नवप्रवर्तनकर्मीलाई प्रोत्साहन गरिने

कर्णाली प्रदेशका विज्ञान प्रविधि र नवपर्वतनात्मक कार्य गर्ने प्रतिभाहरूलाई प्रोत्साहन गरिने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले विज्ञान तथा प्रविधिकर्मी विद्यार्थी, शिक्षक, वैज्ञानिक, अनुसन्धानकर्ता, किसान वा अन्य नागरिक वैज्ञानिकहरूबाट आवेदन आह्वान गरेको छ ।

आवेदनकर्ताहरूले आफ्नो वैज्ञानिक कार्य प्रोत्साहनका लागि निवेदनसहित आफूले गरेका विज्ञानसम्बन्धी कामहरूको प्रमाण खुल्ने विवरणहरू निर्देशनालयमा पेस गर्न सक्नेछन् । निर्देशनालयका निमित्त निर्देशक दिपा हमालका अनुसार यो कार्यक्रम प्रत्येक वर्ष चल्नेछ । प्रदेशमा विज्ञान तथा प्रविधिको प्रयोग, अनुसन्धान तथा आविष्कारका लागि प्रोत्साहित गर्न कार्यक्रम लागू गरिएको उनले जनाइन् ।

निर्देशनालयले यसै सन्दर्भमा सरोकारवालाहरूसँग छलफलसमेत गरेको छ । छलफलमा सहभागी विज्ञहरूले सदियौंदेखि अभ्यासमा रहेका परम्परागत रैथाने विधि तथा प्रविधिको आविस्कार गर्ने प्रतिभाहरूलाई पनि उक्त कार्यक्रममा समेट्न सुझाव दिएको मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक डा. पुष्पराज आचार्यले जानकारी दिए । कृषि, वन, स्वास्थ्य, औषधि उपचार, खाद्यप्रविधि तथा दैनिक जीवनपद्धतीसँग सरोकार राख्ने खालका प्रायोगिक सामग्रीहरूको निर्माण गर्ने कुनै पनि वैज्ञानिक सोचलाई प्रोत्साहन गर्न उनीहरूले सुझाव दिएका हुन् । उपप्राध्यापक आचार्य विज्ञान तथा प्रविधिलाई जीवनपद्धतिसँग जोड्नुपर्ने बताउँछन् । ‘विज्ञान र प्रविधि अब हाम्रो जीवन पद्धतिसँँग जोडिन सकेन भने राज्यले यसबाट फाइदा लिन सक्दैन’ उनले भने, ‘तसर्थ परम्परागत अभ्यासभित्र वैज्ञानिकता खोज्दै र हाल उपलब्ध प्रविधि, सेवा र सुविधाको उपयोग गर्र्दै नवपर्वतनात्मक कार्य गरी समाजलाई सहयोग पु¥याउन युवाहरूलाई प्रोत्साहन गर्न जरुरी छ ।’

प्रकाशित मितिः   ३१ जेष्ठ २०७९, मंगलवार ०५:०१