संघलाई निर्वाचनको बाटो खुल्यो
सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन रोक्न गरिएको मागलाई उच्च अदालत सुर्खेतले खारेज गरेको छ । कायममुकाय मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश पुनमसिंह चन्दको संयुक्त इजलासले निवेदकको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै चैत १८ गते जारी गरिएको अल्पकालिन अन्तरिम आदेशसमेत खारेज भएको छ ।
संघका पदाधिकारीले विधानअनुसार काम नगरेको भन्दै उनीहरूले तोकेको निर्वाचन मिति रोक्नुपर्ने माग गर्दै व्यापारीहरूको एउटा पक्ष अदालत पुगेको थियो । रिट परेपछि अदालतले चैत १८ गते तत्काल लागि निर्वाचन प्रक्रिया अघि नबढाउन भन्दै दुवै पक्षलाई छलफलका बिहीवार बोलाएको थियो ।
दुवै पक्षबीच भएको छलफलपछि इजलासले रिटकर्ता सुरेन्द्रकुमार मल्लले माग गरे बमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरिदिएको हो । अदालतको उक्त आदेशपछि तत्कालै संघलाई निर्वाचन प्रक्रिया थाल्ने बाटो खुलेको छ । निर्वाचन प्रक्रिया विधानअनुसार नभएको र पदाधिकारहरूले सदस्यता नविकरण गर्न छुटाएकाले नविकरणको गर्नुपर्ने भन्दै व्यापारीहरूबीच विवाद सिर्जना भएको थियो । सोही विवादका कारण संघको कार्यालयमा तालाबन्दीसमेत गरिएको छ ।
प्रकाशित मितिः २५ चैत्र २०७८, शुक्रबार १०:२४
साझा बिसौनी ।