जिल्ला लिगको दोस्रो चरण आजदेखि
सुर्खेत: जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको दोस्रो चरण आज (बिहीवार) देखि सुरु हुँदैछ । अघिल्लो सिजन शीर्षस्थानमा रहेका ६ र यस वर्ष नकआउट चरणबाट छनोट भएका ६ क्लबबीच लिग उपाधिका लागि प्रतिस्पर्धा हुने भएको हो ।
समूह ‘ए’मा साविक विजेता एबीसी स्पोर्टस् क्लबसहित बाबियाचौर सपोर्टस् क्लब, ब्वाइज युनियन, सिर्जनशील युवा क्लब, वीरेन्द्रनगर स्पोर्टस् र जीअल क्लब रहेका छन् । यस्तै समूह ‘बी’ मा काँक्रेविहार क्लब, फ्रेण्डसिप स्पोर्टस्, जीवनज्योति युवा क्लब, सिरमोर युवा क्लब, साथी खोर्के युवा क्लब र भैरवी युवा क्लब रहेको सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए ।
लिगमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘ए’ मा रहेका एबीसी स्पोर्टस् र बाबियाचौर स्पोर्टस् क्लबबीच भिड्दैछन् । उक्त खेल दिउँसो १२ बजे सुरु हुनेछ । आजै दिउँसो दुई बजे हुने खेलमा समूह ‘बी’ का काँक्रेविहार र फ्रेण्डसिप स्पोर्टस् क्लबीच प्रतिस्पर्धा हुने छ ।
महासचिव कार्कीका अनुसार पुस १५ गतेसम्म लिगचरणका खेल सञ्चालन हुनेछन् । १६ गते सेमिफाइनलका दुई खेल हुने उनले जानकारी दिए । फाइनल खेल भने १७ गते हुनेछ ।
चार वर्षपछि जिल्ला लिग हुन लागेको हो । यसअघि २०७४ मा जिल्ला लिग भएको थियो । जसको उपाधि एबीसी स्पोर्टस्ले जितेको थियो । त्यसपछि कोरोना महामारीका कारण लिग सञ्चालन हुन सकेन । यसपटक रेलिगेसनसहितको लिग सञ्चालन गर्न लागिएको हो । दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने १२ मध्ये अंकतालिकाको पुछारमा रहने दुई टिम रेलिगेसनमा पर्नेछन् । ति दुई टिमले अर्को सिजन पुनः नकआउट चरण खेल्नुपर्ने छ ।
प्रकाशित मितिः १ पुष २०७८, बिहीबार १०:४६
साझा बिसौनी ।