फस्टायो ओखर खेती

जुम्ला: तातोपानी गाउँपालिका–७ का सूर्य बुढा तीन वर्ष अघिसम्म यो सिजनमा पाटनमा हुन्थे । गाउँका सबैलाई यतिबेला हुल बाँधेर हिमाली हिरा (यार्सा) टिप्ने चटारो हुन्थ्यो । यो वर्ष पनि गाउँलेहरू पाटन उक्लिसकेका छन्, तर उनलाई भने नर्सरीमा ग्राफ्टिङ्ग गरिएका ओखर र स्याउको रेखदेख गर्न भ्याइनभ्याई छ । स्याउ र ओखर नर्सरी अहिले उनका लागी घरमै बसेर आम्दानी गर्ने विकल्प बनेको छ ।

‘यहाँको रोजगारी भनेको कि कालापहाड जाने हो, कि जडिबुटि खोज्ने,’ बुढा भन्छन्, ‘अहिले ओखर खेतीनै परिवार पाल्ने माध्यम बनेको छ ।’ कोरोना कहरले सबै क्षेत्र ठप्प भएका बेला उनी जस्तै यहाँका किसानलाई भने खासै फरक परेको छैन । किसानहरू बारीमै ब्यस्त छन् । यो वर्ष ओखरबाट पाँच लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएको बुढा बताउँछन् ।

गत वर्ष झण्डै एक हजार स्याउका बिरुवा बेचेका उनले यो वर्ष सात सय ओखरका विरुवा ग्राफ्टिङ्ग गरेका छन् । तुलनात्मक रूपमा स्याउभन्दा ओखर ग्राफ्टिङ्ग कमै सफल हुन्छ । जुम्लामा स्थानीय स्याउ प्रतिबिरुवा ५० देखि एक सय र ओखर प्रतिबिरुवा एक हजारमा विक्रि हुने गरेको छ । तातोपानी गाउँपालिका–८ का विष्णु थापाले पनि व्यावसायिक नर्सरी खेती गरेकी छन् । नर्सरीमा जंगली हाडे ओखरको रुटस्टक प्रयोग गरिँदै आएको उनले बताइन् । जुम्लामा कुल एक सय ७० हेक्टरमा ओखर खेती भइरहेको स्याउ सुपरजोन जुम्लाका प्रमुख एवम् वरिष्ठ कृषि विज्ञ नवराज भण्डारीले जनाए । उनका अनुसार जिल्लामा नौ हजार कृषकहरूले ओखर खेती गरेका छन् । ओखर खेतीको राम्रो सम्भावना हुदाँहुदै पनि विरुवा उत्पादनमा चुनौती देखिएको प्रमुख भण्डारी बताउँछन् । उनका अनुसार किसानका नर्सरीमा ५० प्रतिशत र अनुसन्धान केन्द्रहरूमा झण्डै ७० प्रतिशत ग्राफ्टिङ्ग सफल हुने गरेको छ । अहिले जुम्लाको ९० हेक्टर क्षेत्रफल जमिनमा ओखर फलिरहेको छ । औसतमा एक रुखमा ३० किलोसम्म ओखर उत्पादन हुने कृषि विज्ञहरूको भनाइ छ ।

गतवर्ष यहाँ दुई सय ७० मेट्रिक टन ओखर उत्पादन भएको थियो । कुल उत्पादनको ३० प्रतिशतबाहिर निर्यात हुने गरेको छ भने ६० प्रतिशत स्थानीय बजारमै खपत हुन्छ । सिजनमा कृषकले ओखर प्रतिदाना पाँच देखि १० रूपैयाँ सम्ममा बिक्री गर्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले यो वर्षदेखि ओखरको तथ्याङ्क तयार पार्ने, ओखरका जातहरू छुट्टिने गरी नर्सरी स्थापना गर्ने, गुणस्तरहीन उत्पादन गर्नेहरूलाई निरुत्साहित गर्नेलगायतका कामहरू गरिरहेको छ । हालसालै टर्कीबाट आयात गरिएको बिरुवाको गुणस्तरीयता अध्ययन गर्ने र उक्त ओखर लगाएका कृषकसँग अन्तरक्रिया कार्यक्रमहरू पनि भइरहेको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार कर्णाली प्रदेशमा एक हजार एक सय सात हेक्टरमा ओखर खेती हुन्छ । तीन सय ५० हेक्टर उत्पादनशील क्षेत्रफलबाट करिब एक हजार चार सय मेट्रिकटन ओखर उत्पादन हुन्छ ।

प्रकाशित मितिः   ७ जेष्ठ २०७८, शुक्रबार ०५:०१