वर्तमान समाजका प्रतिविम्बः चार पात्र

dinesh-gautamसडक नै घर, सडक नै भर
सडकमा सवारीको चाप घट्दैछ । रातीको आठ बज्नै लागेको छ । घडीको सुइ झैं ठ्याक्कै सारा नेपाल घुमिरहेछ पुल्चोक, नारायणगढमा । सरसर्ति त्यही चौकलाई मात्रै हेर्दा लाग्छ, सारा देश हतारमा छ । र छेउमा एउटा रुखको फेदिँमा बसेको छु म । मेरै छेउमा अर्काे रुखको फेदिँमा निस्किरहेछ चर्काे आवाज । जान्छु त्यतै र सुन्छु कुरा । खासमा तिनीहरू सडक नागरिक रहेछन् । सडक नागरिक अर्थात् सडकमै काम गर्ने, सडकमै खाने, सडकमै सुत्ने अर्थात् सडक नै घर भएका ।

त्यहाँ रहेको सडकको पेटीमा पुस महिनाको चिसोमा एउटा कम्बलको भरमा सुतिरहेका एक दुई जना मात्र थिएनन्, रातीको आठ बजे जब सबै पसलहरू बन्द हुँदै थिए, तिनै पसल अगाडिको पेटीमा त्यस्ता व्यक्तिहरू थपिँदै थिए । करिब १० बजेको बीचमा सडकको पेटीमा सुत्नेको एउटा ठूलै जमात जम्मा भइसकेको थियो । ती मध्ये मेरो नजिकै रहेको पेटीमा बसिरहेका सडक नागरिकहरू बीचको चर्काचर्कीले मेरो ध्यान तान्यो । उनीहरूबीच एउटा सामान्य कुरामा विवाद भएको रहेछ । त्यहाँ भएका मध्ये एउटाले हातमा रहेको चुरोट आफैसँग झगडा गरिरहेको अर्काे व्यक्तिलाई दिँदै भनेको कुराले मन छोयो, ‘तिमी हामी त गरीब हौं । गरीब लडेर के हुन्छ भन त दाई । धनीले रमिता हेर्छन्, रमिता ।’

नबोल्ने मान्छेहरू पनि बोल्छन्
म बसिरहेछु । हेरिरहेछु अगाडि । रातीको नौ बज्नै लागेको छ । आइपुग्छ एउटा व्यक्ति । थोत्रा कपडा, च्यातिएको जुत्ता, पुरानो र धुलाम्य एटलस साइकल र साइकलमा राखिएको एउटा सेतो बोरा । यिनै हुन उसका परिचय । ऊ मेरै छेउमा आएर बस्छ । बोल्न खोज्छ, अपरिचित भएकाले म वास्ता गर्दिनँ । फेरि अलि नजिक आउँछ र आवाज निकाल्छ, उसले टाँडी जाने गाडी भनेपछि मात्र म जान्दछु उसको बारेमा कि ऊ स्पष्ट बोल्न नसक्ने रहेछ । मलाई उसँग थप कुरा गर्न मन लाग्छ । सोध्छु , ‘किन यति राती ?’ उसले त सबै कुरा स्पष्टै सुन्न र बुझ्न सक्ने रहेछ । एकदम अस्पष्ट स्वरमा ठूलै कष्टका साथ बोल्छ, ‘पोखराबाट कपडा पठाइदिएका, यो टाँडी पु¥याउने हो । गाडी, गाडी आयो भने रोक ।’

मैले पनि उसलाई टाँडीको गाडी आएमा रोक्दिने बाचा गर्छु । उसको मुहारमा खुशी देखिन्छ । हामी बसेको छेउमै छ, एउटा चिया पसल । ऊ भन्छ आफ्नै स्वरमा, ‘एउटा चिया ।’ अनि म तिर हेर्छ र भन्छ, ‘चिया खाम ।’ मैले ऊ आउनु केही मिनेट अगाडि मात्र चिया सकाइसकेको हुन्छु । ‘भो पर्दैन, तपाईं खानुस् न’ म भन्छु । उसले मान्दैन । पटक–पटक ऊ मलाई चिया पीउन अनुरोध गर्छ । त्यति नै पटक म पनि चिया नखाने कुरा जनाउँछु । तर ऊ मान्दैन । जसरी पनि खानुपर्छ भन्छ । अन्तिममा आएर मैले उसको अनुरोध स्वीकार्छु । मैले अनुरोध स्वीकार्दा मुहारमा हर्ष देखाउँछ उसले । चिया सकिन्छ । पकेटबाट पैसा निकाल्न खोज्छ ऊ । मैले भन्छु, ‘भइहाल्यो म दिन्छु नि ।’ तर मान्दैन उसले । म कर गर्छु । ऊ मान्दैन । आफै पैसा दिन्छ । केही सयमसम्म ऊ घरी मतिर हेर्छ, घरी नारायगढको व्यस्त सडकतिर । केही बोल्दैन ऊ । केही मिनेटपछि उठ्छ, साइकल समात्छ र अँध्यारोमा हराउँछ । मलाई गएँसम्म पनि भन्दैन । म बुझ्दिनँ उसको दिमागमा के चलिरहेको छ । म थोरै परसम्म पुग्छु कहाँ गएछ भनि हेर्न, तर ऊ त हराँउछ एक्कासी अँध्यारोमा । म निश्चिन्त हुन्छ, ऊ पूर्वको यात्रामा हिँडिसक्यो र म पश्चिम जाँदैछु । ऊ साइकलमै टाँडी पुग्न प्रयास गर्नेछ । सायद अब उसको र मेरो भेट कहिल्यै हुनेछैन ।

‘संविधान संशोधन गलत छ ?’
मोटो र खँदिलो ज्यान भएको मान्छे । चिसो भएकाले टाउकोमा टोपी छ । मेरै नजिक आएर बसेपछि उनको मेरो सामान्य परिचय हुन्छ । सडकमा बस्नुको उद्देश्य प्रष्ट हुन्छ । अरु धेरै कुराहरू पनि हुन्छन् । र, त्यसपछि म उनलाई सोध्छु, ‘तपाईंलाई के लाग्छ, बुटवललाई तराइमा मिसाउने संशोधन प्रस्ताव ल्याएर दलहरूले ठीकै गरे ?’

‘कसरी ठीक÷बेठीक भनुँ भाइ ? ठीक गरेनन् भन्यो भने मधेस विरोधी भइन्छ, ठीकै गरे भनौं भने आत्माले त्यो सही मान्दैन ।’
‘अनि त्यत्रो आन्दोलन छ । कुनै एउटा दलमात्र आन्दोलनमा आएको भन्छन ? तपाईँ त बुटवलकै मान्छे, खास कुराचाहिँ के हो ?’
‘भाइ, तपाईँ इन्टरनेट चलाउनुहुन्न ? त्यहाँ पढ्नु भा÷छैन ? टोपबहादुर रायमाझी र चन्द्र भण्डारी त्यहीँ गएर बोलेका छन् । त्यो आन्दोलनमा कुनै पनि दल भन्ने छैन । सबै दल एक छन् ।’

‘आन्दोलन भन्यो कि बन्द गर्नुपर्ने है ?’
‘मलाई आन्दोलनको पक्ष लियो भनेर भन्नुहोला । तर नेपालमा कुनै पनि कुरा पूरा गराउन बन्द, तोडफोड, हो–हल्ला नगरेसम्म सुन्न पर्नेले सुन्दिनन्न । अनि पोहर साल मधेसमा आन्दोलन हुँदा अधिकार प्राप्ती भनियो, अहिले बुटवल, पाल्पामा हुँदा चाहीं पूरै गलत भन्न पाइन्छ ? बन्द सही हो त कसले पो भन्या छ र ? तर बाध्यता भयो भाइ ।’

‘बुटवल पाँच नम्बर प्रदेशमा गएर पाल्पा चार नम्बर प्रदेशमा जाँदा तपाईंलाई के बेफाइदा हुन्छ महेश जी ?’
‘आन्दोलनमा होमिएकाले भनेझैँ ठूलै भौगोलिक विखण्डन त हुन्छ म भन्दिनँ तर भावनात्मक बिखण्डन चाहीं हुन्छ । मेरो बुबा आमा बाहेक अरु सबै नातेदार पाल्पामा हुनुहुन्छ । हाम्रै परिवार पनि वर्षमा तीन महिना जति पाल्पामा बस्छन् । पाल्पा र बुटवल जिल्ला फरक हुनु बाहेक अरु सबैमा समान छन । प्रदेश नै फरक परे मान्छेले फरक ढङ्गले सोच्छ हैन र ?’

‘धन्यवाद दाई । आन्दोलन चलिरहेकै बेला त्यहीँको मान्छेसँग यति लामो कुरा गर्न पाइयो । एकदम खुलेर आफ्नो कुरा राख्दिनु भो, धन्यवाद । फेसबुकमार्फत् कन्ट्याक्टमा रहौंला । गाडी आउने समय भो, म जान्छु । तपार्इैं पनि राम्ररी जानुहोला । ए ! एउटा कुरा म पत्रकार चाहीं होइन है दाइ । यस्ता विषयमा रुचि चाहिँ औधी राख्छु ।’
‘हुन्छ भाइ । राम्ररी जानुस् ।’

‘हामी पनि यसैअरी उडेर जान्या हो ।’
रातीको करिब एक बज्नै लाग्दा काठमाडौंबाट सुर्खेत जान हिँडेको बस नारायणगढ आइपुग्छ । म गाडीको क्याविनमा छिर्छु । क्याविनमा गाडी चलाइरहेको ड्राइभरबाहेक सबै निदाएका छन् । म आएपछि मेरो लागि रिजर्ब सीटमा सुतिरहेको एउटा युवक उठ्छन् । म बस्छु । अरु पनि उठ्छन् । गाडी चल्छ । करिब एक घण्टा जति मौनता नै हुन्छ । तर सधैं मौनता नै सम्भव भएन । मैले उनीहरूसँग कुरा गर्न खोजें । पहिले त अप्ठ्यारो पनि माने । तर पछि सहज कुरा गरे । उनीहरू रहेछन् दैलेख बेस्तडाका । काठमाडौंबाट फर्किदा गरेका ‘भिसा’ लगाएर । उनीहरूको उमेर त्यही एक्काइस–बाइस । पढाइ लेखाइ एसएलसी पास हुन नसकेका रहेछन् । उनीहरूलाई त्यहाँसम्म लैजाने व्यवस्था गरिरहेको व्यक्ति पनि मेरै सामुन्ने थियो । मैले त्यसरी धेरै कुरा सोधेको देखेर उसलाई जाति लागिरहेको थिएन सायद । तर मैले सोध्न छाडिनँ । उनीहरू हरेक दिन नेपालबाट बाहिरिने एक हजार पाँच सय युवाहरूको प्रतिनिधि पात्र थिए । वर्तमान नेपालको प्रतिबिम्ब थिए । देश परिवर्तनको लागि युद्धमा होमिएकाहरूको लागि भयानक व्यंग्य थिए । सुर्खेतको विमानस्थल नजिकै आइपुग्दा अगाडि बसेको एउटा युवकले भर्खरै त्यहाँबाट उडेको हवाइजहाजलाई देखायो र भन्योे, ‘हेर त जहाज कसरी उड्याछ ।’ उसलाई प्रतिउत्तर दिँदै अर्काे बोल्यो, ‘चिन्ता न’अर मामा । भिसा आएपछि हामी पनि यसैअरी उडेर जान्या हो । सररर ।’

प्रकाशित मितिः   ११ पुष २०७३, सोमबार १४:२६