मौलिक हक कार्यान्वयन गर्न माग
सुर्खेत: संविधानमा उल्लेख भएका मौलिक हकरूको कार्यान्वयन गर्न माग गर्दै प्रदेशस्तरीय मानव अधिकार समूहले कृषिमन्त्री भिमप्रकाश शर्मालाई ज्ञापनपत्र बुझाएको छ । शुक्रवार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाएको हो ।
नागरिकहरू राज्यका सेवाबाट वञ्चित हुनु परिरहेको समूहका अध्यक्ष पदम सार्कीले बताए । उनले संविधानमा सबै प्रकारका सेवा पाउने प्रावधान राखिएको भएता पनि त्यसको व्यावहारिक कार्यान्वयनमा सरकार सक्रिय नभएकाले ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएको जनाए । समयमै अनुदानमा कृषि सामग्री, मल, बीऊ उपलब्ध गराउन, गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरणमा रोक लगाउन, जैविक मलको प्रयोग तथा उत्पादनलाई जोड दिन, रैथाने बाली उत्पादनलाई प्रोहोत्साहन गर्न समूहले माग गरेको छ ।
यसैगरी युवा लक्षित कृषि नीति निमार्ण गर्न, कृषि सामग्री प्रयोगका लागि तालिमको व्यवस्थापन गर्न, माटो परीक्षण गरी कृषि उत्पादकत्व बढाउने नीति अवलम्बन गर्न, वन्युजन्तुबाट हुने अन्नबालीको क्षतिलाई रोकथाम गर्न तथा अर्गानिक प्रदेश घोषणलाई यथाशीघ्र कार्यान्वयनको माग राखिएको छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले माग जायज भएको बताए । कृषकको सहूलियतका लागि अनुदानका कार्यक्रम राखिएको बताउँदै उनले कार्यान्वयनमा ध्यान दिने जनाए ।
प्रकाशित मितिः २५ चैत्र २०७९, शनिबार ०५:०१
साझा बिसौनी ।