त्री हृदयराम थानीले वीरेन्द्रनगरलाई नमुना सहरको रूपमा विकास गर्न सरकारले सहयोग गर्ने बताए ।

साथै उनले भौतिक विकास र व्यवस्थित सहर निर्माणमा जुट्न आग्रह गरे । यस्तै पूर्वमन्त्री यामलाल कँडेलले प्रादेशिक राजधानीको रूपमा वीरेन्द्रनगरलाई विकास गरिनुपर्ने बताए । त्यसका लागि नगरपालिकाले अगाडि सारेका योजनाहरू कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा पूर्वमेयर बालाराम शर्मा, प्रमुख जिल्ला अधिकारी माहादेव पन्थ, स्थानीय विकास अधिकारी अमृत लम्साल, उद्योग वाणिज्य संघका महासचिव गोपालकृष्ण गिरी र जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   १ माघ २०७३, शनिबार ००:५२