रोकिएन आवागमन

दुई सातामा झण्डै २० हजार कर्णाली भित्रिए

दुई सातामा झण्डै २० हजार कर्णाली भित्रिए

शुक्रवार बिहान मात्र तीन घण्टाको अवधिमा वीरेन्द्रनगरस्थित सिटी बसपार्कको गेटबाट नेपालगञ्ज र दैलेखका लागि करिब १५ वटा सवारी साधन छुटेका छन् । निषेधाज्ञाको यसरी अवज्ञा भइरहँदा प्रशासन कार्यालय भने मौन छ ।


कर्णाली प्रदेशका १० वटै जिल्लामा केही दिनयता निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाको पालना भने भएको छैन । सामान्य अवस्थाजस्तै मानिसहरू सवारी साधनमा यात्रा गरिरहेका छन् । कर्णाली भित्रिने र बाहिरिनेको आउजाउ निर्बाध रूपमा चलिरहेको हो । सम्बन्धित स्थानीय प्रशासनहरू निषेधाज्ञाको पालना गराउन चुकेका छन् । संक्रमण दर तीव्र बनिरहेका बेला बजार क्षेत्रको लापरबाही र सीमा क्षेत्रको अव्यवस्थित आवागमन रोकिएको छैन । स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने भने पनि कार्यान्वयन नभएको हो ।

बसपार्क क्षेत्र र राजमार्गहरूमा अहिले पनि सवारी साधनको संख्या र यात्रुको चाप उस्तै छ । अलपत्र परेकालाई गन्तव्यसम्म पु¥याउने निहुँमा यातायात व्यवसायीहरूले दिनहुँजसो अन्तरजिल्ला सवारी साधन सञ्चालन गरिरहेका हुन् । यद्यपि उनीहरू यो कुरा स्वीकार्न तयार छैनन् । स्वास्थ्य सुरक्षा मापदण्डको बेवास्ता गर्दै ठूलो संख्यामा कर्णाली भित्रिने क्रम जारी छ । सवारी साधन र यात्रुहरूको भिड देख्दा कोरोना महामारी र निषेधाज्ञाको कुनै गुञ्जायस देखिँदैन । शुक्रवार बिहान मात्र तीन घण्टाको अवधिमा सुर्खेत बसपार्कको गेटबाट नेपालगञ्ज र दैलेखका लागि करिब १५ वटा सवारी साधन छुटेका छन् । निषेधाज्ञाको यसरी अवज्ञा भइरहँदा प्रशासन कार्यालय भने मौन छ ।

मध्यपश्चिमाञ्चल यातायात सेवा प्रालिका सचिव नारायण चपाईंले आफ्नो प्रालिमा दर्ता भएका सवारी साधनहरू यो अवधिमा नचलेको दाबी गरे । ‘चलाउनै परे प्रशासनलाई जानकारी गराउने गरिएको छ,’ उनले भने, ‘यस्तो महामारीमा पनि कसैले बद्मासी गरेको भेटिए हामी कारबाही गर्छौं ।’ अत्यावश्यक अवस्थामा प्रहरीलाई खबर गरी चालकहरूले अलपत्र यात्रुलाई गन्तव्यमा पु¥याउन मद्दत गरेको हुन सक्ने उनले बताए । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अलपत्र नागरिकहरूलाई गन्तव्यमा लैजाने बाहेक नियमित काउण्टर खोलेर व्यवसायीहरूले सवारी साधन सञ्चालन नगरेको बताए । उनले भने, ‘अलपत्र परेकाहरूलाई मात्र उद्धार गरिएको हो, व्यवसायीले नियमित यात्रु बोकेका छैनन् ।’ सहायक प्रजिअको दाबी यस्तो भए पनि यातायात व्यवसायीले भने प्रहरीको आँखा छल्दै अलपत्र यात्रु पु¥याउने नाममा अन्य यात्रु समेत बोक्ने गरेका हुन् ।

अहिले विना सावधानी प्रदेश भित्रिएकाहरू निस्फिक्री गाउँ पसेका छन् । संक्रमण भयावह भएका सहरहरूबाट फर्किएकाहरू असुक्षित तरिकाले गाउँ गइरहँदा पनि उनीहरूको निगरानी हुन सकेको छैन । गत वर्ष प्रदेश सरकार र स्थानीय तहहरूले यसरी भित्रिनेलाई दुई साता क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरेर मात्र गाउँ पठाउने गरेका थिए । तर, यस पटक कुनै पनि निकायले क्वारेन्टाइनमा राख्ने तथा सीमा नाकाहरूमा निगरानी गर्ने गरेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वैशाख १४ गतेदेखि ३१ गतेसम्म सुर्खेत हुँदै कर्णालीका अन्य जिल्लामा झण्डै २० हजार मानिसहरू भित्रिएका छन् । जसमा भारतबाट मात्रै कर्णाली प्रवेश गर्नेको संख्या चार हजार ७३ जना छ । नेपालकै अन्य प्रदेश तथा जिल्लाहरूबाट १५ हजार बढीले कर्णाली प्रवेश गरेका छन् । यो प्रहरीले मुख्य सीमा नाका तथा चेकपोष्टहरूमा राखेको तथ्याङ्क मात्र हो । यसबाहेक अन्य विभिन्न स्थानका साना नाकाहरू भएर प्रदेश भित्रिनेको संख्या पनि ठूलो छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले निषेधाज्ञाको अवधिमा पनि भारत लगायत विभिन्न सहरहरूबाट ठूलो संख्यामा कर्णाली भित्रिरहेको बताए । उनका अनुसार प्रदेशको सीमासम्म आइसकेकाहरू अलपत्र पर्ने भएकाले पनि प्रदेश प्रवेशमा कडाइ गर्न सकिएको छैन ।

दोस्रो लहरको संक्रमण सुरू भएपछि भारतलगायत नेपालकै विभिन्न सहरहरूबाट मानिसहरू धमाधम कर्णाली फर्किएका छन् । उनीहरू असुरक्षित तरिकाले भित्रिँदा संक्रमण झन् भयावह बन्ने देखिएको छ । गाउँ–गाउँमा मानिसहरू बिरामी पर्न थालेका छन् । पछिल्ला दिनहरूमा प्रदेशका सबै जिल्लामा संक्रमण समेत अत्यधिक बढेको छ । कर्णालीमा कोरोना संक्रमणका कारण मृत्युदर समेत उच्च छ । केही दिनयता दैनिक आठ–दश जना संक्रमितले ज्यान गुमाइरहेका छन् । सिमकोट गाउँपालिका हुम्लाकी स्थानीय मैना बुढाले गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका थुप्रै बिरामी परेको बताइन् । ‘परीक्षण भए सबैलाई कोरोना पोजेटिभ देखिन्थ्यो होला । बाहिरबाट आउनेहरूको निगरानी नगर्दा यस्तो अवस्था आएको हो,’ उनले भनिन् । आवागमन सहज हुँदा निषेधाज्ञाको पनि पूर्ण पालना हुन नसकेको उनी बताउँछिन् । दोस्रो लहरको संक्रमण कर्णालीका हिमाली जिल्लाहरूमा पनि तीव्र रूपमा फैलिएको छ ।

संक्रमणदर बढ्दै गए पनि स्थानीय तहहरूले समेत पालिकामा भित्रिने नागरिकको निगरानी गरेका छैनन् । कालीकोटको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बाहिर जिल्लाबाट कति नागरिक आए भन्नेबारे पालिकाले कुनै तथ्याङ्क नराखेको बताए । बाहिरबाट आउनेलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होम–आइसोलेसनमा बस्न भन्ने गरेको उनले बताउँछन् ।

सुर्खेतको चिङ्गाड गाउँपालिका–२ रानीवासमा वडालाई सिल गरिएको छ । कोरोना संक्रमण व्यापक बनेपछि वडा नै सिल गर्नुपरेको वडाअध्यक्ष बुधे खत्रीले बताए । ‘भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्न सकिएन । उनीहरूको निगरानी नगर्दा संक्रमण फैलिदै गयो,’ अध्यक्ष खत्रीले भने । उनका अनुसार भारतबाट आएकाहरू सिधै गाउँ जान थालेपछि यहाँ संक्रमण तीव्र बनेको छ ।

प्रकाशित मितिः   १ जेष्ठ २०७८, शनिबार ०५:००