वातावरण जोगाऊ

वीरेन्द्रनगरको रौनक बदलिएको छ । प्रदेश राजधानी भएसँगै यहाँको राजनीतिक रौनक बढेको छ । १० जिल्लाको शासकीय मुकाम बनेको छ । प्रदेश मन्त्रालय यहीँ छन् । प्रदेशसभा यहीँ छ । त्यसैले पनि राजनीतिक केन्द्रबिन्दु बनेको छ । तर यहाँको वातावरणीय रौनक भने दिनप्रति दिन गुम्दै गएको आभाष हुन्छ । केही वर्ष अघिसम्म वीरेन्द्रनगर उपत्यका सफा र हराभरा थियो । सडकका दुवै किनारमा लहरै रुख थिए । नगरभित्रका थुप्रै ठाउँमा बरपिपलका चौतारी देखिन्थे । गर्मीयाममा त्यसकै छहारिमा बटुवाहरू सुस्ताउन्थे । प्रशस्तै रुखविरुवा भएकाले वीरेन्द्रनगर वातावरणमैत्री मानिन्थ्यो । सडक छेउको हरियालीले नगरको शोभासमेत बढाएको थियो । तर अहिले दृष्य बदलिएको छ । उपत्यका उजाड बन्दै गएको छ ।

विकासमा नाममा सडक विस्तारसँगै रूखहरू मासिए, हरियाली हरायो । रोपिएका विरुवा संरक्षणको अभावमा जाग्न सकेनन् । भौतिक पूर्वाधारको विकासमा मात्रै जोड दिइँदा वीरेन्द्रनगरको वातावरण बिग्रदै गयो । अनियन्त्रित सहरीकरणसँगै अहिले वीरेन्द्रनगर उजाडजस्तै बनेको छ । वातावरणीय हिसाबले नगरलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास नगरपालिकाले थालेको छ । तर, नगरले हरियाली प्रवद्र्धनका लागि बनाइएको नीति पूर्णरूपमा कार्यान्वयन भने हुन सकेको छैन । ‘एक घर दुई विरुवा’को नीति लिएको नगरले नयाँ घर निर्माण गर्दा कम्तीमा दुई वटा विरुवा लगाउनै पर्ने भनेको छ । उक्त नियम कडाइका साथ लागू भएको छैन । हरियाली नगर बनाउन ‘एक घर दुई विरुवा’को योजना अघि बढाएपनि कार्यान्वयनमा केही व्यवहारिक जटिलताहरू देखिएको जनाइएको छ । नगरपालिकाका अनुसार यो नीतिलाई संशोधन गरेर अलि व्यवहारिक बनाउने तयारी गरिएको छ । अब नीतिको मोडालिटीमा हेरफेर गरिनेछ । निर्माण सम्पन्नको सिफारिस दिँदा नगरले घरधनीसँग घर निर्माणस्थल नजिकै दुई वटा विरुवा रोपेको फोटो खोज्ने गरिएको छ । यसले विरुवा संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ । यद्यपि विरुवासहितको फोटो भने सबै घरधनीले राख्ने गरेका छैनन् ।

पछिल्ला वर्षहरूमा बस्ती विकास र सडक विस्तार धमाधम हुन थालेपछि वीरेन्द्रनगरका थुप्रै रुख काटिएका छन् । ती स्थानमा नयाँ विरुवा रोप्ने काम भएपनि उचित संरक्षण छैन । सडक किनारमा बर्सेनि सयौँ विरुवा रोपिए पनि संरक्षणको दीर्घकालीन योजना नहुँदा प्रभावकारी हुन सकेको छैन । वृक्षारोपण गर्दा सडक क्षेत्र र बिजुलीको लाइनको समेत ख्याल नगरिँदा विरुवा हुर्किन बित्तिकै हटाउनुपर्ने अवस्था आउने गरेको छ । हचुवामा गरिने वृक्षारोपण भन्दा निश्चित मापदण्ड अपनाउनुपर्ने खाँचो देखिन्छ । यसतर्फ नगरपालिका र सम्बन्धित सबैको ध्यान पुग्न जरुरी छ ।

प्रकाशित मितिः   ३१ जेष्ठ २०७९, मंगलवार ०५:०३