दैलेखमा कांग्रेस–माओवादीलाई फाइदा, एमालेलाई क्षति
दैलेख : अघिल्लो स्थानीय निर्वाचनमा जिल्लाका ११ मध्ये सात वटा पालिका जितेर पहिलो बनेको नेकपा(एमाले) यसपटक चार वटासहित दोस्रोमा खुम्चिएको छ । जिल्लाका सबै पालिकाको मतगणना सकिँदा एमालेले चार वटामा मात्रै जित हात पारेको हो ।
एमालेले ठूलो क्षति बेहोर्दा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)लाई भने फाइदा पुगेको छ । अघिल्लो पटक चार वटा पालिका जितेको कांग्रेसले यसपटक थप एउटामा जित हात पार्यो । पाँच वटा पालिकाको नेतृत्वसहित कांग्रेस पहिलो बन्न सफल भएको छ ।
चुनावी गठबन्धनको फाइदा उठाउँदै माओवादी केन्द्रले दैलेखमा दुई वटा पालिकाको नेतृत्व हात पार्न सफल भएको छ । २०७४ मा कुनै पनि पालिका र वडासमेत नजितेको माओवादीले यसपटक केही वडासहित दुई पालिका नै जितेको हो ।
नारायण नगरपालिकामा एमालेले आफ्नो बर्चस्व कायम राख्न सफल भएको छ । लगातार दोस्रो पटक पनि पालिका जित्न सफल भएको हो । नगर प्रमुखमा लोमन शर्मा र उपप्रमुखमा एमालेकै तप्ता थापा विजयी भएका छन् ।
गठबन्धनको बलमा दुल्लू नगरपालिका भने कांग्रेसले जोगाएको छ । नगर प्रमुखमा भरत रिजाल विजयी हुँदा उपप्रमुखमा भने एमालेका विना कार्की निर्वाचित भइन् ।
आठबिस नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको छ । प्रमुखमा तर्कबडुवाल र उपप्रमुखमा एमालेकै कल्पना थापा विजयी भएका हुन् ।
चामुन्डा बिन्द्रासैनी नगरपालिका कांग्रेसले जितेको छ । उक्त पालिकाको प्रमुखमा गणेशबहादुर शाही र उपप्रमुखमा पनि कांग्रेसकै मनसरा शर्मा विजयी भए ।
गुराँस गाउँपालिकामा भने यसपटक एमालेले बाजी मारेको छ । नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष खेमराज ओलीलाई पराजित गर्दै एमालेका टोपबहादुर विसी गुराँसको अध्यक्ष चुनिए । उपाध्यक्षमा एमालेकै शिवाकुमारी खड्का निर्वाचित भएकी छिन् ।
कांग्रेसबाट यसपटक एमालेले खोसेको अर्को स्थानीय तह हो, डुङ्गेश्वर गाउँपालिका । उक्त पालिकाको अध्यक्षमा एमाले सुन्दर केसी विजयी हुँदा उपाध्यक्षमा पनि एमालेबाटै कलावती न्यौपानेले जित हात पारेकी छिन् ।
महाबु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लछुमन गुरुङ्ग र उपाध्यक्षमा पनि कांग्रेसकै मञ्जु पाण्डे विजयी भइन् ।
जिल्लाको ठाटीकाँध गाउँपालिकाको नेतृत्व बाँडिएको छ । अध्यक्षमा कांग्रेसका रक्षबहादुर शाहीले विजय हात पार्दा उपाध्यक्षमा भने एमालेका देवीराम बडुवाल निर्वाचित हुनुभएको छ ।
भगवतीमाई गाउँपालिकाको नेतृत्व यसपटक एमालेबाट माओवादीको हातमा पुगेको छ । अध्यक्षमा माओवादी केन्द्रका गणेश थापा निर्वाचित भए । उपाध्यक्षमा नेपाली कांग्रेसका मिना थापा खड्का विजयी भएकी छिन् ।
भैरवी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रिता शाही र उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारी विजयी भएका छन् ।
दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी (केन्द्र) का छविराम सुवेदी विजयी हुँदा उपाध्यक्षमा नेकपा(एकीकृत समाजवादी)का गंगबहादुर शाही निर्वाचित भएका छन् ।
प्रकाशित मितिः ४ जेष्ठ २०७९, बुधबार १९:११
साझा बिसौनी ।