तीन दशकपछि जहाज उडाउने तयारी

सुर्खेत: कालीकोटस्थित सुनथराली विमानस्थल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख १ गते परीक्षण उडान गरेर विमानस्थल सञ्चालनमा ल्याउने तयारी थालिएको हो । यसअघि २०७३ माघ २९ गते पहिलो पटक उक्त विमानस्थलमा जहाज परीक्षण उडान गरिएको थियो । परीक्षण गरिए पनि नियमित उडान हुन भने सकेन । दोस्रो पटक परीक्षण गरेर नियमित सञ्चालनको तयारी गरिएको हो ।
जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा २०४२ सालदेखि विमानस्थल निर्माणको योजना अघि बढेको थियो । स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम सुरु गरिएको हो । त्यसको ६ वर्षपछि २०४८ मा मात्रै सरकारले सुनथराली विमानस्थललाई आफ्नो योजनामा राखेर बजेट विनियोजन गरेको थियो । सरकारको योजनामा परेपनि निर्माणको काम भने नियमित हुन सकेन । बिचमा द्वन्द्वका कारण पनि विमानस्थल निर्माण कार्य अवरुद्ध भयो भने द्वन्द्वपछि पनि बिचमै अलपत्र छोड्दा लामो समयसम्म विमानस्थल सञ्चालन हुन नसकेको हो ।
३७ वर्षपछि विमानस्थलका लागि पूर्वाधार तयार भएको छ । गएको माघ ११ गते विमानस्थलको मुख्य काम सकिएको विमानस्थल निर्माणमा खटिएका आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार ६ सय ४० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको धावनमार्ग तयार गरिएको छ । त्यसैगरी पाँच सय २५ वर्गमिटरमा धावनमार्गको टर्निङ प्याड निर्माण गरिएको श्रेष्ठले जनाए । यस्तै ट्याक्सीवेको लम्बाई २५ मिटर र चौडाई २० मिटर छ । ७० मिटर लम्बाई र ३० मिटर चौडाइमा विमानको पार्किङ क्षेत्र बनाइएको छ । विमानस्थलमा दुवै तर्फबाट जहाज अवतरण गर्न सक्नेगरी निर्माण गरिएको हो । यो सबै १४ करोड ९३ लाख पाँच हजार दुई सय ३० रूपैयाँ लागतमा निर्माण गरिएको हो ।
अधिकांश पूर्वाधार तयार भइसकेकाले अब भने व्यावसायिक रूपमा जहाज उडानका लागि परीक्षण गर्न लागिएको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । ‘आपतकालीन अवस्थामा कहिलेकाँही विमानस्थल प्रयोगमा आउने गरे पनि हालसम्म नियमित र व्यावसायिक उडान भएको थिएन,’ बिष्टले भने, ‘अहिले विमानस्थल कालोपत्रेको काम सकिएको छ, वैशाख १ गते परीक्षण उडान सुरु हुन्छ ।’
सुनथरालीमा अहिले उडानपूर्वका तयारी भइरहेको छ । त्यसका लागि आवश्यक भौतिक संरचना निर्माण हुँदैछन् । कार्यालय र टावर निर्माणको काम सकिएको छ भने अन्य उपकरण जोड्ने काम भइरहेको अध्यक्ष विष्टले जानकारी दिए । परीक्षण उडानपछिको अध्ययनका आधारमा निरन्तर उडानका लागि पहल गर्नेगरी तयारी थालिएको उनले जनाए । विमानस्थल सञ्चालनमा आएपछि नागरिकलाई यातायातका लागि सहज हुनुका साथै जिल्लाको पर्यटकीय विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । कालीकोट र आसपासका क्षेत्रमा रहेका रामारोशन, त्रिवेणी पाटन, बडिमालिकाजस्ता पर्यटकीय स्थलको प्रवद्र्धनमा सहयोग पुग्ने विष्ट बताउँछन् । व्यापार, व्यवसाय, पर्यटन प्रवद्र्धन, पहुँचका हिसाबले राज्यसँग प्रत्यक्ष जोडिन हवाई गन्तव्यको रूपमा सुनथरालीलाई हेरिएको उनको भनाइ छ । ‘जटिल प्रकारका बिरामीलाई १२ घण्टाको कष्टपूर्ण यात्रा गरेर उपचार गर्न नेपालगञ्ज जानुपर्ने बाध्यता छ’ विष्टले भने, ‘हवाईमार्गमा जोडिए ३० मिनेटमा जटिल रोगका बिरामीले समेत समयमै उपचार पाउने अपेक्षा राखिएको छ ।’
कालिकोटबाट निर्वाचित प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले परीक्षण उडानको तयारी सँगसँगै उडान निरन्तरताका लागि पहल भइरहेको बताए । संघीय पर्यटनमन्त्री सुदन किरातीसँग वैशाख १ गते परीक्षण उडान गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए । विष्टले भने, ‘बिचमा काम सुरु हुँदै रोकिँदै गयो । झन्डै ४० वर्ष लागेर निर्माण सम्पन्न भयो ।’ परीक्षण उडानपछि निरन्तर उडान गरिने उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य एवम् कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुनथराली विमानस्थलमा नियमित उडानका लागि पहल भइरहेको बताए । उनले भने, ‘यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल जारी छ ।’ उनले परीक्षण उडानलगत्तै नियमित उडान गरिने दाबी गरे ।
प्रकाशित मितिः २४ चैत्र २०७९, शुक्रबार ०५:०५
साझा बिसौनी ।