समृद्धिका लागि लगानी

कर्णाली प्रदेश सरकारले विगत दुई वर्षदेखि लगातार लगानी सम्मेलन आयोजना गर्ने निर्णय ग¥यो । सम्मेलन आयोजनाका लागि बजेट समेत विनियोजन भयो । तर दुवै वर्ष आयोजना गर्न भने असमर्थ रह्यो । चालु आर्थिक वर्षको बजेट र योजनामा पनि लगानी सम्मेलन आयोजना गर्ने योजना समेटिएको छ । तर आर्थिक वर्ष अन्तिमतिर आइसक्दासम्म यसको टुङ्गो लागेको छैन । योजना केवल निर्णयमै सीमित भएको छ । अर्को योजना असफलताउन्मुख भएको छ ।

लगानी सम्मेलनको मुख्य उद्देश्य बाह्य लगानी भिœयाउनु हो । जुन कर्णालीको विकासमा अपरिहार्य छ । विकासमा पछि परेको प्रदेशमा ठूलो लगानी भिœयाउन जरुरी छ । यसका लागि लगानी सम्मेलन गरी लगानीकर्ता भिœयाउनु उपयुक्त विकल्प हुन सक्दछ । कर्णालीमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरू पनि इच्छुक देखिएका छन् । यहाँको कृषि, जडिबुटी, जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी गर्नका लागि विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सकिने सम्भावना रहेको छ । विभिन्न समयमा विभिन्न देशका लगानीकर्ता कम्पनीहरूले पनि कर्णालीको अध्ययन अवलोकन गरिसकेका छन् । तर तिनलाई लगानी गर्ने वातावरण सिर्जना गर्न राज्य चुकिरहेको छ ।

लगानी क्षेत्र कर्णालीमा प्रशस्त छन् । यदि बाह्य लगानी ल्याउन सक्ने हो भने कर्णाली प्रदेशको मात्र नभएर समग्र मुलुककै विकासमा ठूलो सघाउ पुग्न सक्दछ । जलविद्युत, पर्यटन, कृषि र जडिबुटीमा हुने लगानी प्रदेशको मात्र हुँदैन । ठूलो उद्योगहरू सञ्चालनतर्फ पनि लगानी गर्न सके त्यसले यहाँको अर्थतन्त्रको विकास गर्नेछ । औद्योगिक विकासले रोजगारीका अवसर सिर्जना गर्दछ । रोजगारी पाए नागरिकहरूको आर्थिक अवस्था सुधार हुन्छ । उनीहरूको जीवनस्तरमा सुधार आउँछ । नागरिकहरूले चाहेको पनि यही हो ।

यस क्षेत्रको आर्थिक विकासका लागि पनि कृषिमा लगानी बढाउन आवश्यक छ । कृषिमा सम्भावना पनि उत्तिकै छ । तर पछिल्लो समय खेतीयोग्य जमिन धमाधम प्लटिङ्ग गरी घर निर्माण गर्ने क्रम बढेको छ । यसलाई नियन्त्रण गर्नुका साथै आधुनिक कृषि प्रणालीको विकास गरी नयाँ–नयाँ र यस क्षेत्रको माटो र हावापानी सुहाउँदो बाली उत्पादनमा जोड दिन जरुरी छ । तर यसका लागि सबैभन्दा पहिलो लगानीमैत्री वातावरणको निर्माण गर्नुपर्दछ । लगानीमैत्री वातावरण नपाएको खण्डमा उनीहरूले यहाँ लगानी गर्ने छैनन् । यसतर्फ सम्बन्धित सबैले ध्यान दिन आवश्यक छ । नीतिगत रूपमा पनि लगानीकर्ताहरूलाई आकर्षित गर्ने योजना बनाउन सरकार अघि सर्नुपर्छ । साथै दुई वर्षदेखि बजेट समेत विनियोजन गरिएको लगानी सम्मेलन आयोजना गर्न अब ढिला गर्नु हुँदैन । समृद्ध कर्णाली निर्माणको लक्ष्य सरकारले राखेको छ । उक्त लक्ष्य पूरा गर्न लगानी बढाउनुको विकल्प छैन । तर त्यसका लागि ठोस योजनासहित काम गर्न नसक्दा लक्ष्य हासिल हुने देखिएको छैन । यसप्रति प्रदेश सरकार गम्भीर हुन जरुरी छ ।

प्रकाशित मितिः   २३ चैत्र २०७७, सोमबार ०६:००