खेर गए सात प्रतिशत मत

सुर्खेत: कर्णाली प्रदेशमा यसपालिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको छ । प्रदेशमा खसेको मतको सात प्रतिशत बदर भएको छ । कूल ६ लाख ३० हजार नौ सय ३३ मत खसेकोमा पाँच लाख ८७ हजार आठ सय २९ मत सदर भएको छ । प्रदेशभर समग्रमा ४३ हजार एक सय चार मत बदर भएको हो ।

मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचनमा झन्डै सात प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । सुर्खेतमा प्रतिनिधिसभा र प्रदेशसभाको गरी पाँच दशमलव ३५ प्रतिशत मत खेर गएको छ । यहाँ प्रतिनिधिसभातर्पmको चार दशमलव २३ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । सुर्खेतमा प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र छन् । दुवै क्षेत्रमा गरी एक लाख ५४ हजार पाँच सय ८१ मत खसेकोमा ६ हजार पाँच सय ४० मत बदर भएको छ । प्रदेशसभातर्फ तीन दशमलव ७८ प्रतिशत मत खेर गएको छ ।

प्रदेशका चार वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा त्यसअन्तर्गतको पाँच हजार आठ सय ४९ मत बदर भएको छ । प्रदेशसभाका लागि जिल्लामा एक लाख ५४ हजार सात सय ३२ मत खसेको थियो । जिल्लामा प्रतिनिधिसभा भन्दा प्रदेशसभामा झन्डै डेढ सय बढी मत खसेको थियो । सुर्खेतमा प्रतिनिधिसभा (समानुपातिक) तर्फ चार दशमलव ८६ प्रतिशत मत बदर भएको छ । एक लाख ५५ हजार पाँच सय ८८ मध्ये सात हजार पाँच सय ५५ मत बदर भएको हो । प्रदेशसभा (समानुपातिक) तर्फ पाँच दशमलव २२ प्रतिशत मत खेर गएको छ । प्रदेशमा एक लाख ५४ हजार पाँच सय ५४ मत खसेकोमा पाँच दशमलव २२ प्रतिशत मत बदर भएकाले गनिएको थिएन ।

हुम्लामा समग्रमा दुई दशमलव ११ प्रतिशत मत बदर भएको छ । यो अन्य जिल्लाको तुलनामा कम बदर हो । सहरीभन्दा हिमाली तथा ग्रामीण क्षेत्रहरूमा बदर मतको प्रतिशत कम छ । सुर्खेतभन्दा दैलेख, हुम्ला, कालीकोटलगायतका जिल्लाका मतदाता बढी सचेत रहेको देखिएको छ । दैलेखमा चार दशमलव ७८ प्रतिशत मत खेर गएको छ भने कालीकोटमा तीन प्रतिशत मत बदर भएको त्यहाँस्थित जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् । जाजरकोटमा प्रत्यक्षतर्फ पाँच प्रतिशत र समानुपातिकतर्फ आठ प्रतिशत मत बदर भएको बताइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा प्रतिनिधिसभातर्फ दुई दशमलव पाँच प्रतिशत र प्रदेशसभातर्फ दुई दशमलव चार प्रतिशत मत खेर गएका छन् । रुकुम–पश्चिममा प्रतिनिधिसभा प्रत्यक्षतर्फ चार दशमलव ६८ प्रतिशत र समानुपातिकतर्फ पाँच दशमलव ७० प्रतिशत मत बदर भएका छन् । उक्त जिल्लामा प्रदेशसभातर्फ प्रत्यक्षमा आठ प्रतिशत र समानुपातिकमा पाँच दशमलव ५५ प्रतिशत मत बदर भएको पाइएको छ ।

जुम्लामा प्रतिनिधिसभा (प्रत्यक्ष) तर्फ पाँच प्रतिशत ४७ र समानुपातिकतर्फ पाँच दशमलव ३४ प्रतिशत मत बदर भए । प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रत्यक्षतर्फ ‘क’ मा चार दशमलव ३९ प्रतिशत र ‘ख’ मा तीन दशमलव २४ प्रतिशत मत खेर गएका छन् । प्रदेशसभा (समानुपातिक)तर्फ ६ दशमलव ४२ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सल्यानमा समग्रमा कति प्रतिशत मत बदर भए भन्ने यकिन विवरण तयार नभए पनि प्रतिनिधिसभातर्फ आठ दशमलव ८१ प्रतिशत र प्रदेशसभातर्फ पाँच दशमलव ७० प्रतिशत मत बदर भएको जनाइएको छ । समानुपातिकमा पनि सोही हाराहारीमा मत बदर भएको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । यो जिल्लामा प्रतिनिधिसभातर्फ सात दशमलव ३३ र प्रदेशसभातर्फ सात दशमलव ५१ प्रतिशत मत बदर भएको छ ।

मतदाता शिक्षाको कमी र दलहरूको चुनावी गठबन्धनका कारण मतदाताहरू अलमलमा परेकाले ठूलो संख्यामा मतपत्र बदर भएको आकलन गरिएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदान कसरी गर्ने भन्ने पूर्ण शिक्षा नहुँदा पनि बदर प्रतिशत धेरै देखिएको बताए । एकै चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यसपटक चार वटा मतपत्र थिए । चार वटा मत पत्रका कारण पनि कतिपय मतदाताहरू झुक्किएर भोट दिँदा बिगारेको हुनसक्ने बताइएको छ । प्रदेश निर्वाचन अधिकारी चालिसे भन्छन्, ‘स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपत्र फरक थियो । एउटा मतपत्रमा एक पटक मात्र संकेत गर्नुपर्ने भए पनि स्थानीय तहमा जस्तै एउटै मतपत्रमा अन्य चिन्हमा पनि संकेत गरेको पाइयो ।’ उनले मत बदर हुनुमा मुख्य कारण मतदाता शिक्षाकै कमी देखिएको बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशभर सरदर पाँच प्रतिशत मत बदर हुने देखिएको छ । निर्वाचन आयोगका अनुसार केही स्थानको मत गणना बाँकी रहेपनि हालसम्मको अवस्था हेर्दा बदर मत सोही हाराहारीमा हुने देखिएको हो । आयोगका अनुसार २०७४ मा प्रत्यक्षतर्फ पाँच दशमलव १७ प्रतिशत मत बदर भएको थियो । यसपटक आयोगले मत बदर घटाउन मतदाता शिक्षामा जोड दिएपनि बदर मत अपेक्षित रूपमा नघटेको पाइएको छ । गएको स्थानीय तह निर्वाचनमा देशभर दुई दशमलव चार प्रतिशत मत बदर भएको थियो । चुनावी अभियान अन्तर्गत घरदैलोमा जोड दिँदै आएका राजनीतिक दल र उम्मेदवारहरूले पनि मतदाता शिक्षामा भने बेवास्ता गर्दै आएका छन् । जसले गर्दा हरेक निर्वाचनमा ठूलो संख्यामा मत खेर गइरहेको जानकारहरू बताउँछन् ।

प्रकाशित मितिः   १५ मंसिर २०७९, बिहीबार ०५:०५