जिल्ला लिगको फाइनल वर्षाले प्रभावित

सुर्खेत – जिल्लास्तरीय एन्फा लिग फुटबलको फाइनल खेल वर्षाले प्रभावित भएको छ । आज हुने तय भएको फाइनल खेल पानी परेका कारण स्थगित भएको हो।

स्थगित भएको फाइनल कहिले हुने भन्ने टुंगो समेत लागेको छैन । मौसममा सुधार भएपछि मात्रै मिति टुंगो लाग्ने लिग संयोजक सुन्दर पोखरेलले जानकारी दिए । उनले मौसम सुधार भएलगत्तै खेल सञ्चालन गर्नेगरी आज स्थगित गरिएको जनाए । कार्यतालिकाअनुसार आज दिउँसो २ बजे फाइनल खेल हुने तय गरिएको थियो ।

आइतवार सम्पन्न सेमीफाइनलमा शीरमोरलाई पराजित गर्दै साविक विजेता एबीसी स्पोर्टस् क्लब फाइनल प्रवेश गरेको हो भने बावियाचौरलाई हराएर फ्रेण्डसीपले पनि एबीसीसँगको उपाधि भिडिन्त पक्का गरेको थियो ।

एबीसी लगातार दोस्रो पटक उपाधि जित्ने दाउमा छ । यसअघि वि.सं. २०७४ मा भएको जिल्ला लिगको उपाधी एबीसी स्पोर्टस् क्लबले जितेको थियो । उसले फाइनलमा वीरेन्द्रनगर स्पोर्टस् क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेर उपाधि हात पारेको थियो । अर्कोतर्फ बलियो दाबेदार एबीसीलाई पराजित गर्दै पहिलो पटक उपाधि भित्र्याउन लक्ष्यसहित फ्रेण्डसीपी फाइनल भिड्दैछ ।

सुर्खेत जिल्ला फुटबल संघले लिग आयोजना गरेको छ । दुई–दुई वर्षमा हुनुपर्ने लिग कोरोना महामारीका कारण चार वर्षपछि भएको हो । नकआउट चरणबाट छनौट भएका ६ र अघिल्लो सिजन शीर्षस्थानमा रहेका ६ टिमले लिगमा प्रतिस्पर्धा गरेका हुन् ।

प्रकाशित मितिः   १० माघ २०७८, सोमबार १८:२०