पुल निर्माण अलपत्र

सुर्खेत: जाजरकोट, डोल्पा र रुकुमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागिएको पुल अलपत्र परेको छ । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले बनाउन लागेको उक्त पुल निर्माणकार्य साढे दुई वर्षदेखि अलपत्र परेको हो । क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्ट्रक्सनलाई ठेक्का बेचेपछि पुल निर्माणको काम अलपत्र परेको बताइएको छ । भेरी करिडोरको बीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडकसमेत निर्माण हुन मुश्किल भएको छ । भेरी नदीमा एक सय मिटर लामो पक्की पुल लामो समयदेखि काम नगर्दा समस्या हुँदै आएको छ ।

तीन जिल्लाको संगम स्थल रहेको त्रिवेणीमा अहिले ठेक्का खरिद गरेको रेट्रो ट्रेक कन्ट्रक्सनले समेत काम नगर्दा पुल निर्माण कार्य पछि धकेलिएको छ । १५ करोड रूपैयाँमा उक्त पुल निर्माण गर्ने भन्दै कम्पनीले साढे दुइ वर्ष अघि ठेक्का खोलेको थियो । क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्ट्रक्सनले कहिले बर्खा र कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेपछि दैनिक समस्या देखिएको छ । निर्माणको जिम्मा पाएका कन्ट्रक्सनहरूले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेपछि १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यसमेत मा समेत बाधा पुग्ने देखिएको छ । हाइड्रोपावरसँग मुआब्जाका विषयमा बारम्बार कुरा गर्दा पनि नपाएको गुनासो जग्गाधनीहरूको छ ।

हाइड्रोपावर कम्पनीले हजारौँ टन वजन भएका निर्माण सामाग्रीहरू आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा टेन्डर खुलाएको थियो । रेट्रो ट्रेक कन्ट्रक्सनका प्रोपराइटर बादल बुढाले पुलको बेस बनाउने तथा सामाग्रीहरू जम्मा गर्ने काम सुरु भएपनि जग्गा विवादले समस्या आइरहेको जनाए । पुल समयमै नबन्दा आयोजनाको निर्माण कार्य नै प्रभावित भएको भन्दै डोल्पाका सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । जगदुल्ला हाइड्रोपावर कम्पनीले पुल निर्माणमा ढिलासुस्ती गरे कारबाही गर्ने चेतावनी दिएको तीन वर्ष पुग्न लाग्दा पनि कुनै कारबाही गरेको छैन । जगदुल्ला हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख सञ्जय सापकोटाले भने पुल निर्माणमा तदारुकता नदेखाए कारबाही गर्ने बताए ।

प्रकाशित मितिः   २० माघ २०७९, शुक्रबार ०५:०१