बालविवाहका कारण हिंसाको जोखिम

कालीकाेट: कालीकोटमा बालविवाह नै महिला हिंसाको प्रमुख कारक रहेको पाइएको छ । गएका झन्डै पाँच महिनामा मात्रै जिल्लामा महिला हिंसाका २१ वटा उजुरी प्रहरीमा दर्ता भएका छन् । तीमध्ये अधिकांश हिंसाका घटना बालविवाहका कारण भएको पाइएको हो । विगतको जस्तो १२/१५ वर्षमै विवाह गर्ने दरमा कमी आए पनि २० वर्ष नपुग्दै विवाह गर्ने दर भने अझै उच्च छ । कालीकोटमा अहिले पनि करिब ६२ प्रतिशत बालविवाह हुने गरेको छ । उमेर नपुगी विहे गर्नेमा ८० प्रतिशत बालिका रहेको जिल्ला समन्वय समितिले गत वर्ष गरेको अध्ययनले देखाएको छ । समितिका अनुसार जिल्लाका पाँच वटा स्थानीय तह शुभकालिका, नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट र तिलागुफामा गरिएको सर्वेअनुसार बालविवाह दलित समुदायमा बढी हुने गरेको पाइएको छ ।

पहिलेजस्तो घरपरिवारले मागेर बाजागाजा बजाएर बालविवाह गर्नेको संख्या न्यून भएपनि कालीकोटमा बालखैमा भागि विवाह गर्ने प्रचलन ब्याप्त छ । यहाँ आफंै भागेर ९२ प्रतिशत विवाह हुने गरेको बालअधिकार र बाल संरक्षणको क्षेत्रमा क्रियाशील अधिकारकर्मी बाले विश्वकर्मा बताउँछन् । उनका अनुसार बालविवाहलाई समाजले अपराधका रूपमा नलिएर परम्परा र चलनको रूपमा स्वीकार गरेकाले न्यूनीकरणमा निकै चुनौती छ । महिला हिंसा र बालबालिकामाथिका अपराध प्रहरीले गम्भीरतापूर्वक लिएर पीडितलाई न्याय दिलाउन सहयोग गर्ने गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले जनाए । ‘महिला र बालबालिकामाथिका अपराधमा प्रहरीले कसैलाई छुट दिँदैन,’ उनी भन्छन्, ‘अहिले हिंसाका सामान्य घटनामा सम्झाइबुझाइ गरे पनि महिला हिंसा र जबरजस्ती करणीका घटना प्रक्रियामा गएका छन् ।’

चेतनाको अभाव र गरिबीजस्ता समस्याले कालीकोटमा सामाजिक विभेदसमेत हट्न सकेको छैन । खाडाचक्र नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख रिता चौलागाईं पाण्डेले सामाजिक विभेदको अवस्था अहिले पनि विकराल रहेको बताइन् । उनका अनुसार लैङ्गिक हिंसा कम गर्न नगरपालिकाले यस वर्ष विभिन्न अभियान सञ्चालन गरेको छ । तर, हालसम्म सञ्चालन गरिएका अभियान निरर्थक बनेका छन् । ‘हामी दिउँसो अभियान सञ्चालन गर्छौं,’ उनले भनिन्, ‘साँझ मदिरा सेवन गरेर दैनिकजसो घरेलु हिंसा गर्ने प्रवृत्ति बढिरहेको छ ।’ नयाँ पुस्तामा लैङ्गिक तथा जातीय विभेद, महिनावारी स्वच्छता, परम्परागत रुढिवादी चलनलगायतमा कमी आए पनि पुरानो पुस्तामा उस्तै व्यवहार कायमै रहेको उनी बताउँछिन् । कालीकोटका गाउँगाउँमा छोरा जन्मिदैदेखि विभेद झल्किने गरी सकीनसकी खर्च गर्ने चलनले छोराछोरीबीचको विभेदसमेत चर्को छ । जति छोरी जन्मिए पनि छोरा नजन्मिँदासम्म परिवार नियोजनका स्थायी वा अस्थायी साधन प्रयोग नगर्ने, दोस्रो विवाह गर्ने चलनमा केही कमी भएपनि अझै हट्न सकेको छैन ।

खाडाचक्र नगरसभाले दुई वर्ष छोराछोरीबीचको विभेद कम गर्न दुई छोरी मात्र जन्माएर स्थायी रूपमा परिवार नियोजन गर्ने दम्पतीलाई एक लाख रूपैयाँ पुरस्कार दिने नीति ल्यायो । आफ्नो कार्यकालमा कोही पनि पुरस्कार दाबी गर्न नआएको नगरपालिकाकी पूर्वउपप्रमुख विजया विष्टले बताइन् । लैङ्गिक विभेद कम गर्न छोरीको शिक्षामा जोड दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   १७ मंसिर २०७९, शनिबार ०८:४८