घाँटी रेटेर बालिकाको हत्या
सुर्खेत: लेकवेशी नगरपालिका–१ ढापखर्कमा एक बालिकाको विभत्स हत्या गरिएको छ । ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारको हत्या भएको हो । उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । घरबाट करिब पाँच सय मिटर दूरी उत्तरपूर्वमा रहेको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
आइतवार बिहान १० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी उनी घर नफर्केपछि परिवारले सोमवार बिहान इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो । खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवा नेतृत्वको टोलीले खोजतलास गर्दा खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियो । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २४ कार्तिक २०७८, बुधबार ०५:००
साझा बिसौनी ।