धानबाली क्षति : क्षेत्रफलका आधारमा राहत

काठमाडौं – सरकारले बेमौसमी वर्षाका कारण किसानले लगाएको धानबालीमा भएको क्षतिको राहत दिने भएको छ । सरकारले जग्गाको क्षेत्रफललाई आधार बनाएर राहत दिने निर्णय गरेको हो । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई धानबालीको क्षेत्रफलका आधारमा राहत दिने र त्यसका लागि कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार साना किसान तथा बढीमा १० कठ्ठा जग्गामा धानबाली भएकालाई क्षतिको अधिकतम ६५ प्रतिशत राहत दिइने छ । त्यस्तै, मध्यम किसान अर्थात् १० कठ्ठादेखि तीन बिगाहासम्म धानबाली नोक्सान भएकालाई क्षतिको ३० प्रतिशत र ठूला किसानलाई अधिकतम २० प्रतिशतसम्म राहत उपलब्ध गराउने निर्णय गरिएको हो ।

राहत वितरण गर्ने कार्यविधि बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलले पाँच् दिनभित्र कार्यविधि बनाई मन्त्रिपरिषद्मा पेस गर्ने सञ्चारमन्त्री कार्कीले जानकारी दिए । सरकारले यसअघि धानबालीमा भएको क्षतिको विवरण यकिन गर्न गहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

प्रकाशित मितिः   ११ कार्तिक २०७८, बिहीबार २०:००