बाढीपीडित बस्तीमा स्वाथ्य शिविर

बाढीपीडित बस्तीमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ जिल्ला समिति सुर्खेतको आयोजनामा शनिवार बराहतालको गिरीघाटस्थित बाढीपीडित बस्तीमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा कोरोना भाइरस, मौसमी फ्लू, रुघाखोकी, ज्वरो, आउँ, पेटको समस्या लगायतका रोगबाट पीडित ६८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा लक्षणको आधारमा रोग पहिचान गरी आवश्यक परामर्श दिइएको थियो ।

यसका साथै सिटामोल, प्यान्टापराजोल, जिङ्क ट्याबलेट, मेट्रोनिडाजोल, भिटामिन बी, सी, डी, क्यालसियम, डिकोल्ड, निम्स, सिप्रोफ्लाक्सासिन, अल्ट्रासिड, एन्टिएलर्जिक, एन्टिफङ्गल, एन्टिब्याक्टेरियल, साइनेक्स, जीवनजललगायतका औषधि समेत उपलब्ध गराइएको छ । त्यसैगरी चार सय ५० थान मास्क र पाँच लिटर सेनिटाईजर पनि निःशुल्क रूपमा वितरण गरिएको छ ।

उक्त शिविरमा जनस्वास्थ्यकर्मी महासंघ सुर्खेतका फिजियो थेरापिष्ट भूमिप्रसाद उपाध्याय र अहेब आशा सहकारीले सहजीकरण गरेका थिए भने गणेश बोगटी, चरित्र विष्ट, परेकबहादुर विष्टलगायत स्थानीय युवा स्वयम्सेवकहरूको समेत सहयोग रहेको थियो । वितरित औषधिहरू र स्वास्थ्य सामग्रीहरू जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका कार्यालय, औषधि व्यवसायी संघ सुर्खेत, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट सहयोग स्वरूप प्राप्त भएको महासंघले जनाएको छ ।

प्रकाशित मितिः   १६ जेष्ठ २०७८, आईतवार ०५:०१