ट्राफिक व्यवस्थापनका लागि नगर सम्मेलन गरिँदै

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाको ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला निकायको भेला गर्न लागिएको छ । ट्राफिक व्यवस्थापनबारे सुझाव र प्रतिबद्धताका लागि नगर सम्मेलन गर्न लागिएको हो । बढ्दो सहरीकरण र भिडभाडले ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएपछि सरोकारवालाको उपस्थितिमा सम्मेलनको तयारी गरिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार वीरेन्द्रनगरलाई ट्राफिक व्यवस्थापनका हिसाबले कसरी सुरक्षित गर्न सकिन्छ भन्नेबारे जनप्रतिनिधि, प्रहरी, यातायात व्यवसायीसहित अन्य सरोकारवालाको भेला गरिने भएको छ । बजार क्षेत्रमा फुटपाथ र पार्किङको व्यवस्थापनसँगै ट्राफिक सचेतना आवश्यक रहेकाले योजनाबद्ध रूपमा अघि बढ्न सम्मेलन आयोजना गरिने उनको भनाइ छ ।

नगर सम्मेलनबाट ट्राफिक व्यवस्थापनका लागि सरोकारवालाहरूको प्रतिबद्धतासँगै आवश्यक कार्यायोजना बनाइने छ । कर्णाली प्रदेश ट्राफिक प्रमुख भुवनेश्वर तिवारीले नगर सम्मेलनबाट पाँच वर्षीय कार्ययोजना बनाइने बताए । सवारी साधनहरूको बढ्दो चाप, सडक पूर्वाधारको कमी, अव्यवस्थित फुटपाथ र तिव्र गतिमा सवारी साधन चलाउने गर्दा दुर्घटनाको जोखिम बढेकोले त्यसलाई व्यवस्थित गर्न लागिएको उनले जनाए । तिवारीका अनुसार वीरेन्द्रनगर प्रदेश राजधानीसमेत भएकाले पैदल यात्री र साइकल यात्रीलाई प्राथमिकता दिएर २० वर्षीय ट्राफिक व्यवस्थानका लागि कार्ययोजना बनाउन आवश्यक देखिएको छ ।

वीरेन्द्रनगर बजार क्षेत्रमा सवारी साधनको बढ्दो चापलाई मध्यनजर गर्दै केही सडकमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन गर्ने तयारी समेत थालिएको छ । बढी सवारी साधनको चाप हुने बजार क्षेत्रका सडकहरूमा एकतर्फी सवारी साधन सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । सुरुवाती चरणमा वीरेन्द्रनगरचोकदेखि यरीचोकसम्मको सडकमा एकतर्फी सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ । ‘सूरुमा वीरेन्द्रनगर चोकदेखि यरीचोकसम्म एकतर्फी सवारी साधन सञ्चालन गर्ने र यसको प्रभाव मूल्यांकन गरेर सोहीअनुरूप अन्य सडकमा पनि सुरु गर्नेबारे छलफल भएको छ,’ तिवारीले भने । नगरपालिकाले यस विषयमा निर्णय गरेपछि मात्रै कार्यान्वयन हुने बताइएको छ ।

प्रकाशित मितिः   १६ भाद्र २०७९, बिहीबार ०५:०१