कर्णालीमा ११ हजारले जिते कोरोना

कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएकामध्ये झण्डै ११ हजार संक्रमणमुक्त भएका छन् । संक्रमित १७ हजार नौ सय ९९ जनामध्ये १० हजार नौ सय ६७ जनाले कोरोना जितेका हुन् । मंगलवारसम्म प्रदेशमा पाँच हजार पाँच सय ८२ सक्रिय संक्रमित छन् । मंगलवार नै एकैदिन चार सय ८१ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये अहिलेसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।

यस्तै, थप पाँच सय ८७ जनामा कोरोना पुष्टि भएको छ । वैशाख महिनाको तेस्रो सातासम्म संक्रमण बढे पनि त्यसयता संक्रमण दर घट्दो क्रममा देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । कोरोना संक्रमणका कारण प्रदेशमा थप आठ जनाले ज्यान गुमाएका छन् । मंगलवार सुर्खेतका पाँच, सल्यानका दुई र डोल्पाका एक जना संक्रमितको ज्यान गएको हो ।

यसैबीच, कोरोना भाइरस संक्रमणबाट मंगलवार देशभर एक सय ९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार चार ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर आठ हजार दुई सय तीन जनामा संक्रमण पुष्टि भएको छ । २० हजार दुई सय ८६ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार एक सय ३६ जना र ६ सय ९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको हो ।

हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या चार लाख ७२ हजार तीन ५४ पुगेको छ । हालसम्म तीन लाख ५२ हजार चार सय १४ जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार पाँच सय २९ रहेको छ । उनीहरूमध्ये एक लाख सात हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने सात हजार चार सय ४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै एक हजार पाँच सय ९० जनाको आईसीयू र तीन सय ९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७८, बुधबार ०५:००