महिलालाई समानुपातिककै भर
सुर्खेत: यस पटकको संसदीय निर्वाचनमा कर्णाली प्रदेशमा एक जना महिला पनि निर्वाचित भएनन् । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा महिला उपस्थिति शून्य भएको हो । कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभामा महिलाहरूको उम्मेदवारी नै कम परेको थियो । त्यसमा पनि प्रमुख दलहरूले महिला उम्मेदवार निकै न्यून उठाएका थिए । स्थापित दलहरूले एकाध महिलालाई उम्मेदवार बनाए पनि उनीहरू प्रतिस्पर्धामा पराजित भए । सत्तारुढ गठबन्धनले जुम्लामा माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई साझा उम्मेदवार बनाएको थियो । ठूला दलबाट प्रतिनिधिसभाका लागि प्रदेशमै एक्ली उम्मेदवार उनी पराजित भइन् ।
नेपाली कांग्रेस, नेकपा ‐एमाले) र नेकपा ‐माओवादी केन्द्र) जस्ता मुख्य प्रतिस्पर्धी दलले प्रदेशसभा सदस्यको भने एक जना पनि महिलालाई टिकट दिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ‐राप्रपा) लगायतका साना दलले प्रत्यक्षतर्फ केही महिलालाई उम्मेदवार बनाएका थिए । आफ्नो पार्टीको जनमत कमजोर हुँदा उनीहरूले पनि जित निकाल्न सकेनन् । दैलेख क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी राप्रपाकी कुन्ती शाही पनि ठूला दलहरूसँगको प्रतिस्पर्धामा पछाडि परिन् । कर्णालीबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ उपस्थिति शून्य भएसँगै अब महिलाहरूले समानुपातिकको भर पर्नुपरेको छ । दलहरूले ल्याउने लोकप्रिय मतका आधारमा समानुपातिकको बन्द सूचिमा परेका महिलाहरूले सांसद बन्न पाउनेछन् । कर्णालीबाट संसद्मा महिला सहभागिता समानुपातिकबाट मात्र प्रतिनिधित्व हुनेछ ।
प्रदेशमा प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २४ वटा निर्वाचन क्षेत्र भएपनि प्रत्यक्षतर्फ सबै पुरुष निर्वाचित भएका छन् । कर्णालीमा प्रदेशसभा सदस्य निर्वाचनका लागि एक सय १६ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये तीन जना मात्र महिला उम्मेदवार थिए । २०७४ को निर्वाचनमा पनि प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित महिलाको संख्या शून्य थियो । कर्णालीमा २४ प्रत्यक्ष र १६ समानुपातिकका गरी ४० सीटमध्ये १३ जना महिला समानुपातिकबाट आएका थिए । प्रदेशसभामा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने अनिवार्य व्यवस्था छ । जसले गर्दा दलहरूले समानुपातिकबाट महिलालाई सहभागी गराउनैपर्ने बाध्यता छ । अधिवक्ता गिता कोइराला प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नै कम बनाउँदा त्यसको असर सहभागितामा परेको बताउँछिन् । ठूला दलहरूले नै महिलालाई टिकट दिन कन्जुस्याँइ गर्दा यस्तो अवस्था भएको उनको भनाइ छ ।
प्रकाशित मितिः १२ मंसिर २०७९, सोमबार १५:४०
साझा बिसौनी ।