नेप्लाको प्रदेश भेला

सुर्खेत: नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन (नेप्ला) को दोस्रो कर्णाली प्रदेश भेला सम्पन्न भएको छ । वीरेन्द्रनगरमा भएको भेलाले ३० बँुदे प्रतिवेदन पेस गरेको छ । कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । नेप्ला कर्णाली प्रदेश संयोजक प्रकाश पाण्डेले योगदानका आधारमा प्रदेश र स्थानीय तहले कृषि तथा पशुुपालनका क्षेत्रलाई प्राथमिकता दिनुुपर्ने बताए । प्रतिवेदन प्रस्तुत गर्दै उनले परियोजना लक्षित व्याज अनुदान कार्यक्रम अघि बढाइनुपर्ने जनाए । कृषकको व्यवसायलाई सुुरक्षित र जोखिममुक्त बनाउन बाली र पशु बिमालाई निरन्तरता र आवश्यक कार्यक्रम निर्धारण गरिनुुपर्ने भेलाका वक्ताहरूले बताएका छन् ।

त्यस्तै, कृषि क्रणको व्याज अनुुदानका कार्यक्रमलाई प्रभावकारी बनाइनुुपर्ने, प्रत्येक वडामा एक वडा एक पशु सेवा प्राविधिक व्यवस्थापन परिचालनको माग भेलाले गरेको छ । रिक्त रहेका दरबन्दीमा पदपूर्तिका लागि अविलम्ब प्रक्रिया बढाउनुुपर्ने, प्रदेशभित्र कृषि तथा पशुजन्य उत्पादन र विविधिकरणका लागि उद्योग स्थापना र लगानीको वातावरण बनाउनुलगायतका विषयलाई भेलाले उठान गरेको संयोजक पाण्डेले बताए । भेलालाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रतिवेदनमा उल्लेख गरिएका विषयले नीति निर्माण गर्दा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । नेप्लाका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहेताले नेप्लाले हरेक प्रदेशमा रचनात्मक काम गरिरहेको जनाए । प्राविधिकको क्षमता विकाससँगै उनीहरूका हक अधिकारको पैरवी गर्न आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

प्रकाशित मितिः   २५ चैत्र २०७८, शुक्रबार १०:२३