पुसदेखि ठूलो जहाजको नियमित उडान
एटीआर–७२ मा काठमाडौं–सुर्खेतको न्यूनतम् भाडादर सात हजारबाट सुरु हुनेछ । पुस १ गतेदेखि नियमित बिहान १० बजे काठमाडौंबाट सुर्खेत र ११ः ३५ बजे सुर्खेतदेखि काठमाडौं उडान गरिनेछ ।
सुर्खेत: निजी वायु सेवा कम्पनी बुद्ध एयरले आउँदो पुस १ गतेदेखि काठमाडौं–सुर्खेत रुटमा एटीआर–७२ जहाजमार्फत नियमित उडान सेवा दिने भएको छ । ठूलो क्षमताको जहाजको परीक्षण उडान सफल भएपछि बुद्धले नियमित उडानको तयारी गरेको हो । डिसेम्बर १६, २०२२ देखि बुद्धले ७२ सीटे जहाजबाट नियमित उठान गर्ने भएको नागरिक उड्डयन प्राधिकरण, सुर्खेत विमानस्थलका निमित्त प्रमुुख प्रतिष्ठा आचार्यले जानकारी दिइन् । ‘टेष्ट ल्यान्डिङ सफल भएसँगैै अन्य प्रक्रिया पूरा गरेर एटीआर–७२ मार्फत बुुद्ध एयरले उडानका लागि स्वीकृती पाइसकेको छ,’ उनले भनिन् ।
बुद्ध एयरले यस गन्तव्यमा हाल एटीआर–४२ जहाजबाट दैनिक एक उडान भर्दै आएको छ । यात्रुहरूको बढ्दो माग र सुविधाका लागि यो रुटमा एटीआर–७२ जहाजबाट पनि उडान सेवा दिन लागिएको हो । अहिले दैनिक एउटा र त्यो पनि कम सीट क्षमताका कारण यहाँका धेरैजसो यात्रुहरू नेपालगञ्ज गएर जहाज चढ्नुपर्ने बाध्यता छ । काठमाडौं–सुर्खेत हवाइ भाडासमेत निकै महँगो छ । ठूलो क्षमताको जहाजले सेवा दिन थालेपछि यात्रुहरूलाई सहज हुने र भाडा पनि कम पर्ने बुद्ध एयरको दाबी छ । उक्त हवाइ कम्पनीद्वारा जारी विज्ञप्तीअनुसार एटीआर–७२ मा काठमाडौं–सुर्खेतको न्यूनतम् भाडादर सात हजारबाट सुरु हुनेछ । पुस १ गतेदेखि नियमित बिहान १० बजे काठमाडौंबाट सुर्खेत र
११ः ३५ बजे सुर्खेतदेखि काठमाडौं उडान गरिनेछ ।
यात्रुहरूको चाप र मागअनुसार दैनिक दुई उडानसम्म भर्न सकिने जनाइएको छ । हाल सञ्चालनमा रहेको ४२ सीटे जहाजबाट यात्रुहरूको माग अनुरूप सीट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै ठूलो क्षमताको जहाजको उडान सञ्चालन गर्न लागिएको बताइएको छ । सानो जहाजको सञ्चालन खर्च उच्च हुने हुँदा त्यसको प्रत्यक्ष असर भाडादरमा पर्ने गरेको बुद्ध एयरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यहाँका यात्रुहरूले हाल काठमाडौं–सुर्खेत रुटमा चर्को भाडा तिर्दै आएका छन् । भाडादरका कारण अधिकांश यात्रु नेपालगञ्ज भएर काठमाडौं जाने गर्छन् । एउटै कम्पनीका दुुई वटा जहाज भएकाले ठूलो क्षमताको जहाजको उडानमा पनि भाडादर भने अपेक्षित रूपपमा कम हुुने सम्भावना न्यून रहेको जानकारहरू बताउँछन् । अन्य प्रतिस्पर्धी कम्पनीले सेवा नदिएसम्म बुद्ध एयरको एकाधिकारका कारण भाडादर घट्नेमा आशंका गर्न थालिएको हो ।
सुर्खेत विमानस्थल कार्यालयका अनुसार अब यही हाराहारी सीट क्षमताका अन्य कम्पनीका ठूला जहाज सञ्चालन गर्न चाहेमा परीक्षण उडान गर्नुपर्ने छैन । सोही क्षमताका अन्य कम्पनीका विमानले उडान भर्न चाहेमा बाटो खुुल्ला भएको सुर्खेत विमानस्थलका निमित्त प्रमुख आचार्यको भनाइ छ । केही दिनमा ठूलो क्षमताको जहाजले काठमाडौं–सुर्खेत नियमित उडान भर्ने निश्चित भएपछि सुर्खेत उद्योग वाणिज्य संघलगायतका निजी क्षेत्रहरूले त्यसको स्वागत गरेको छन् ।
प्रकाशित मितिः २२ मंसिर २०७९, बिहीबार ०५:०१
साझा बिसौनी ।