विद्युत लाइन विस्तारमा अड्चन

साढे दुई वर्षमा ३० प्रतिशत प्रगति, मुआब्जा विवाद कायमै, रुख कटानको काम अझै सुरु भएन

सुर्खेत: कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तार कार्य निकै सुस्त देखिएको छ । निर्माणको काम थालेको लामो समय भइसक्दा पनि आयोजनाले अपेक्षित प्रगति गर्न सकेको छैन । विद्युत प्रसारण लाइन आयोजनाले काम सुरु गरेको झन्डै साढे दुई वर्ष भइसक्दा हालसम्म ३० प्रतिशत मात्रै प्रगति भएको छ । सुर्खेतसहित कर्णालीका अन्य जिल्लाहरूको विद्युत समस्या हल गर्न एकमात्र विकल्प ठानिएको उक्त प्रसारण लाइन विस्तारमा ढिलाइ भएको हो । लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । ठेक्का सम्झौता भएपछि आयोजनाले कानुनी प्रक्रियामै धेरै झन्झट ब्यहोर्नु प¥यो । संरचना निर्माण पूर्वका कानुनी उल्झन र विभिन्न अवरोधहरूका कारण लक्ष्यअनुसार प्रगति हासिल हुन नसकेको जनाइएको छ । सुरुवातीदेखि नै अनेकन् बाधा आइलाग्दा पूर्वाधारको काममा ढिलो भएको आयोजना प्रमुख रविकुमार चौधरी बताउँछन् । काम सुरु गर्दा बीचमा कुनै अवरोध नभए प्रसारण लाइनका संरचना बनाएर सुर्खेतसम्म विद्युत लाइन पु¥याउन दुई वर्ष लाग्ने बताइएको थियो । यो बीचमा थुप्रै अवरोधहरू आएकाले अझै ७० प्रतिशत काम गर्न बाँकी रहेको हो ।

विद्युत लाइन विस्तारका लागि संरचना निर्माण गर्ने जग्गाको मुआब्जा विवाद र सो क्षेत्रमा पर्ने रुख कटानको अनुमति लिनुपर्ने प्रक्रियामा धेरै समय लागेको छ । मुआब्जा विवादमा स्थानीयको अवरोध अहिले पनि कायमै छ । बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानी क्षेत्रमा स्थानीयले अहिले पनि लाइन विस्तारको काममा अवरोध जारी राखेका छन् । जग्गाको उचित मूल्यांकन गरेर मुुआब्जा दिलाउन पहल नगरिएको भन्दै उनीहरूको असन्तुष्टि छ । जसले गर्दा लाइन विस्तार अन्तर्गत बैजनाथमा टावर निर्माणको काम रोकिएको छ । आयोजना प्रमुुख चौधरी भन्छन्, ‘सहमति गरेर काम अघि बढाउने प्रयास भइरहेको छ, अझै ३० घरधुुरीले जग्गा दिन मान्नुभएको छैन ।’ उनका अनुसार यसअघि संसदीय निर्वाचन सकिएलगत्तै पुनः स्थानीयसँग छलफल गर्ने सहमति भएको छ । अवरोध हटाउन अबको केही दिनमा जग्गाधनीसँग एक चरण फेरि छलफल गरिने आयोजनाले जनाएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकामा पनि कतिपय ठाउँमा मुआब्जासम्बन्धी विवाद छ । निजी जग्गाको मुआब्जा वितरण प्रक्रियामा सहमति भए कामले रफ्तार लिने आयोजनाको दाबी छ । ‘विद्युत लाइन विस्तार क्षेत्रमा पर्ने जग्गाको मुुआब्जा दिन हामी तयार छौँ,’ आयोजना प्रमुख चौधरीले भने, ‘जग्गा प्राप्तीमा ढिलो हुँदा नौ स्थानमा टावर निर्माणको काम रोकिएको छ ।’

आयोजनाका अनुसार रुख कटानको अनुमति पाए पनि काम भने थालिएको छैन । अबको केही दिनमा सुर्खेत डिभिजन वन कार्यालय अन्तर्गत पर्ने रुखहरू हटाउने तयारी गरिएको छ । रुख कटानको लागि सहमति भइसकेकाले ठेक्का सम्झौता गरेर काम अघि बढाउन लागिएको हो । सुर्खेत डिभिजन वनको क्षेत्रमा पर्ने रुख कटानको काम तीन÷चार दिनमा सुरु गरिने आयोजना प्रमुख चौधरी बताउँछन् । प्रसारण लाइन विस्तार गर्दा बाँके राष्ट्रिय निकुञ्जको ५० प्रतिशत र सुर्खेत डिभिजन वनको ५० प्रतिशत वन क्षेत्रका रुख कटान गर्नुुपर्ने हुुन्छ । कोहलपुर–सुर्खेत ५२ किमी प्रसारण लाइनको धेरैजसो भू–भाग बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । आयोजनाका लागि बाँके, बर्दिया र सुर्खेतमा गरी १३ हजार एक सय १९ रुख कटान गर्नुपर्ने छ । वन क्षेत्रमा रुख कटान र संरचना विस्तारको काम अघि बढ्ने भएपनि टावर निर्माणका लागि जग्गा प्राप्तिमा भने अझै उस्तै समस्या छ । अवरोधहरू तत्कालै हटे अबको डेढ वर्षमा सुर्खेतसम्म लाइन विस्तार गरिसक्ने लक्ष्य लिइएको छ । विस्तारित क्षेत्रमा एक सय ६२ वटा फाउन्डेसन निर्माण गर्नुपर्नेमा ६० वटाको काम सम्पन्न भएको छ । सवस्टेशन निर्माणको काम पनि छिट्टै सुरु गरिने जनाइएको छ । भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्टले ७० करोड लागतमा आयोजना निर्माणको जिम्मा लिएको छ ।

विद्युत लाइन विस्तार आयोजना अन्तर्गत डबल सर्किटका एक सय ७० टावर निर्माण गरिने बताइएको छ । ती टावरको उचाइ एक सय १५ मिटरदेखि एक सय ६० मिटरसम्मको रहनेछ । ती संरचना निर्माणका लागि निजी जमिन, सामुदायिक वन तथा सरकारी वन क्षेत्र गरी करिब दुई सय २५ वर्गकिलोमिटर जमिन समेटिनेछ । कोहलपुरबाट सुरु भएको प्रसारण लाइन वीरेन्द्रनगरको बुदबुदीस्थित सवस्टेशनमा आएर टुङ्गिनेछ । सुर्खेतमा १३२ केभी विद्युत प्रसारण लाइन विस्तारको चर्चा हुन थालेको झन्डै तीन दशक भएपनि यहाँका बासिन्दाले अहिलेसम्म भरपर्दो विद्युत सेवा पाउन सकेका छैनन् । हाल सञ्चालित ३३ केभी प्रसारण लाइन २०४५ सालमा विस्तार गरिएको हो । उक्त लाइनका संरचनाहरू जीर्ण हुँदा विद्युत अनियमित हुनुका साथै बारम्बार भोल्टेजको समस्या देखिने गरेको छ । विद्युतको माग दिनप्रतिदिन बढ्दो भएपनि आपूर्ति कम हुँदा उपभोक्ताहरू मर्कामा पर्दै आएका छन् ।

३३ केभीको काम तीन चरणमा गरिँदै

सुर्खेतमा विद्युत समस्याको अल्पकालीन समाधानका लागि सुदूरपश्चिम प्रदेशको कैलालीबाट ३३ केभी क्षमताको प्रसारण लाइन विस्तार गर्न लागिएको छ । कोहलपुर–सुर्खेत निर्माणाधीन १३२ केभी प्रसारण लाइन विस्तारमा ढिलाइ हुन थालेपछि वैकल्पिक व्यवस्थाका लागि कैलालीबाट विद्युत लाइन विस्तार गर्न लागिएको हो । उक्त ३३ केभी क्षमताको प्रसारण लाइन विस्तारको काम तीन चरणमा गरिनेछ । अहिले प्रसारण लाइन विस्तार क्षेत्रमा पर्ने रुख कटानको प्रक्रिया सुरु भएको छ । दोस्रो चरण अन्तर्गत लाइन विस्तारको काम हुनेछ । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख शम्भु यादवले रुख कटान र तार तान्ने काम सकिएपछि तेस्रो चरणमा वीरेन्द्रनगरसम्म लाइन विस्तारको काम गरिने जनाए । रुख कटानमा अझै दुुई महिना समय लाग्ने बताइएको छ । प्रादेशिक कार्यालयका अनुसार कैलालीको चिसापानी–सोल्टा हुँदै सुर्खेतको बाबियाचौरसम्म प्रसारण लाइन ल्याइनेछ । लाइनलाई बड्डिचौर–बाङ्गेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदबुदी सब–स्टेशनमा जोडिनेछ । कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टासम्म ३३ केभी लाइन यसअघि नै विस्तार भइसकेको छ । सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किलोमिटरमा पोल र तार विस्तार गर्न टेण्डर भएको छ । कैलालीबाट ल्याउन लागिएको ३३ केभी प्रसारण लाइन हाल सञ्चालित लाइनमा भने जोडिने छैन । त्यसका लागि छुट्टै विद्युतीय संरचना निर्माण गरिने जनाइएको छ ।

प्रकाशित मितिः   १२ मंसिर २०७९, सोमबार १५:४३