पेट्रोलियम उत्खननका लागि दबाब अभियान

जिल्लाका राजनीतिक दलहरूले पेट्रोलियम पदार्थको खानी उत्खनन्का लागि सरकारलाई दबाब दिने भएका छन् । दबाब सिर्जना गर्न अभियान नै सञ्चालन गर्ने सहमति दलहरूले गरेका छन् ।  दैलेखको इतिहास लेखन, पर्यटन प्रवद्र्धन र पेट्रोलियम पदार्थको उत्खनन्का लागि रेडियो ध्रुवतारा सामुदायिक एफएम, धमाका दैनिक, रिपोटर्स क्लब दैलेख र साझा प्रतिविम्ब साप्ताहिकले संयुक्त प्रचार अभियान सुरु गरेका छन् । उक्त अभियानमा जिल्लाका दलहरूले पनि समर्थन जनाएका छन् ।

नेपालमा पनि लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टी भएको कुरा विभिन्न सञ्चार माध्यमहरूमा आएपछि उत्साही भएका दैलेखका बासिन्दा र राजनीतिक दलहरूले अब सरकारले उत्खनन्मा थप चासो दिनुपर्ने बताएका छन् । दैलेखका पत्रकारहरूद्वारा आयोजनामा गरिएको सात्क्षात्कारमा बोल्दै दैलेखका दलहरूले सरकारलाई जिल्लास्तरबाट दबाबका कार्यक्रमहरू सञ्चालन गर्ने बताएका हुन् ।

दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना रहेको चिनियाँ सहयोगमा गरिएको सरकारीस्तरको अध्ययनले देखाए पनि यसबारे पछिल्लो विवरण जिल्लाका नागरिकहरूले जानकारी पाउन नसकेकोले केही दिनभित्र सयुंक्त विज्ञप्तीमार्फत् सरकारलाई ध्यानाकर्षण गराउने बारे नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताहरूले यस्तो सहमति जनाएका हुन् ।

नेपाली कांग्रेसका सह–सचिव रत्नबहादुर शाहीले जिल्लाका दल, नागरिक समाज, सञ्चारकर्मी सबै मिलेर राज्यलाई दबाब दिनुपर्ने सुझाव दिएका छन् । नेकपा एमालेका उपाध्यक्ष प्रेमबहादुर थापाले जिल्लाको इतिहास लेखनमा सक्दो सहयोग गर्ने र पेट्रोलियम पदार्थ उत्खनन्का लागि राज्यलाई दबाब दिन आफूहरू तयार रहेको बताए ।

नेपाल मजदुर किसान पार्टीका सचिव रत्नेश श्रेष्ठले सरकारले चीनबाट ल्याएको प्राविधिक तथा वैज्ञानिक सम्मिलित टोलीको सहयोगमा दैलेख लगायतका क्षेत्रमा पेट्रोलियम ग्यासको खानी रहेको भन्दै प्रारम्भिक रिपोर्ट बनाएको छ । यसलाई सरकारले थप उत्खनन्का कार्यक्रम अगाडि बढाउनुपर्ने बताए । नयाँ शक्तिका केन्द्रीय सदस्य वीरबहादुर भण्डारीले दैलेखको इतिहासलाई लिपिबद्ध गर्न सबैको जिम्मेवारी उत्तिकै रहेकोले सबैले सहयोग गर्नुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चा दैलेखका उपाध्यक्ष कविराज खत्रीले दैलेखमा रहेका खानी उत्खनन् र दैलेखको इतिहास लेख्ने कुरा धेरै ढिलो भइसकेकोले सुरुवात भएका कुराहरूमा थप सहयोग गर्न स्थानीय निकाय लाग्नुपर्ने बताए । राप्रपाका अध्यक्ष भक्तबहादुर शाहीले दैलेख एतिहासिक दृष्टिकोणले महŒवको जिल्ला भएकोले यसको थप संरक्षण गर्न राज्यका निकायहरू लाग्नुपर्ने र सांसद विकास कोषको रकम समेत आगामी वर्षदेखि योजनावद्ध विकासमा लगाउन आफूहरूले पहल गर्ने बताए । जिल्ला विकास समिति दैलेखका योजना अधिकृत पदम सापकोटाले दैलेख मात्र नभइ समग्र राष्ट्रको विकास हुने पर्यटन, खानी र विद्युत उत्पादनको सम्भावना दैलेखमा प्रशस्त रहेकोले जिल्लाबाट गएका जनप्रतिनिधिहरू, आम नागरिकहरू र स्थानीय निकायहरूले समेत ठोस कार्ययोजना बनाउनुपर्ने सुझाव दिए ।

चिनियाँ वैज्ञानिकको टोलीले गत मंसिरमा नेपालका विभिन्न क्षेत्रहरूको भ्रमण गरी त्यहाँबाट विभिन्न प्रकारका चट्टानहरूको नमुना संकलन गरेर अध्ययनका लागि चीन लगेको थियो । उनीहरूले चीन सरकारलाई बुझाएको प्रारम्भिक प्राविधिक रिपोर्ट आएको भनिए पनि नेपाल सरकारले औपचारिक रूपमा बाहिर ल्याउन सकेको छैन् । दैलेखमा रहेका करिब एक हजार बढी सम्पदाहरू, विभिन्न जातजातिको उद्गम स्थलहरू, पुराना मूर्ति, देवल र खम्बहरूको विभिन्न विज्ञहरूले किताबमा इतिहास उल्लेख गरेको भए पनि यसको औपचारिक रूपमा विज्ञहरू बोलाइ इतिहासको पुनर्लेखन गर्नुपर्ने बारे चासो बढेको छ ।

प्रकाशित मितिः   ११ पुष २०७३, सोमबार १४:३८